s

इजरायल लैजाने १ हजार नेपाली कामदार गोलाप्रथाबाट छानियो

कान्तिपुर संवाददाता

काठमाडौँ — इजरायलले नेपालबाट लैजाने एक हजार कामदार छनोट गरेको छ । नेपालमा भएको छनोट प्रक्रियामा विभिन्न चरण पार गरी एक हजार ६०० नेपालीलाई सूचीकृत गरिएको थियो । सूचीकृतमध्ये एक हजार जनाको नाम मंगलबार गोलाप्रथाबाट छनोट गरिएको हो । इजरायलको जेरुसेलममा गरिएको गोलाप्रथाबाट छनोट भएका नेपालीको नाम वैदेशिक रोजगार विभागमा पठाइसकेको छ ।

‘झन्डै एक वर्षअघि देखिको यो प्रक्रिया यहाँसम्म आइपुगेको छ,’ भर्चुअल रुपमा कार्यक्रममा काठमाडौंबाट सहभागी भएका नेपालका लागि इजरायली राजदूत हनान गोडरले भने,‘यो खुसीको अवसरमा नेपाल सरकार र इजरायली सरकार दुवैलाई धन्यवाद दिन चाहन्छु । यसले दुवै मुलुकका नागरिकहरु लाभान्वित हुनेछन् ।’

इजरायले नेपालबाट एक हजार ‘एक्जुलरी वर्कर्स’ अर्थात् मुख्य कामदारलाई सहयोग गर्ने सहायक कामदारको रुपमा लैजान एक वर्षअघि प्रक्रिया थालेको थियो । उक्त प्रक्रियामा सुरुआतमा ९ हजार ७ सय नेपालीले आवेदन दिएका थिए ।

त्यसपछि अंग्रेजी भाषाको जाँच, अध्ययन गरेको दस्तावेजलगायत अन्य प्रक्रिया पूरा गरेर १६ सय जना छनोट भएका हुन् । त्यसमध्ये गोलाप्रथाबाट एक हजारलाई छनोट गरिएको हो । ‘यो गोलाप्रथा नै सबैभन्दा पारदर्शी प्रक्रिया हो । त्यसैले यसलाई हामीले सबैले देख्ने गरी पारदर्शी प्रक्रियामा गोलाप्रथा गरेका हौं,’ राजदूत गोडरले भने ।

वैदेशिक रोजगार विभागका महानिर्देशक दीपक काफ्लेले इजरायली पक्षबाट एक हजार जना नेपालीहरुको नाम आइसकेको बताए । उनले नाम आएका व्यक्तिहरुको अब मेडिकल परीक्षण र प्रहरी रिपोर्ट आएपछि इजरायल जानको लागि तयार हुने बताए । छनोट भए पनि मेडिकल परीक्षणको रिपोर्ट र प्रहरी रिपोर्टमा गलत आएमा इजरायल जान पाउने अवस्था रहन्न ।

इजरायलले कुनै पनि म्यानपावर र कुनै पनि विचौलीया बिनामात्र नेपालबाट सरकार–सरकार (जीटुजी) प्रक्रियाबाट कामदार लैजाने भन्दैआएको थियो । सोही अनुसार जीटुजी प्रक्रियाबाटै कामदार लान लागिएको हो । पूर्व श्रमसचिव विनोद केसीले इजरायलले उक्त प्रस्ताव गरेपछि नेपाल सरकारकोतर्फबाट आफूहरुले नै इजरायललाई यसरी कामदार लानको लागि सल्लाह दिएको प्रष्ट पारे ।

इजरायलका लागि नेपाली राजदूत अन्जान शाक्यले यो कामदार छनोट प्रक्रिया हरेक चरणमा पारदर्शी रहेको बताइन् । उनले भनिन्, ‘यो सफलताको भागेदार दुवै मुलुक हुन् । दुवै मुलुकका जनताले यसको फाइदा लिन सक्ने छन् ।’ उनले यसपछि कृषि क्षेत्रमासमेत कामदार पठाउनको लागि प्रक्रिया अघि बढिसकेको बताइन् ।’

परराष्ट्र मन्त्रालयका सहसचिव तथा मध्यएसिया, पश्चिम एसिया र अफ्रिका हेर्ने महाशाखाका प्रमुख हरिशचन्द्र घिमिरेले दुवै मुलुकको सम्बन्धबीच यो निकै महत्वपूर्ण खुड्किलो भएको बताए । ‘कामदारको क्षेत्रमा भएको यो प्रगतिलाई लिएर दुवै मुलुकका राजदूतहरुलाई धन्यवाद दिन चाहन्छु,’ उनले भने ।

कृषि क्षेत्रमा पनि कामदार पठाउने गृहकार्य

इजरायलको लागि नेपाली राजदूत अन्जान शाक्यले अब इजरायको कृषि क्षेत्रमासमेत नेपालीहरु लैजाने प्रक्रियालाई अघि बढाउनको लागि गृहकार्य गरेकी छन् । उनले इजरायका कृषि मन्त्री ओडेड फोररसँग भेटवार्ता गर्दै त्यसको लागि पहल गर्न आग्रह गरेकी हुन् ।

राजदूत शाक्य र इजरायलका कृषिमन्त्री ओडेड फोररबीच यसै साता इजरायली संसदमा भेटवार्ता भएको थियो । उक्त अवसरमा मन्त्रीका सल्लाहकार, कृषि मन्त्रालयका वरिष्ठ अधिकारी यकोभ पोलेग तथा दूतावासका द्वितीय सचिवसहितको उपस्थिति थियो ।

उक्त अवसरमा दुई देशबीच यसअघि नै सरकारी स्तरमा छाता श्रम सम्झौता कार्यान्वयन प्रोटोकलमा हस्ताक्षर भइसकेको उल्लेख गर्दै राजदूत शाक्यले अब कृषि क्षेत्रमासमेत नेपालीहरुलाई लैजान आग्रह गरेकी हुन् ।

जवाफमा मन्त्री फोररले राजदूत शाक्यलाई विदेशी कामदारको कोटा बढाएरै भए पनि नेपालबाट कृषक ल्याउन चाँडै सम्झौता गर्ने प्रतिवद्धता व्यक्त गरेको शाक्यले कान्तिपुरलाई जानकारी दिइन् ।

‘अहिले काम गर्ने नेतृत्व चाहिन्छ, जुन तपाईँले इजरायलमा देखाउनुभयो,’ मन्त्री फोररले भनेका थिए । लामो समयदेखि रोकिएको इजरायलको रोजगारी खुला गर्दै यसै सम्झौता अनुरुप काम भएको छ । सोही अनुसार केही दिनभित्र १००० नेपाली कामदार इजराल जाँदैछन् ।

इजरायलको प्राविधिक सहयोगमा नेपालमा कृषि सेन्टर फर एक्सिलेन्स स्थापना गर्नेसम्बन्धी सम्झौतासमेत सम्पन्न भइसकेको छ । त्यसलाई तदारुकताका साथ कार्यान्वयनमा लैजानुपर्नेमा राजदूत शाक्यले जोड दिइन् । नवीन इजरायली प्रविधि भित्र्याएर देशको कृषि क्षेत्रको विकास गर्नुपर्ने पर्ने शाक्यले बताइन् ।

उनले नेपालबाट ११ महिने कृषि तालिमका लागि वार्षिक करिब ५०० जना नेपाली विद्यार्थीहरु इजरायल आउने गरेकोमा त्यसमध्येका उत्कृष्ट विद्यार्थीहरु छनोट गरी थप तालिमको अवसर दिलाउने र उनीहरुलाई कृषि परामर्शकर्ता/विज्ञका रुपमा विकास गर्ने अवसर दिलाइदिनसमेत मन्त्रीलाई आग्रह गरिन् । उक्त अवसरमा राजदूत शाक्यले मन्त्री फोररलाई नेपाल भ्रमणको निम्तोसमेत दिएकी थिइन् ।

Published on: 18 October 2021 | Kantipur

Link

Back to list

;