s

इजरायलबाट फर्केका कृषकद्वारा सहयोगको आग्रह

कृषि प्रविधिसम्बन्धी सीप लिएर इजरायलबाट फर्केका नेपाली कृषकसहित स्थानीय उत्प्रेरकको समूहले मंगलबार प्रधानमन्त्री बाबुराम भट्टराईसँग सिंहदरबारमा भेटेर कृषि व्यवसाय गर्न राज्यसँग सहयोगको आग्रह गरेको छ ।

कृषिप्रधान देशमा आधुनिक र व्यावसायिक तहमा खेती गर्न तत्पर रहेका आफूहरूले राज्यका तर्फबाट सहयोग नपाएको जानकारी गराउन उनीहरू प्रधानमन्त्री कार्यालय पुगेका थिए । 'हामीले गि्रनहाउस पद्धतिमा तरकारी खेती सञ्चालन गर्न र बजार प्रवर्द्धन गर्न खोजिरहेका छौं,' काठमाडौंको जितपुरफेदीमा कृषक समूह बनाएर मह एग्रोभेट सञ्चालन गरिरहेका खोजराज कटुवालले भने, 'हामीले गि्रनहाउसको प्लास्टिक र पाइपमा समेत भन्सार छुट पाउन सकेका छैनौं ।' मह एग्रोभेटका उत्प्रेरक कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले इजरायल भ्रमणमा गएका बेला भेटिएका कृषकहरूलाई स्वदेशमै फिरेर केही उद्यम गर्न आफूहरूले साथ दिएको बताएका थिए ।

'भारत सरकारले कृषि पद्धतिमा लाग्नेलाई करमा ७० प्रतिशतसम्म छुट लगायत सहुलियत प्रदान गर्ने गरेको छ,' कृषिविद् एवं मह एग्रोभेटका सदस्य विष्णु चापागाईले भने, 'इजरायली कृषि पद्धति सिकेर आएका नेपालीलाई राज्यले समूहमा समेटेर काम गर्ने अवसर उपलब्ध गराइदिनु जरुरी छ ।' इजरायलबाट सीप सिकेर आएका कृषकको उत्साहबाट प्रभावित भएर उद्यमी पद्म ज्योतिले पर्साको परवानीपुरमा समेत जग्गा उपलब्ध गराएका छन् । 'स्वैच्छिक बिदाइमा गएका लडाकुले पाएको आर्थिक सहयोगलाई सामूहिक रूपमा कृषि क्षेत्रमा लगानी गर्न सकिने अवस्था छ,' प्रधानमन्त्रीसँगको भेटमा आएका उद्यमी ज्योतिले भने ।

कृषि क्षेत्रमा रहेका समस्याको सुनेपछि प्रधानमन्त्री भट्टराईले सरकारको पहिलो प्राथमिकता कृषिक्षेत्र रहेको बताउँदै चाहेजस्तो योजनामा सहयोग गर्न भने नसकिएको स्विकारे ।

Published on: 15 February 2012 | Kantipur

Back to list

;