s

इजरायलबाट नेपाली भन्छन्ः बम आफैंमाथि खस्ला भन्ने डरले रातभर निद्रा लाग्दैन

पर्वतकी दीपिका भुसाल इजरायलको तेलअभिबमा 'केयरगिभर' काम गर्छिन्। सोमबार उनी बस्ने ठाउँबाट पैदल दुई मिनेट पर प्यालेस्टाइनले हानेका रकेट बमका छर्रा आइपुगे। छर्राले भेटेको ठाउँका संरचना धवस्त भए।

'छर्राहरू झरेर सार्वजनिक बस, ट्याक्सी र भवनहरूमा क्षति भयो। वरिपरिका घरका सिसा फुटेका छन्,' दीपिकाले सेतोपाटीसँगको कुराकानीमा भनिन्, 'धन्न यहाँ कम स्पिडका रकेट आइपुग्दैनन्। धेरै स्पिड भएका कमै मात्रै आइपुग्छन्।'

उनका अनुसार प्यालेस्टाइनले हानेका रकेट बेलाबेला भने आकाशमा उडिरहन्छन्। राति मात्रै चार-पाँच पटकसम्म रकेट अहिले पनि पड्किरहेको छ।

'धन्न यहाँ आइरन डमले मिसाइल आकाशमाथि नै डिस्पोज गर्छ। त्यसो हुँदा भुइँमा झर्न पाउँदैन। झरिहाल्यो भने त ध्वस्तै हुन्छ,' दीपिकाले भनिन्, 'हिजो बेलुका नौ बजे पनि बम फालेको थियो। राति ११ बजे अर्को आयो, एक बजे अर्को। त्यसपछि पनि बेलाबेला पड्किरहेको थियो। साइरन पनि चर्को आवाजमा बज्छ। त्रासैत्रास छ। रातभरी डरले सुत्न सकिँदैन।'

दीपिका विगत १५ वर्षदेखि इजरायलमा काम गरिरहेकी छन्। बमको आवाज नौलो नहुने त्यहाँ उनले थुप्रैपटक यस्तो त्रासद अवस्था झेलिसकेको बताइन्। 

'सन् २०१२ र २०१५ मा पनि ठूलो युद्ध भएको थियो। यस्तो युद्ध यहाँ भइरहन्छ। तर छर्राहरू तल खसेर दुर्घटना हुने हो कि भनेर मन ढुकढुक हुन्छ,' दीपिकाले भनिन्। 

दीपिका भुसाल।

पोखराका भरत (असफल) थापा पनि तेलअभिबमै केयरगिभर काम गर्छन्। गैर आवासीय नेपाली संघ (एनआरएनए), इजरायलका सहसचिव समेत रहेका भरत पछिल्लो समय इजरायल बस्ने नेपालीहरू त्रासद अवस्थामा रहेको बताउँछन्। 

'आकाशभरि प्यालेस्टाइनले हानेका रकेट बम उडिरहेका देखिन्छन्,' १७ वर्षदेखि इजरायलमा कार्यरत उनी भन्छन्, 'आफूमाथि बम खस्ने हो कि भन्ने डरले रातभरी निदाउन सकिँदैन।'

झन्डै दुई दशकको इजरायल बसाइमा अहिले सबभन्दा डरलाग्दो अनुभव भएको उनले बताए।

'यहाँ युद्ध त भइरहन्छ। तर अहिले एकदम उच्च क्षमताको मिसाइल हानिरहेको भनिएको छ। योभन्दा अगाडि यस्तो डरलाग्दो अवस्था भोगेको थिइनँ,' उनले सेतोपाटीसँग भने।

भरतका अनुसार केही वर्षअगाडि इजरायललाई प्यालेस्टाइनले निरन्तर आक्रमण गरेको थियो। इजरायलसँग प्रतिरक्षा प्रणाली भएकाले त्यति धेरै क्षति हुन नपाएको उनी बताउँछन्। प्रहार भएका बम आकाशमै निष्क्रिय पार्न इजरायलले 'आइरन डम' प्रयोग गर्छ, वस्तीमा क्षति हुन पाउँदैन। तर बम डिस्पोज हुन नसके वा छर्रा बाँकी रहेर तल खसे निकै ठूलो क्षति पुर्‍याउने उनले बताए।

भरत (असफल) थापा

सोमबारदेखि इजरायल र गाजाको सीमा क्षेत्रमा निकै त्रासद अवस्थामा छ। गाजाका विद्रोही समूह हमास र इस्लामिक जिहादले तेलअभिब आसपास निशाना बनाएर रकेट बम प्रहार गरिरहेका छन्। विशेषगरी जेरूसेलम र दक्षिण इजरायली क्षेत्रमा सयौं पटक आक्रमण भइरहेको इजरायलस्थित नेपाली राजदूतवासले जनाएको छ।

दूतावासका अनुसार यो क्षेत्रमा कृषि क्षेत्रमा काम गर्ने तथा विद्यार्थी भिसामा गएका नेपालीहरू छन्। हालसम्म सबै नेपाली सकुशल भए पनि तनाव बढ्दै गएकाले सम्भव भएसम्म सुरक्षित रहन दूतावासले अपिल गरेको छ।

'विगत केही दिनयता इजरायल र प्यालेस्टाइनबीच तनाब धेरै बढेको छ। जेरूसेलम र दक्षिण इजरायली क्षेत्रमा सयौं रकेट आक्रमण भएको छ। तेलअभिबलाई निसाना बनाइएको छ। यसले हामी सबैलाई त्रसित तुल्याएको छ। यद्यपि सुरक्षाका उपाय खोजी गर्ने तर्फ लाग्न हामी अपिल गर्छौं,' दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

साइरन बज्नासाथ घरभित्र भए पनि बंकर, भर्‍याङ वा सुरक्षित क्षेत्रमा जान र झ्याल नजिक नजान समेत दूतावासले सुझाएको छ। घरबाहिर (बजार, सडक, फार्म, वा अन्यत्र कतै) भए नजिकैको बंकरमा पुग्न र त्यो उपलब्ध नभएमा जहाँ हुन्छ, सुरक्षित हुने उपाय अपनाउन पनि दूतावासले आग्रह गरेको छ।

'कुनै समस्या परे दूतावास वा साथीभाइ वा इजरायलमा क्रियाशील नेपाली संघसंस्थाका प्रतिनिधिलाई सम्पर्क गर्न समेत अपिल गर्छौं,' विज्ञप्तिमा भनिएको छ। 

इजरायलमा करिब ३ हजार हाराहारी नेपाली भएको अनुमान छ।

Published on: 14 May 2021 | Setopati

Link

Back to list

;