s

इजरायल जाने डेढ सय युवा छनोट

आधुनिक कृषि तालिमका लागि इजरायल जाने विद्यार्थीहरु मध्ये पूर्व क्षेत्रबाट एक सय ५० जना छनोट भएका छन् । बुधबार यहाँ नेपालका लागि इजरायली राजदूत यारोन मेयरको उपस्थितिमा विद्यार्थी छनोट गरिएको हो ।
 
साना किसान बिकास बैंकले यस बर्ष ५ सय ५० युवालाई कृषि तालिमका लागि इजरायल पठाउने भएको छ । छनोट कार्यक्रममा मेची, कोशी, सगरमाथा र जनकपुर अञ्चलका १६ जिल्लाका तीन सय ९५ युवा सहभागी थिए । 
 
उनीहरुमध्ये गोलाप्रथाबाट एक सय ५० जनाको नाम छनोट गरिएको साना किसान विकास बैंकका मेनेजर झलेन्द्र भट्टराईले बताए । इजरायल सरकारको सहयोगमा ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत यस बर्ष पाँचौ चरणको लागि छनोट प्रक्रिया सुरु भएको हो ।
 
इजरायल गएका युवाले त्यहाँको कृषि प्रविधि, औधोगिकरण र व्यवसायिकताबारे ज्ञान हासिल गर्ने गरेको मेनेजर भट्टराईले बताए । उनका अनुसार चौथो चरणसम्म एक हजार ६ सय विद्यार्थी इजरायल गएका थिए । उनीहरुमध्ये एक हजार एक सय ५० स्वदेश फर्किसकेका छन् भने चार सयले तालिम लिइरहेका छन् । 
 
इजरायल गएका युवाले त्यहाँ ११ महिना तालिम लिनुपर्छ । उक्त अवधिमा साताको एक दिन कलेज तथा ५ दिन कृषि फार्ममा काम गर्ने अवसर पाउने गरेको भट्टराईले जानकारी दिए । २२ देखि ३० बर्ष उमेर समूहका, कक्षा १२ उत्तीर्ण गरेका र साना किसान विकास बैंकको सदस्य भएको परिवारभित्रका युवा यस कार्यक्रममा सहभागी हुन पाउँछन् । 
 
कृषि कार्यक्रमअन्तर्गत इजरायल जाने विद्यार्थीको नाम गोलाप्रथाबाट छनोट गर्दै नेपालका लागि इजरायली राजदूत यारोन मेयर ।


Published on: 25 May 2017 | Kantipur

Back to list

;