s

इजरायलको सीपले राम्रो कमाइ

वैदेशिक रोजगारीमा गएर पैसा मात्र भित्र्याएका छैनन् युवाहरूले । साथै सीप पनि ल्याएका छन् । विदेशमा सिकेको सीपलाई जाँगरिला युवाले मुलुक फर्केर व्यवहारमा उतारेका छन् । त्यस्तै युवा हुन चुरियामाई-२ का बद्री अधिकारी । टनेलमा तरकारी खेती गरेर उनले २  वर्ष अवधिमा १५ लाख रुपैयाँमा भन्दा बढी आम्दानी गरिसकेका छन् । इजरायलमा ५ वर्ष बसेर पैसासँगै सीप आर्जेर फर्केका २५ वर्षीय अधिकारीले फलामको पक्की टनेल निर्माण गरेर सुरुमा गोलभेंडा खेती गरेका थिए । गोलभेंडाबाट पहिलो वर्षमा ७ लाख रुपैयाँभन्दा बढी कमाए । करिब ७ कठ्ठा जमिनमा निर्माण गरेको टनेलमा यस वर्ष गोलभेंडा, लसुन र अकबरे खुर्सानी फलाए । त्यसबाट उनले ५ लाख रुपैयाँ आम्दानी गरेको उनले बताए । अहिले टनेलमा उनले काँक्रो र करेला खेती गरेका छन् । उनको टनेलमा अहिले काँक्रो र करेला फल्न थालिसकेको छ । २ दिनबीचमा उनले १ क्विन्टल काँक्रो बिक्री गर्छन् । आधा क्विन्टल बिक्री गर्ने गरेका छन् । करेला र काँक्रोबाट कम्तीमा ३ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य छ । काँक्राका २ हजार बोट छन् । करेलाका ५ सय बोट छन् । काँक्रो र करेला दुवै फल्न थालिसके । एउटा बोटमा कम्तीमा १० केजी काँक्रो फल्छ । करेला ८ केजी फल्छ । काँक्रो र करेला दुवै अग्र्यानिक भएका कारण व्यापारीहरू बिहान सबेरै घरमा तरकारी लिन आउँछन् । अधिकारीले भने, 'बजारको समस्या छैन, माग अनुसार पुर्‍याउन सकिएको छैन ।' टनेलमा गर्ने कुनै पनि तरकारी खेतीमा उनले विषादी र रासायनिक मल  प्रयोग गर्दैनन् । त्यसैले पनि व्यापारीहरू उनले उत्पादन गरेकेा तरकारी खरिद गरेर बिक्री गर्न लालायित हुने गरेका छन् । अधिकारीले इजरायली प्रविधिअनुसार टनेलका बिरुवामा सिंचाइको व्यवस्थ्ाा गरेका छन् ।

Published on: 10 November 2013 | Kantipur

Back to list

;