s

इजरायल जान खेती सिक्दै

जितेन्द्र साह

पाँच वर्ष गणित पढाएका मोरङको सुन्दरहरैंचा नगरपालिका–३ गछियाका २८ वर्षे अनिल खुलाल खेतीकिसानी सिकिरहेका छन् । इजरायलमा प्रविधिमैत्री खेतीपाती पढ्न जान उनी जहदास्थित शैलजा आचार्य स्मृति पोलिटेक्निक कलेजमा सामुदायिक कृषि सहायक विषयमा सैद्धान्तिक एवं प्रयोगात्मक ज्ञान लिइरहेका छन् । उनीसहित ३८ युवायुवती यहाँ पढिरहेका छन् ।

उनीहरूले यसपछि ११ महिनासम्म उत्तरी इजरायलको किन्नरेट कलेजमा पढ्दै र यसैसँग सम्बन्धित आयमूलक काम गर्नेछन् । ‘सानैदेखि खेतीपातीमै मन लाग्थ्यो तर रुचि विपरीतको विषय पढेछु र जागिर खाएछु जस्तो लाग्न थाल्यो,’ शिक्षकको जागिर छाडेर यता मोडिएका खुलालले भने, ‘अवसर आएपछि मार्ग परिवर्तन गरेँ ।’

इजरायलबाट ज्ञान लिएर फर्केपछि नेपाल सरकारले कृषि सम्बन्धमा घोषणा गरेको नयाँ योजनाको भरपूर फाइदा लिने उनले बताए । हरियाली र कृषिकर्मका लागि चिनिने जहदा गाउँपालिकाको माझस्थित यो कलेजमा पढिरहेका अधिकांशचाहिँ पहिलादेखि खेतीपाती र कुखुरापालनमा लागिरहेका विद्यार्थी हुन् । मोरङकै कानेपोखरी–६ का २४ वर्षीय थोमस लिम्बूले व्यवस्थित कृषि सिकेर करिअर बनाउने लक्ष्य रहेको बताए । ‘आम्दानी पनि हुने र नयाँ प्रविधि पनि सिकिने हुनाले इजरायल जान लागेको हुँ,’ उनले भने । फर्कँदा मिहिनेतअनुरूप ११ महिनामा न्यूनतम पाँचदेखि २० लाख रुपैयाँसम्म कमाइने अपेक्षा लिम्बूको छ ।
 
इजरायली दूतावास एवं साना किसान विकास बैंकले स्थानीय वित्तीय र प्राविधिक शिक्षण संस्थाहरूको सहयोगमा सन् २०१३ देखि ‘सिकाइ तथा कमाइ’ कार्यक्रम सञ्चालन गर्दै आएका छन् । गाउँ–गाउँबाट गोलाप्रथा एवं अन्तर्वार्तामार्फत योग्य उम्मेदवारको छनोट हुन्छ । उनीहरूले ११ महिने बसाइमा साताको एक दिन पढाइ, पाँच दिन कृषि फार्ममा काम र एक दिन आराम गर्न पाउँछन् ।
 
मोरङबाट इजरायल जान लागेको यो समूहमा १० युवती पनि छन् । यीमध्येकी मोरङ उर्लाबारी–१, मधुमल्लाकी सविना भट्टराईका श्रीमान् दिनेश दाहाल त एक वर्षदेखि उतै छन् । ‘श्रीमान् त्यहीँ गाईपालन फार्ममा काम गरिरहनुभएको छ, उहाँ फर्किन लाग्नुभएको छ,’ उनले भनिन्, ‘उहाँकै सुझावअनुरूप पढदै छु ।’
 
उक्त कलेजका प्राध्यापक एवं पशु चिकित्सक डा. राधेश्याम मण्डलले नेपालीलाई इजरायलको हावापानीमा काम गर्न सहज हुने गरी सीटीईभीटीले डेढ महिने पाठ्यक्रम तयार पारेको जनाए । यसमा पशुपालनबाहेक फलफूल, तरकारी, कृषि सुरक्षा, सञ्चार र प्रसारबारेमा पढाइने उनले बताए ।
 
सीटीईभीटीले इजरायल जानेलाई लक्षित गरी यस पटक परिमार्जित पाठ्यक्रम ल्याएको र प्रभावकारी भए निरन्तरता दिइने कलेजका प्रिन्सिपल सन्तबहादुर अधिकारीले बताए । उनका अनुसार साउनको पहिलो साता सम्पूर्ण अध्ययन र प्रशिक्षण सकिएपछि छात्रछात्राहरू इजरायल जानका लागि काठमाडौंतिर लाग्नेछन् ।
 
इजरायल जान मुलुकभरबाट औसत ४० जनाका दरले ११ समूह छनोट भएका छन् । इजरायलबाट आएका कार्यक्रम निर्देशकस्तरका विज्ञ प्रतिनिधिले योग्यता र दक्षताका आधारमा उनीहरूको चयन गरेका हुन् । मोरङबाटै १ सय ४१ जनाले आवेदन दिएका थिए । आवेदन दिनेको न्यूनतम योग्यता दस जोड दुई उत्तीर्ण, उमेर २२ देखि ३० वर्ष र आधारभूत अंग्रेजी जान्नुपर्ने निर्धारण गरिएको थियो ।
 
इजरायलले नेपालबाट मात्र नभएर थाइल्यान्ड, भियतनाम, सुडान, नाइजेरिया र फिलिपिन्सलगायत विभिन्न मुलुकका युवायुवतीलाई पढ्ने र काम गर्ने अवसर दिँदै आएको तालिममा सहभागीहरूले बताए । विभिन्न जिल्लाबाट छनोट हुने युवायुवतीले सम्झौताअनुरूप इजरायलका पाँच भिन्न कलेजमा पढ्न पाउँछन् ।
 
Published on: 19 July 2018 | Kantipur

Back to list

;