s

इजरायल जान ९ हजार बढीले भरे आवेदन

तुलसी सुवेदी

काठमाडौं : इजरायल जानका लागि साढे ९ हजार बढीले आवेदन दिएका छन् । इजरायल जान २० हजार बढी इच्छुक भएर युजर नेम र आइडी बनाएपनि आवश्यक कागजात नपुग्दा आधा इच्छुकले आवेदन दिन पाएनन् ।

वैदेशिक रोजगार विभागका अनुसार इजरायल जानका लागि ९ हजार ६ सय ९९ नेपालीहरुले आवेदन दिएका छन् । विभागले साउन १२ देखि साउन ३२ गतेसम्म आवेदन माग गरेको थियो । विभागले हजार जना कामदार लैजाने जनाएको छ । रोष्टरमा १ हजार चार सय जनाको नाम राखिने छ ।

इजरायलमा जानेमा ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष हुने छन् । तर आवेदन दिनेमा पुरुषको संख्या अधिक छ । विभागका अनुसार चार हजार दुई सय महिला र ५ हजार ४ सय ९९ पुरुषले आवेदन दिएका छन् ।

विभागले आवेदकबाट सक्कल कागजातसहित भौतिकरुपमा भाषा परीक्षा सञ्चालन गर्ने छ । इजरायल जान १ लाख ६५ हजार खर्च लाग्न । त्यहाँ राम्रो कमाइ हुने भएकाले धेरैको आकर्षण हुन्छ ।

विभागका महानिर्देशक दवाडीले निष्पक्ष छनोट गरी कामदार इजरायल पठाउने बताए । ‘मापदण्डका आधारमा छनोट गर्ने छौं’, उनले भने,‘कसैको भनसुन चल्दैन, निश्पक्षरुपमा कामदार छनोट हुन्छन् ।’

नर्सिङ होम तथा केयर होम लगायत संस्थामा रोजगारी पाउने छन् । कामदारले ५ वर्षसम काम गर्न पाउने छन् । उनीहरुले मासिक १ हजार ६ सय डलर पारिश्रमिक पाउँछन् । महानिर्देशक दवाडीका अनुसार स्वास्थ्य बिमाको प्रिमियम, आयकर र बस्ने ठाउँको पानी बिजुलीको पैसा कामदारले तिर्नुपर्छ ।

इजरायल शाखा प्रमुख डम्बरबहादुर सुनुवारका अनुसार छनोट भएका सबै जान नसक्ने, मेडिकल फेल हुन सक्नेलगायतका कारण ४ सय बढीलाई रोष्टरमा राखिन लागेको हो ।

छनोट भएका युवाले ८० प्रतिशत भाषा परीक्षा र २० प्रतिशत अन्तरवार्ता पास गर्नुपर्छ । दुवै नम्बरमा बढी हुने युवाको सूची इजरायलको पीआईबीएलाई पठाइ त्यसको विवरण विभागको वेबसाइटमा राखिन्छ । 

विभागले पठाएको सूचीका आधारमा पीआईबीएले अन्तिम उम्मेदवार छनोट गर्छ । अन्तिम छनोटमा परेका उम्मेदवारको करारनामामा हस्ताक्षर गरी इजरायलले विभागमा पठाउने छ । उताबाट आएको सूचीका आधारमा विभागले छनोटमा परेकालाई बोलाएर सम्झौता गराइ दूतावासमा पठाउने छ । 

सम्झौता भएको ३० दिनभित्र श्रमिक इजरायल गइसक्नुपर्ने प्रावधान छ । विभागले ६० दिनभित्र गइसक्नुपर्ने व्यवस्था गर्न पहल भइरहेको जनाएको छ ।

इजरायलमा नेपाली सहयोगी कामदार पठाउनेसम्बन्धी निर्देशिका २०७८’ इजरायल रोजगारीमा जाँदा लाग्ने शुल्क रोजगारदाताले बेहोर्न नमाने श्रमिक आफैंले तिर्नुपर्ने व्यवस्था गरिएको छ ।

नेपाल–इजरायलबीच गत असोजमा श्रम सम्झौता भई श्रमिक पठाउनेसम्बन्धी माघमा समझदारी बनेको थियो । इजरायल गई काम गरेका, आमा, बुवा, पति, पत्नी, छोरा वा छोरी इजरायलमा बसोबास गरिरहेका वा कार्यरत रहेका र लागूपदार्थ वा मादक पदार्थ दुव्र्यसनमा लागेका व्यक्ति इजरायल जान पाउने छैनन् ।

दस जोड दुई पास गरेर तीन महिनाको केयरगिभर तालिम लिएका मात्रै प्रतिस्पर्धामा सामेल भएका छन् । दस जोड दुई पास गरी १५ महिने अनमी पढेकाले पनि इजरायल जान पाउँछन् ।  इजरायल जान हिब्रु र अंग्रेजी भाषा जानेको हुनुपर्छ । ४.९ फिट र ४५ केजी भएको व्यक्ति मात्रै इजरायल जान पाउने छन् ।

इजरायल वैदेशिक रोजगारीका गन्तव्य मुलुकमध्ये आकर्षक मानिन्छ। सन् २०१५ मा सम्झौता भए पनि कामदार इजरायल जान पाएका थिएनन् । त्यतिबेला बिजनेज टु बिजनेस (बीटुबी) मोडेलबाट कामदार पठाइने भनिए पनि असफल भएको थियो ।

Published on: 17 August 2021 | Annapurna Post

Link

Back to list

;