s

इजरायलले थप १ हजार नेपाली कामदार लैजाने

३० साउन, काठमाडौं । इजरायलले थप १ हजार नेपाली कामदार लैजाने भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर र इजरायलका राजदूत खनान गोदेरबीच शिष्टाचार भेटवार्तामा यसबारे छलफल भएको हो ।

राजदूत गोदेर मन्त्री कुँवरलाई भेट्न सोमबार मन्त्रालय आएका थिए । उनीहरुबीच विशेष गरी दुई देशबीचको श्रम सम्झौताबारे छलफल भएको छ ।

छलफलमा मन्त्री कुँवरलाई राजदूत गोदेरले आइतबार मात्रै इजरायल सरकारले थप १ हजार नेपाली कामदार कृषि कामका लागि लैजाने विषयमा टुंगो लगाएको जानकारी गराए ।

त्यस्तै उनले यसअघि सहायक कामदारका लागि ९ हजार ६९९ जनाले निवेदन दिएकोमा १ हजार १४७ जना कामदार छनोट भएर इजरायल जाने तयारीमा रहेको पनि जानकारी गराएका थिए ।

भेटमा मन्त्री कुँवरले गोदेरलाई नेपाली जनतालाई इजरायल सरकाले उपलब्ध गराएका सबै प्रकारका सहयोगका लागि धन्यवाद दिए ।

उनले आगामी दिनमा पनि इजरायल सरकारले नेपालका कृषि, पर्यटन, उद्योग लगायतका विभिन्न क्षेत्रमा सहयोग गर्न अनुरोध गरे । मन्त्री कुँवरले श्रम मन्त्रालयले भरखरै विदेशबाट फर्किएका नेपाली कामदारका लागि पुनःएकीकरणको नीति पारित गरेकाले यसमा इजरायलका लगानीकर्तालाई सहयोग गर्न पनि आग्रह गरे ।

त्यस्तै उनले अहिले थुपै नेपालीले इजरायल जान चाहेकाले छिटो भन्दा छिटो उनीहरुलाई इजरायल लैजाने वातावरण बनाइ दिन राजदूत गोदेरलाई अनुरोध गरे ।

Published on: 17 August 2022 | Onlinekhabar

Link

Back to list

;