s

इजरायलमा दोस्रो चरणमा श्रमिक पठाउन पहल

काठमाडौँ, असोज १३ गते । सरकारले इजरायलमा सरकारी प्रक्रियामार्फत दोस्रो चरणमा सहायक श्रमिक पठाउन तयारी थालेको जनाएको छ । वैदेशिक रोजगार विभागका अनुसार पहिलो चरणमा छनोट भएकालाई इजरायल रोजगारीमा पठाउने क्रम सकिनै लाग्दा दोस्रो चरणमा पठाउनका लागि तयारी थालेको हो ।

विभागका महानिर्देशक महेश दाहालले पहिलो चरणमा एक हजार १७५ जना श्रमिक लगेको इजरायलले दोस्रो चरणमा पनि त्यति नै सङ्ख्या लैजाने विषयमा सकारात्मक भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपाल र इजरायल सरकारबिच भएको छलफल अनुसार पहिलो चरणमा भन्दा सङ्ख्या कम हुँदैन । बरु सङ्ख्या बढ्ने सम्भावना रहेको छ । पहिलो चरणमा गएकाको अवस्थासँगै दोस्रो चरणको तयारीका लागि श्रम मन्त्रीस्तरीय इजरायल भ्रमणको तयारी पनि भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

इजरायल रोजगारीमा सन् २००९ सम्म वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीबाट नै श्रमिक जाने गरेका थिए । म्यानपावर कम्पनीले श्रमिकबाट चर्को रकम असुलेको खुलेपछि इजरायलले नेपालबाट श्रमिक लैजान बन्द गरेको थियो ।

बन्द भएको झन्डै ११ वर्षपछि सरकारी संयन्त्रबाट नेपाली श्रमिक जाने प्रक्रिया थालिएको हो । यसका लागि नेपाल र इजरायलबिच २०७७ असोज १४ गते इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौतामा हस्ताक्षर सम्पन्न भयो ।

त्यही सम्झौतालाई कार्यान्वयन गर्नका लागि २०७७ माघमा दुई देशबिच इम्प्लिमेन्टेसन प्रोटोकलमा हस्ताक्षर सम्पन्न भयो । त्यसपछि २०७८ सालमा पहिलो चरणमा एक हजार ६०० जनाको नाम छनोट गरी नेपालले इजरायलाई पठाएको थियो । छनोट भएकामध्येबाट एक हजार १७५ जना चिट्ठा प्रणालीमार्फत इजरायल रोजगारीका लागि छनोट भएका थिए । जसमध्ये एक हजार १०३ जना इजरायल गएको विभागले जनाएको छ । छनोट भएकामध्ये ७२ जनाले भने इजरायल रोजगारीमा जान चाहेनन् ।

इजरायल रोजगारीमा सरकारी प्रक्रियामार्फत नै श्रमिक गइरहेका छन् । वैदेशिक रोजगार विभागमा छुट्टै शाखाको स्थापना गरेर श्रमिकको आवेदन माग्नेदेखि परीक्षा र अन्य सबै प्रक्रिया सरकारी तवरबाटै भएको हो । कमाइ र कार्यस्थलका हिसाबले इजरायल दक्षिण कोरियाभन्दा पनि आकर्षक गन्तव्य हो ।

सरकारी प्रक्रियामार्फत इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारका रूपमा जाने नेपाली श्रमिकको न्यूनतम तलब एक हजार ५४३ डलर तोकिएको छ । सरकारी प्रक्रियामार्फत इजरायल गएकाहरूले मासिक रूपमा कम्तीमा दुई लाख रुपियाँ कमाउँदै आएका छन् ।

Published on: 2 October 2023 | Gorkhapatra

Link

Back to list

;