s

इजरायल रोजगारीमा अन्योल

तुलसी सुवेदी

काठमाडौं : इजरायल रोजगारी अन्योलमा परेको छ। छिट्टै इजरायलमा कामदार पठाइने दुई देशबीच सहमति भए पनि प्रक्रिया थाल्न अझै केही समय लाग्ने देखिएको हो।

वैदेशिक रोजगार विभागका निर्देशक टीकामणि न्यौपानेले इजरायल पठाउने कार्यविधि बनाउन केही समय लाग्ने बताए। ‘कार्यविधि बनाएर मात्रै आवेदन माग गर्छौँ’, उनले भने। कार्यविधि बनाउन केही समय लाग्ने देखिएकाले तत्काल इजरायल रोजगारीका लागि आवेदन माग्ने सम्भावना नरहेको उनले बताए।

सरकारले इजरायलमा कामदार पठाउने निर्णय गरेसँगै इजरायल जान चाहने युवा विभागमा बुझ्नका लागि जाने गरेका छन्। जापान, कोरिया बसिसकेका युवासमेत इजरायल जान लालायित देखिएका छन्। करिब पाँच वर्षदेखि रोकिएको इजरायल रोजगारी फेरि खुल्ने निर्णय भएसँगै इजरायल रोजगारीका लागि अधिकांश युवाको चासो बढेको छ।  

पहिलो चरणमा पाँच सय जना नेपाली इजरायल जान पाउनेछन्। प्रतिस्पर्धाका आधारमा छनोट गरिने भएकाले कार्यविधि बनाउन समय लाग्ने विभागले जनाएको छ। तीन महिनाभित्रै कामदार इजरायल पठाउने गरी विभागले तयारी थालेको जनाएको छ। सरकार टू सरकार (जीटूजी) मार्फत कामदार इजरायल जानेछन्।

इजरायलमा जाने नेपाली २५ देखि ४५ वर्ष उमेरसमूहको हुनुपर्ने प्रावधान छ। दस जोड दुई पास गरेर तीन महिनाको केयर गिभर तालिम लिएको हुनुपर्ने नियम बनाइएको छ। दस जोड दुई पास गरी १५ महिने अनमी पढेकाले इजरायल जान प्राथमिकता पाउनेछन्। इजरायल जान हिब्रु र अंग्रेजी भाषा जान्ने हुनुपर्छ।

विभागले अनलाइनमार्फत आवेदन माग्ने तयारी गरेको छ। तर, सबै प्रक्रिया अनलाइनबाटै सम्भव नहुने विभागका निर्देशक न्यौपानेले बताए। ‘केही प्रावधान भौतिक रूपमा उपस्थित गराएर मात्र पूरा गर्न सकिने भएकाले अनलाइनबाट मात्रै सबै प्रक्रिया गर्न सकिँदैन’, उनले भने।

इजरायल जान (हवाई भाडा, स्वास्थ्य परीक्षणसहित) एक लाख रुपैयाँभन्दा बढी खर्च नहुने भएकाले इजरायल रोजगारका लागि कामदार आकर्षित छन्। इजरायलमा केयर गिभरले वृद्धवृद्धा र बालबालिकाको रेखदेख गर्नुपर्छ। इजरायलमा मासिक एक हजार पाँच सय डलर (डेढ लाख रुपैयाँ) पारिश्रमिक पाइन्छ। 

इजरायल वैदेशिक रोजगारीका गन्तव्य मुलुकमध्ये आकर्षक मानिन्छ। पुनः सम्झौता भएसँगै इजरायल खुले पनि कस्तो मोडालिटी बनाएर कामदार पठाउनेबारे छलफल भइरहेको बताइएको छ। इजरायलको टोली कामदार छनोटमा सहभागी नहुने जनाइसकेको छ। विवाद नआउने गरी कार्यविधि पूर्ण र परिपक्व बनाएर छनोट गर्न लागिएकाले केही समय लाग्न सक्ने निर्देशक न्यौपानेले बताए।

सन् २०१५ मा सम्झौता भए पनि कामदार इजरायल जान पाएका थिएनन्। त्यतिबेला बिजनेज टू बिजनेस (बीटूबी) मोडेलबाट कामदार पठाइने भनिए पनि मुस्किलले एक सय जना पनि जान पाएका थिएनन्। १ सय १९ जना छनोटमा परे पनि छानिएका ४१ जना इजरायल जान पाएका थिएनन्।

इजरायलले केयर गिभर, नर्सिङ क्षेत्र, अस्पताल, नर्सिङ होम, दिवा सेवा केन्द्रलगायत नेपाली श्रमिक लैजाने जनाएको छ।

Published on: 28 February 2021 | Annapurna Post

Link

Back to list

;