s

इजरायलको सीपले गोलभेडा फार्म

इजरायलको कृषि फार्ममा काम गरेको अनुभवले मकवानपुर चुरियामाईका दाजुभाइले गोलभेडा खेती सुरु गरेका छन्। चुरियामाई–२, मयुरधापका श्रीकृष्ण र बद्री अधिकारीले विदेशको सीप बाँझो बारीमा प्रयोग गरेका हुन्।

आधुनिक कृषि प्रणाली अपनाएर गरेको खेतीबाट राम्रै आम्दानी भएको उनीहरूले बताएका छन्। उनीहरूले साढे पाँच कठ्ठा जग्गामा गोलभेडा खेती गर्न ६ वटा टनेल तथा छुट्टै नर्सरी बनाएका छन्। २५ मिटर लम्बाइ र ८ मिटर चौडाइका टनेलमा उनीहरूले नौ महिनाअघि ४ हजार ५ सय गोलभेडाका बिरुवा रोपेका थिए। अहिले उनीहरूलाई गोलभेडा टिप्न भ्याइ–नभ्याइ छ।

सलोम एग्रीकल्चर कृषिफार्म दर्ता गरी उनीहरूले ११ लाख लागतमा खेती गरेका हुन्। प्लास्टिक र फलामको पोलीहाउस बनाई खेती गरिएको सञ्चालक बद्रीले बताए। सिँचाइका लागि बोरिङसमेत व्यवस्था गरिएको छ। आधुनिक थोपा सिँचाइ प्रणालीबाट सिर्जना जातका उन्नत गोलभेडा रोपेका उनीहरूले एउटा बोटमा १० किलोसम्म गेलभेडा फलाएका छन् । गोलभेडा उत्पादन राम्रो भए पनि भाउ नपाएको अधिकारीको अनुभव छ। प्रति किलो २० रुपैया"मा गोलभेडा बेचेको उनले बताए। गोलभेडा बेचेर हालसम्म उनीहरूले ४ लाख ५० हजार आम्दानी गरेका छन्। अझै एक/डेढ लाखको गोलभेडा बिक्री हुने उनीहरूको अनुमान छ।

अर्ग्यानिक प्रणाली अपनाएर उनीहरूले खेती लगाएका छन्। 'रासायनिक मल प्रयोग नगरी खेती गरेका छौं, सकेसम्म गाउँघरकै प्रांगारिक मल हाल्छौं,' बद्रीले भने। बद्रीले ६ वर्षसम्म इजरायलको कृषि फार्ममा गोलभेडा, फर्सी, काँक्रो, खुर्सानी स्याहारेका थिए।

'विदेशी फार्ममा काम गरेको अनुभवले गोलभेडा खेती गर्न जागरुक बनायो,' उनले भने।

बद्रीका माइला दाजु श्रीकृष्ण पनि आठ वर्ष इजरायल बसे। उनले त्यहाँ चार वर्ष नर्सरीमा बेर्ना उत्पादन र बा"की ३ वर्ष फार्ममा अन्य काम गरे। दुवै दाजुभाइले स्वदेश फर्केपछि यहीँ केही गर्ने सोचले आफ्नो लगानीमा काम सुरु गरे। 'हाम्रो बारीमा दुई मुरी कोदो पनि फल्दैनथ्यो, त्यत्रो गोलभेडा फल्दोरहेछ,' श्रीकृष्ण कामप्रति गौरव गर्छन्।

श्रीकृष्णले काठमाडौंको काभ्रेस्थलीमा पनि तरकारी खेती गरिहेका छन्। इजरायलबाट फर्केलगत्तै चारजनाको समूहमा मिलेर २५ रोपनीमा इजरायली प्रविधिमा सबैखाले तरकारी लगाउन थालेका हुन्। त्यस्तै, करिब ७ रोपनीमा उनले व्यक्तिगत कृषि फार्म चलाएका छन्।

गोलभेडा खेतीस"गै श्रीकृष्ण आधुनिक थोपा सिँचाइका सामग्री व्यापारमा समेत लागेका छन्। आधुनिक थोपा सिँचाइ प्रणालीबाट जस्तोसुकै माटोबाट पनि उत्पादन लिन सकिने उनको अनुभव छ। 'बिरुवालाई चाहिने पानी, भिटामिन र जैविक मल थोपा सिँचाइबाट उपलब्ध गराउ"दा उत्पादन बढ्छ,' उनले भने।

Published on: 8 May 2013 | Nagarik

Back to list

;