s

इजरायलमा हराएका विपिन अझै बेपत्ता, हमास समूहको नियन्त्रणमा रहेको आशंका

नेपाली राजदूत कान्ता रिजाल भन्छिन्– अहिलेसम्म जोशीको स्थिति अज्ञात छ

इजरायलको किबुजस्थित कृषि फार्ममा रहेका १७ जनाको समूहमध्ये बंकरमा सुरुमै हमासको आक्रमणमा परेका कञ्चनपुरको भीमदत्त नगरपालिका– ३ का विपिन जोशी एक सातादेखि बेपत्ता छन् । पहिलो आक्रमणमा घाइते अवस्थाका चारमध्ये एकजना स्वदेश फर्केका छन् भने तीनजना इजरायलमै उपचाररत छन् । शुक्रबार स्वदेश फर्केका विद्यार्थी तथा त्यहीँ उपचाररत विद्यार्थीले जोशीलाई थाई नागरिकहरूसँगै हमास समूहले कब्जामा लिएको बताएका छन् । नेपाली दूतावासले जोशीको अवस्था अझै अज्ञात रहेको जनाएको छ ।

अघिल्लो शनिबार बिहान हमास समूहले गरेको ग्रिनेड आक्रमणमा चारजना नेपाली विद्यार्थी घाइते भए । सल्यानका विधान सेजवाल, दाङका रविन डाँगी, कैलालीका धनबहादुर चौधरी र गोरखाका हिमाञ्चल कट्टेल घाइते भएका थिए । हमास समूहले दुईवटा ग्रिनेड फालेकोमा एउटा जोशीले समाएर बाहिर फालेका थिए । अर्को भने पड्केको थियो ।

जोशीले ग्रिनेड बंकरबाहिर फालेका कारण चारजना नेपालीहरूको ज्यान बचेको त्यहाँबाट फर्केका विद्यार्थीहरूले बताएका छन् । हमासको गोली लागेर गम्भीर घाइते भएका हिमाञ्चल कट्टेलले अस्पतालबाटै जारी गरेको भिडियो सन्देशमा जोशीलाई प्यालेस्टाइनतर्फ लिएर गएको आफैँले देखेको बताएका छन् । उस (विपिन जोशी)लाई दुई तीनजना थाईसँग होस्टेज बनाएर प्यालेस्टाइनतर्फ लिएर गएको मैले देखेको छु,’ कट्टेलले भनेका छन् । त्यही समूहमा रहेका सल्यानको त्रिवेणी गाउँपालिका– १ का प्रमोद केसी र कैलालीको भजनी त्रिशक्ति नगरपाकिा– ३ वीरेन्द्र चौधरीसहित २५३जनाको विद्यार्थी टोली शुक्रबार स्वदेश फर्केर शनिबारसम्म गाउँ पुगिसकेको छ ।

अर्थ मन्त्रालयमा कार्यरत चुरामणि अर्यालले प्यालेस्टाइन सरकारमा कार्यरत साथीसँग व्यक्तिगत तवरमा भएको सम्पर्कका आधारमा जोशीबारे चासो राखेको बताए । ‘मेरो व्यक्तिगत चिनजानका साथी प्यालेस्टाइन सरकारका कर्मचारी हुनुहुन्छ । मैले उहाँलाई सम्पर्क गरेर विपिन जोशीबारे चासो राखेको थिएँ,’ अर्यालले शनिबार साँझ नयाँ पत्रिकासँग भने, ‘उहाँले नेपाली रहेको वा नरहेको केही पनि भन्नुभएन । तर, हमास समूहको नियन्त्रणमा रहेका एसियाली नागरिकलाई सुक्षित रूपमा इजरायलतर्फ फर्काउने तयारी गरेको जानकारी उहाँले दिनुभएको छ । यदि नेपाली त्यो समूहमा छन् भने उनी सुरक्षित छन्, सुरक्षित रूपमा इजरायल फर्काउने तयारी छ भन्नुभएको छ ।’

इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले जोशीको स्थिति अझै अज्ञात रहेको बताइन् । ‘अहिलेसम्म पत्ता लागेको छैन,’ इजरायलबाट उनले नयाँ पत्रिकालाई ह्वाट्सएपमा सन्देश पठाएकी छिन् ।

इजरायलको उत्तर–दक्षिण सीमामा जोखिम बढ्यो

इजरायलस्थित नेपाली दूतावासले पछिल्लो समय गाजाआसपाससहित इजरायलको दक्षिणी तथा उत्तरी सीमाक्षेत्रमा थप जोखिम बढेको जनाएको छ । त्यहाँबाट सुरक्षित स्थानमा सर्न नेपालीहरूलाई दूतावासले आग्रह गरेको छ । ‘इजरायल सरकारद्वारा ती क्षेत्रमा रहेकाहरूलाई सुरक्षित क्षेत्रतर्फ जान सुझाइएकाले यदि तपाईं रहेको क्षेत्रमा समेत असुरक्षा बढ्दै गएको स्थिति छ भने आफ्नो रोजगारदातासँग सल्लाह गरी त्यहाँबाट बढी सुरक्षित स्थानतर्फ सर्नुहोला,’ दूतावासले शनिबार जारी सूचनामा भनेको छ । दूतावासले अनलाइन फर्म भर्न तथा रोजगारदाता नभएकाहरूले पनि सम्पर्क गर्न आग्रह गरेको छ ।

‘स्वदेश फर्कन चाहनेहरूले दूतावासबाट सुरु गरिएको अनलाइन रजिस्ट्रेसन फर्म अनिवार्य रूपमा भर्नुहोला । निश्चित रोजगारदाता नभएका नेपाली नागरिकहरूले पनि उल्लेखित अनलाइन फर्म भर्नुहोला,’ दूतावासले भनेको छ । सुरक्षित आश्रयस्थल नभएकाहरूले दूतावासमा सम्पर्क गर्न भनिएको छ । ‘नेपाल सरकारका साथै इजरायल सरकार र विभिन्न आधिकारिक निकायका सूचना एवं स्थानीय सुरक्षा प्रोटोकलहरूको पालना गर्दै दूतावासको सम्पर्कमा रहनुहोला,’ दूतावासको सूचनामा उल्लेख छ ।

तेलअभिभमा रहेको नेपाली दूतावासले कामको चाप धेरै भएको कारण देखाउँदै दूतावासको फोन नलागेमा वा जवाफ नआएमा त्यहाँ रहेका नेपाली संघसंस्था र व्यक्तिलाई सम्पर्क गर्न आग्रह गरेको छ । शनिबार बिहान दूतावासको फेसबुक पेजमा राखिएको सूचनामा स्थिति सामान्य नभएसम्म घरबाहिर ननिस्कन भनेको छ । ‘पुनश्चः अहिले दूतावासमा कामको चाप अत्यन्तै धेरै रहेको तथा एकैपटक कैयौँ फोन तथा मेसेज आइरहने भएकाले पहिलो प्रयासमै फोन सम्पर्क नहुन सक्दछ, त्यसका लागि क्षमाप्रार्थी छौँ,’ दूतावासको सूचनामा भनिएको छ, ‘यसरी दूतावासमा सीधा सम्पर्क स्थापित हुन नसकेको अवस्थामा अन्य मित्र तथा विभिन्न संघ–संस्थासमेतको सहयोग लिनुहोला ।’ राजदूत कान्ता रिजालका अनुसार इजरायलमा नेपालीहरूसँग सम्बन्धित ३५ संघसंस्था छन् ।

Published on: 16 October 2023 | Naya Patrika

Link

Back to list

;