s

इजरायल रोजगार: लट्रीबाट श्रमिक छानिने

काठमाडौं : इजरायल रोजगारीका लागि भाषा परीक्षा पास गरेकाहरुबाट लट्रीबाट उम्मेदवार छनोट हुने भएको छ। वैदेशिक रोजगार विभागका अनुसार इजरायलले नै श्रमिक छनोट गर्नेछ । विभागले भाषा परीक्षा र अन्र्तर्वार्ताबाट १ हजार ६ सय जनाको सूची इजरायललाई पठाएको छ । त्यसमध्येबाट एक हजारजना श्रमिक इजरायल जान पाउने छन् ।

विभागका निर्देशक कमल ज्ञवालीका अनुसार एक महिनाभित्र लट्रीबाट इजरायलले श्रमिक छनोट गर्नेछ । उताबाट अन्तिम सूची आइसकेपछि स्वास्थ्य परीक्षण, अभिमुखीकरण तालिम सञ्चालन हुनेछ । त्यसपछि मात्रै भिसा प्रक्रिया सुरु हुनेछ ।

विभागले १ हजार १ सय २० महिला र ४ सय जना ८०  पुरुषको नाम सार्वजनिक गरेको छ । महिला ७ सय र पुरुष ३ सय जना छनोटमा पर्नेछन् ।विभागले पठाएको सूचीका आधारमा पीआइबीएले अन्तिम उम्मेदवार छनोट गर्नेछ । अन्तिम छनोटमा परेका उम्मेदवारको करारनामामा हस्ताक्षर गरी इजरायलले विभागमा पठाउनेछ ।

उताबाट आएको सूचीका आधारमा विभागले छनोटमा परेकालाई बोलाएर सम्झौता गराई पाँच दिनभित्र दूतावास पठाउँछ । इजरायलले लाइभ टिभी कार्यक्रम सञ्चालन गरी लट्री गर्ने घोषणा गरेको छ । जसले सिफारिसमा परेका १ हजार ६ सय जनामध्येबाट जोकोही पनि पर्न सक्ने विभागले जनाएको छ । एक महिनाभित्र अन्तिम सूची आइसक्ने विभागले जनाएको छ । ‘हामीले पारदर्शी ढंगले छनोट गरी सिफारिस गरेका छौं,'उनले भने,‘उताबाट लट्री भएर आएपछि थप प्रक्रिया सुरु हुन्छ ।’

विभागले दुई दिने तालिमका लागि तयारी पूरा गरिसकेको छ । इजरायल कामदारको आकर्षक मूलुकमा पर्छ ।  रोजगारीका लागि एक हजारको कोटा भए पनि ७ हजारले परीक्षा दिएका थिए । ९ हजार जनाको आवेदन परेको थियो ।

वैदेशिक रोजगारीका क्रममा जापान, कोरियामा लामो समय काम गरिसकेका युवाले पनि इजरायल जान प्रक्रियामा सामेल भएका थिए । केयरगिभरको रूपमा इजरायल जाने श्रमिकले वृद्धवृद्धा र बालबालिकाको रेखदेख गर्नुपर्छ ।

Published on: 7 October 2021 | Annapurna Post

 

Link

Back to list

;