s

इजरायल जान १२ कक्षा उत्तीर्ण हुनुपर्ने

इजरायल जान चाहने नेपाली कामदारले कम्तीमा १२ कक्षा उत्तीर्ण गर्नुपर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जारी गरेको इजरायलमा नेपाली सहयोगी कामदार पठाउनेसम्बन्धी निर्देशिका जारी गर्दै यस्तो व्यवस्था गरेको हो । निर्देशिकाबमोजिम कामदारले नेपाल सरकारबाट मान्यताप्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभिङसम्बन्धी कम्तीमा तीन महिनाको तालिम प्राप्त गरेको हुनुपर्नेछ ।

त्यस्तै, कम्तीमा १० कक्षा उत्तीर्ण गरी अनमी वा सिएमएसम्बन्धी विषयमा १५ महिनाको अध्ययन पूरा गरेको कामदार पनि इजरायल जान योग्य हुने निर्देशिकामा उल्लेख छ । कामदार २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको तथा १ दशमलव ५ मिटर उचाइ र ४५ किलोग्राम तौल भएको हुनुपर्नेछ ।

तर, एकपटक इजरायल गई काम गरेको कामदार भने फेरी जान योग्य हुनेछैन । साथै, बाबु, आमा, पति, पत्नी, छोरा वा छोरी इजरायलमा बसोवास गरेको वा कार्यरत रहेको कामदारले इजरायलका लागि आवेदन दिन पाउनेछैन । 

सार्वजनिक सूचना जारी गरी कामदारको माग गर्नुपर्ने

इजरायल जाने कामदारका लागि सरकारले नै सार्वजनिक सूचना जारी गरी आवेदनका लागि आह्वान गर्नुपर्नेछ । मन्त्रालयले जारी गरेको निर्देशिकाअनुसार वैदेशिक रोजगार विभागको वेबसाइट र राष्ट्रियस्तरको पत्रिकामा सूचना प्रकाशित गर्नुपर्नेछ । 

नेपालबाट कामदार लैजान इजरायल सरकारले इजरायलस्थित नेपाली दूतावासमा कामदारको मागपत्र बुझाउनुपर्नेछ । मागपत्र प्राप्त भएपछि दूतावासले मागपत्र छानबिन गरी प्रमाणीकरण गर्नेछ । जसको जानकारी वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा प्रविष्ट गराउनुपर्नेछ । प्रणालीमा प्रविष्ट गरेपछि विभागले १४ दिनभित्र इजरायल सरकारको पपुलेसन एन्ड इमिग्रेसन अथोरिटी (पिआइबिए) सँग समन्वय गरी २१ दिनको अवधि राखी सार्वजनिक सूचना जारी गर्नुपर्नेछ । सूचना जारी गर्दा मागसंख्या, पद, पारिश्रमिकलगायतको विवरण राख्नुपर्नेछ ।

कामदार छनोटको अधिकार इजरायल सरकारमा हुने

इजरायल जान चाहने नेपाली कामदारको छनोट अधिकार इजरायल सरकारको पपुलेसन एन्ड इमिग्रेसन अथोरिटी (पिआइबिए) मा हुनेछ । वैदेशिक रोजगार विभागले योग्यता पुगेका कामदारको विवरण पिआइबिएमा पठाउनेछ । पिआइबिएले छनोट गरेका कामदार र रोजगारदाताबीच श्रम सम्झौता हुनेछ । सम्झौतामा कामदार र रोजगारदाताले हस्ताक्षर गरेपछि अन्य प्रक्रिया अगाडि बढ्नेछ ।

कामदार छनोटका लागि विभागले छनोट समितिसमेत गठन गर्नुपर्नेछ । शैक्षिक योग्यता पुगेका आवेदकलाई मात्रै समितिले तौल र उचाइ परीक्षणका लागि बोलाउनेछ । तौल र उचाइ पुगेका आवेदकले अंग्रेजी भाषाको परीक्षासमेत दिनुपर्नेछ । योग्यता पुगेका आवेदकले अंग्रेजी भाषामा प्राप्त गरेको अंकका आधारमा कामदार छनोट गरी विभागले पिआइबिएमा पठाउनेछ । विभागले इजरायल सरकारले माग गरेभन्दा २५ प्रतिशत बढी कामदारको नामावली विवरण पिआइबिएमा पठाउनेछ । त्यस्तै, आवेदक कामदार छनोट भए–नभएको जानकारी एसएमएसमार्फत प्राप्त गर्नेछन् ।

भिसाशुल्क सम्बन्धित कामदारले नै व्यहोर्ने

छनोट भएका कामदारको भिसाशुल्क सम्बन्धित कामदारले नै व्यहोर्नेछ । तर, अन्य खर्च भने कामदार र रोजगारदाताबीच भएको सम्झौताअनुसार कामदार वा रोजगारदाताले व्यहोर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

रोजगार सम्झौता सम्पन्न भएका नेपाली कामदारको भिसाका लागि विभागले नेपालस्थित इजरायली राजदूतावाससमक्ष सिफारिस गर्नेछ । सिफारिसपछि कामदारले आफँैले दूतावासमा भिसाका लागि आवेदन दिनुपर्नेछ । भिसा प्राप्त गरेका कामदार इजरायल जानुअघि अभिमुखीकरण तालिम लिनुपर्नेछ । त्यस्तै, बिमा र कल्याणकारी कोषमा रकम जम्मा गर्नुपर्नेछ । नेपाल सरकार र इजरायलबीच ०७७ असोज १४ गते श्रम सम्झौता भएको थियो । सम्झौताअनुसार पहिलो चरणमा केयर गिभरमा कामदारहरू पठाइनेछ ।

Published on: 9 May 2021 | Nayapatrika

Link

Back to list

;