s

इजरायलबाट फर्केर पुरानै व्यवसाय

सविता श्रेष्ठ

१० वर्ष इजरायलमा केयर गिभरको काम गरेर फर्केकी भरतपुर १० की ४८ वर्षिय सुमित्रा पौडेल ‘आँचल’ आफ्नै पुरानो व्यवसायमा स्थापित हुँदैछिन्। ०७२ वैशाखमा नेपाल फर्केकी उनले नारायणगढमा सुसज्जित कलेक्सन एन्ड माई बुटिक सञ्चालन गरेकी छिन्।

आइडिया स्टुडियो नेपालले गत वर्ष व्यवसाय गर्न इच्छा भएका र व्यवसाय गर्दै गरेकालाई उत्प्रेरणा दिने तालिम सञ्चालन गर्न ‘सोचदेखि उद्योगसम्म’ विषयमा आइडिया माग गरेको थियो। २० वर्ष पछाडि फर्केर पुनः व्यवसाय सुरु गर्न र धेरैभन्दा धेरै महिलालाई रोजगारी दिन चाहेको योजनासहितको आफ्नो आइडिया उनले आइडिया स्टुडियोमा पठाइन्। त्यही आइडियाले नै स्वदेश फर्केपछि के गर्ने भन्ने अन्यौलमा रहेकी सुमित्रालाई पुरानो व्यवसायमा फर्किन मद्दत ग-यो।
 
६ सय जनाले आइडिया पेस गरेकामा ३० जनाभित्र छनोटमा परेर व्यवसायको योजना कसरी बनाउने, व्यवसाय कसरी सुरु गर्ने, मार्केटिङ गर्ने तरिकालगायत बारेमा उनले तीन महिने तालिम लिइन् । त्यसपछि नै चितवनमा मार्केटको अवस्था, मूल्य तथा लगानीबारे अध्ययन गरिन्। काठमाडौं बस्ने श्रीमानसँग सल्लाह गरेर चितवनमा नै केही गर्ने योजना पूरा गर्न उनी चितवन फर्किइन् । उनले भनिन्, ‘के गर्ने भन्ने अलमलमै थिए, तालिमपछि हौसला मिल्यो केही गर्न सक्छु भन्ने लाग्यो।’ 
 
सहकारीबाट ऋण लिएर व्यवसाय चलाएकी र गार्मेन्ट सञ्चालन गर्न लागेकी उनी भन्छिन्, ‘पहिला काम अनुसार पैसा थिएन, अहिले काम अनुसारको पैसा भएकाले फर्किएपछि पनि पुरानै सीपको व्यवसाय रोजें।’  
 
गार्मेन्टमा काम गर्न सक्ने दक्ष नेपाली कामदार उत्पादनका लागि वाणिज्य मन्त्रालयको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले गार्मेन्ट एसोसिएसन नेपालको सहकार्यमा चितवन, रुपन्देही, कास्की, मोरङ, पर्सा र भक्तपुरमा महिलाका लागि गार्मेन्ट तालिम सञ्चालन गर्दैछ। चितवनमा तालिम सञ्चालनको जिम्मेवारी सुसज्जित कलेक्सनमार्फत पौडेलले पाएकी छिन्। एक सय महिलालाई तालिम दिनका लागि मेसिन सेटिङ गर्ने र तालिममा सहभागी हुन चाहनेको फर्म संकलन गर्ने काम भइरहेको पौडेलले बताइन्। तालिमबाट उत्पादन हुने केही जनशक्तिलाई आफ्नो गार्मेन्ट उद्योगमा काम दिने उनको योजना छ। 
 
बैंकमा कार्यरत श्रीमानले छोराछोरीको हेरचाहका लागि समय दिन नसक्ने भएकाले डे बोडस राखेर उनी विदेशिएकी थिइन्। पैसाको आवश्यकता धेरै भएकाले केयर गिभरको काममा गएकी उनले दुईजनाको हेरचाह एक्लैले गरिन्। १० वर्ष १० महिना इजरायल बस्दा तीन घरका चारजना वृद्धवृद्धाको हेरचाह गरिन्। 
 
विश्व शान्ति महिला महासंघ, चितवनकी अध्यक्षसमेत रहेकी उनी संस्थाबाट दिने सिलाइकटाईको तालिममा पनि सहभागी हुन्छिन्। जापानका केही व्यवसायी महिलाले नेपालका उत्पादन किनेर बिक्री गर्दा हुने फाइदाबाट नेपाली महिलाका लागि तीन महिने सिलाइकटाई तालिम सञ्चालन गर्न सहयोग गरेका छन् । यसमा सीप सिक्न आउनेसँग महिनाको एक हजार रुपैयाँ शुल्क लिएर सिक्ने सामग्री संस्थाबाट प्रदान गरेर तालिम दिइन्छ। सीपले महिलाई आत्मनिर्भर बनाउने भएकाले महिला दक्ष बनुन र आर्थिक रुपमा सबल हुन सकुन् भनेर तालिम सञ्चालन गरिएको उनले बताइन्।
 
बिहेपछि जागिर नै खानुपर्छ भन्ने उनको सोच थियो। त्यसैले छोराछोरी जन्माएर हुर्काउँदा बिताएको पाँच वर्षको अवधिमा विभिन्न बैंक, परियोजनाका लागि १२ पटक लोक सेवा आयोगको परीक्षा दिएकी थिइन्। लोकसेवाको परीक्षामा सफल नभएपछि उनले व्यवसाय गर्ने योजना बनाइन् । छोराछोरीलाई स्कुल पठाएपछिको समय सदुपयोग गर्दै एक वर्षको अवधिमा सिलाइकटाई, इम्ब्रोइडरी तालिम लिइन् । त्यही तालिमले उनलाई पोशाक उद्योग सञ्चालन गर्न उत्साह मिल्यो।  
 
२०५३ देखि सुसज्जित तयारी पोशाक उद्योग सञ्चालन गरिरहेकी उनले तीन वर्षको अवधिमा नारायणगढ, भरतपुर हाइट र कृष्णपुरका तीन ठाउँमा उद्योग विस्तार गरेकी थिइन्। साडी, कुर्ता सलवार, म्याक्सी लगायत पोशाक बनाउने उनले जिल्लाकै उत्कृष्ट महिला उद्यमी बनेर पुरस्कार पनि पाइसकेकी छन्। 
 
द्वन्द्वको समयमा बन्द, हड्ताल धेरै हुने र बाटोमा उनको मोटरसाइकल रोकेर पैसा माग्ने, नदिँदा डर धम्की दिन थालेपछि उनलाई व्यवसाय सञ्चालन गर्न गाह्रो भयो । बन्दका कारण कारोबार राम्रो नहुँदा बैंकको ब्याज तिर्न नसक्ने अवस्थामा उनी पुगिन। ‘ आम्दानीले ऋण तिर्न गाह्रो हुने भएपछि बन्द गर्ने अवस्थामा पुगें,’ उनले भनिन्, ‘उद्योगका कामदारलाई नै उद्योग दिएर ०६२ को साउनमा इजरायल गएँ।’
 
‘साँढे १७ लाख रुपैयाँ ऋण बोकेर विदेश गएको थिएँ, ऋण तिर्न आठ वर्ष लाग्यो,’ उनले भनिन्, ‘पाँच वर्षमा फर्किन्छु भन्ने थियो, छोराछोरी पढाउनका लागि थप समय बसें।’ नेपाल फर्किन्छु र केही गर्छु भन्ने आँट भएकाले विदेशमा रहँदा पनि ड्युटी बाहेकको समयमा उनी त्यहाँको बजार घुम्थिन। व्यवसाय र बजारका बारेमा जानकारी लिन्थिन।
 
११ पढ्दै गर्दा विवाह भएपछि पढाई अघि बढाउन नसकेकी पौडेलले अहिले अध्ययनलाई पनि निरन्तरता दिएकी छिन् । उनी अहिले एसपिएम कलेज गैंडाकोटमा शिक्षा संकायमा कक्षा ११ पढ्न थालेकी छिन्। ‘सीप र जाँगर सबै भएपनि शिक्षा खड्कियो,’ उनी भन्छिन्, ‘त्यसैले फेरी पढ्न थालें, नियमित कलेज जान्छु।’
 
सुमित्राको साहित्यमा पनि उत्तिकै रुचि छ । त्यसैले नेपाली र स्वास्थ्य विषय लिएर पढाई सुरु गरेकी छिन्। साहित्यमा कलम चलाउँदै आएकी उनको लघु कविता र लेख संग्रह ‘अध्यात्मिक चिन्तनको प्रथम पाइला’ (२०६१), गीतिकविता संग्रह ‘ममताको आँचल’ (२०६८),  कथा संग्रह ‘अन्तिम बिदाइ’ (२०६९), गजल संग्रह ‘प्रभासको कोशेली’ (२०७१), मुक्तक संग्रह ‘औकात’ (२०७१) प्रकाशित छन्। 
 
विदेशबाट फर्किएपछिको एक वर्षको पहिला जस्तै काम गर्न सक्छु कि सक्दिन भनेर उनले आँफैलाई दक्ष बताउन तालिम पनि लिइन्। लामो समय विदेशमा काम गरेर फर्किएकाहरु स्वदेश फर्केपछि के काम गर्नु भन्ने गर्छन्। ‘विदेशमा त्यत्रो दुःख गरियो अब के गर्नु भन्ने धेरैको सोच हुन्छ,’ उनी भन्छिन्, ‘संस्थागत र व्यवसायिक रुपमा अगाडि बढेर धेरै दिदीबहिनीलाई रोजगारी दिन सक्ने बन्न चाहन्छु।’ बुटिक, गार्मेन्टसँगै महिलाका पार्टी वेयर ड्रेस गाउन, लेहेंगा, सारी भाडामा दिने व्यवसाय सञ्चालन गर्ने उनले योजना बनाएकी छिन्।
 
Published on: 16 March 2018 | Nagarik

Back to list

;