s

इजरायल रोजगारीमा जान खुला

इजरायलमा कामदार पठाउने व्यवस्था खुलाउन शुक्रबार सहमति हुने भएको छ। 
 
महिला कामदारका लागि रोजगारीको आकर्षक गन्तव्य यो मुलुकमा विगत चार वर्षदेखि नेपाली कामदार जान पाएका छैनन्। कामदारसँग म्यानपावर कम्पनीले चर्को रकम असुलेको भन्दै इजरायलले एक्‍कासी नेपाली कामदार लिन बन्द गरेपछि खुलाउन बारम्बार पहल गरिए पनि सफल भएको थिएन।  
नेपाली पक्षको बारम्बारको पहलपछि विभिन्‍न सर्तसहित पाइलट परियोजना अन्तर्गत तीन सय जना कामदार लिन इजरायल सहमत भएको हो।चरणबद्धरूपमा तीन सय जना कामदार लिने सहमति भए पनि पहिलो चरणमा जम्मा ५० जना कामदारमात्र जान पाउनेछन्। 
 
गएका कामदारको कार्यशैलीबाट रोजगारदाता सन्तुष्ट भएमा मात्र थप कामदार लिने इजरायलको रणनीति छ।जाने कामदारले टिकटको खर्च व्यहोर्नुपर्नेछ।
 
कामदारको न्यूनतम मासिक तलब ११ सय अमेरिकी डलर हुने श्रम तथा रोजगार मन्त्रालयले जानकारी दिएको छ। हालको विनिमय दर अनुसार कामदारले मासिक एक लाख १० हजार हाराहारीमा कमाई गर्न सक्छन्। (इजरायलले तीन सय नेपाली कामदार लाने)
 
जाने कामदारको उमेर २५ वर्ष पुगेको तथा ४५ वर्ष ननाघेको हुनुपर्नेछ। कक्षा १० उत्तीर्ण गरेकाहरुमात्र जान योग्य हुनेछन्।श्रम तथा रोजगार राज्यमन्त्रीका कानुनी सल्लाहकार केशवराज जोशीले इजरायलमा कामदार पठाउन दुई देशबीच शुक्रबार समझदारीपत्रमा हस्ताक्षर हुने बताए।
चरणबद्धरुपमा तीन सय जना कामदार लिन इजरायल सहमति भए पनि पहिलो चरणमा जम्मा ५० जनामात्र जान पाउनेछन्।
 
'नेपाली महिला कामदारका लागि आकर्षक गन्तव्य भएकाले खुलाउन सरकारले विशेष पहल गरेको हो,' उनले भने। दुई देशबीच सहमति भएपछि परीक्षा सञ्चालनलगायतका प्रक्रिया अघि बढाउन कार्यविधि तय गरिनेछ। 
 
मौखिक परीक्षालगायतका प्रक्रिया पूरा गरेरमात्र कामदार पठाइने तयारी सरकारको छ।इजरायलले महिला बढी कामदारलाई प्राथमिकता दिने बताएको छ। 
 
श्रम तथा रोजगार मन्त्रालयसम्बद्ध अधिकारीका अनुसार कुल कामदारमध्ये करिब ८० प्रतिशत महिला र २० प्रतिशत हाराहारीमा पुरुष हुनेछन्। जानुअघि नर्सिङ तथा केयर गिभरसम्बन्धी तीन महिनाको आधारभूत तालिम लिनुपर्नेछ। 
 
तालिम खर्च रोजगारदाता पक्षले व्यहोर्नेछ भने हवाई टिकट तथा भिसाबापतको रकम कामदार स्वयंले व्यहोर्नुपर्ने गरी सहमति गरिने भएको छ। इजरायल जाने कामदारमा छनोट हुन न्यूनतम पाँच फिट एक इन्च उचाई तथा ५० केजी तौल हुनुपर्नेछ।
 
इजरायलमा केयर गिभर, पर्यटन, कृषिलगायतमा नेपालीलाई कामको अवसर छ।नेपाली कामदार पठाउनेक्रममा म्यानपावर कम्पनीले एकै जना व्यक्तिसँग आठदेखि १० लाख रुपैयाँसम्म असुलेको भन्दै इजरायलले एक्कासी नेपाली कामदार पठाउन रोकेको थियो।
 
कामदार पठाउन बन्द गरिएपछि पाइपलाइनमा रहेका करिब चार सय जना बिचल्लीमा परेका थिए। बन्द भएपछि जाने कामदार र म्यानपावर कम्पनीको समेत गरी करिब झन्डै ५० करोड रुपैयाँ डुबेको थियो। 
 
पाइपलाइनमा रहेकामध्ये अधिकांश व्यक्ति भारतीय मार्ग हुँदै इजरायल पुगिसकेका म्यानपावर व्यवसायीको दाबी छ।आन्तरिक बजारमा रोजगारीको पर्याप्त अवसर नहुँदा युवा विदेसिनेक्रम बढ्दो छ। हाल सरकारी अनुमति लिएर वैदेशिक रोजगारीमा जानेको संख्या ३६ लाख पुगिसकेको छ। 
  
सरकारले गत असार २१ देखि खाडी मुलुक र मलेसियामा निःशुल्क टिकट र भिसामा मात्र कामदार पठाउन पाउने व्यवस्था गरेपछि जानेक्रममा केही कमी आएको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ। आकर्षक कमाई हुने मुलुकमा कामदार पठाउने भने पनि अहिलेसम्म व्यवहारमा लागू हुन सकेको छैन।
 
Published on: 7 August 2015 | Annapurna Post
 

Back to list

;