s

इजरायल ‘केयरगिभर’मा जानेले तेस्रो डोज खोप पनि लगाउनुपर्ने

इजरायलस्थित ‘केयरगिभर’ का लागि जाने नेपालीहरुले कोरोना विरुद्धको खोपको तेस्रो डोज पनि लगाउनुपर्ने भएको छ। 

पहिलो र दोस्रो मात्रा लगाएको ६ महिना नाघेकाहरुले इजरायल प्रवेशका लागि तेस्रो मात्रा पनि लगाउनुपर्ने व्यवस्था इजरायलले गरेको वैदेशिक रोजगार विभागका निर्देशक एवं सूचना अधिकारी कमल ज्ञवालीले जानकारी दिए। 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अधिकारीहरुसँगको छलफलमा इजरायलले यस्तो बताएको  हो।

‘पहिलो र दोस्रो मात्रा लगाएको ६ महिना नाघेको अवस्थामा तेस्रो डोज खोप पनि लगाउनुपर्ने सर्त इजरायल सरकारको छ,’ उनले सेतोपाटीसँग भने। 

उनका अनुसार अब नेपालीहरु कहिलेदेखि इजरायल जान पाउँछन् भन्ने विषयमा भने टुंगो लागिसकेको छैन। यस विषयमा छलफल भइरहेको उनले बताए। 

इजरायलको यो सर्तपछि चिन्ता थपिएको मन्त्रालयका अधिकारीहरु बताउँछन्। 

‘खोपको दोस्रो मात्रा पुर्याउन समस्या भइरहेका बेला तेस्रो मात्राको सर्त आएपछि चिन्ताको विषय बनेको छ। तेस्रो मात्रा नेपालमा आएर त्यो लगाएर इजरायल जान त धेरै समय कुनुपर्ने हुन सक्छ,’ मन्त्रालयका एक अधिकारीले सेतोपाटीसँग भने। 

नेपालका लागि इजरायली राजदूत हनान गोडर भने इजरायलले केयरगिरभरमा जानेका लागि मात्रै नभएर हरेक क्षेत्रमा जाने विदेशीहरुका लागि यो व्यवस्था लागू गरेको बताउँछन्। 

कोभिड जोखिम कायमै रहेकाले इजरायल सरकारले दोस्रो डोज लगाएको ६ महिना नाघेकाहरुको हकमा तेस्रो डोज लगाउनुपर्ने व्यवस्था गरेको उनको भनाई छ।  

‘इजरायल सरकार स्वास्थ्य सुरक्षाका मामिलामा एकदमै संवेदनशील छ। केयरगिभरमा जानेका लागि मात्र नभएर अन्य विभिन्न सिलसिलामा जानेहरुका हकमा समेत यो व्यवस्था लागू हुन्छ,’ सेतोपाटीसँग कुरा गर्दै राजदूत गोडरले भने। खोपको दोस्रो मात्रा लगाएको ६ महिना ननाघेकाहरु भने सजिलै जान सक्छन्। 

इजरायलका लागि दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारका लागि इजरायलस्थित पपुलेशन एण्ड माइग्रेशन अथोरिटी (पिआइबिए) ले एक हजार कामदार सूचीकृत गरेको छ। पिआइबिएले चिठ्ठा प्रणालीबाट छनोट गरेर सूची सार्वजनिक गरेको हो। 

केही समयअघि  वैदेशिक रोजगार विभागले एक हजार ६ सय उम्मेदवारको सूची पठाएको थियो। 

भाषा परीक्षा उत्तीर्ण गरी अन्तर्वार्तामा सहभागी मध्येबाट योग्य एक हजार छ सय इजरायलको पिआइबिएलाई सिफारिस गरेको हो। 

उनीहरुको स्वास्थ्य परीक्षण पनि सकिएको छ। स्वास्थ्य परीक्षण तथा प्रहरी रिपोर्ट आएपछि उनीहरु इजरायल जानका लागि तयार हुनेछन्। 

मेडिकल परीक्षणको रिपोर्ट र प्रहरी रिपोर्ट मापदण्डअनुसार भए मात्रै उनीहरु इजरायल प्रवेशका लागि योग्य मानिन्छन्।

त्यसपछि पिआइबीएले छनोट गरेका व्यक्तिहरूगार र रोजगारदाताबीच रोज सम्झौता हुनेछ। रोजगार सम्झौता भएका व्यक्तिहरू इजरायल जान पाउने छन्। 

इजरायलले निजी क्षेत्र (म्यानपावर कम्पनी) तथा बिचौलीयारहित भर्ना प्रकृयामार्फत नेपाली लैजाने भएको हो। सरकार सरकार (जिटुजी) प्रकृयामार्फत कामदार पठाउन लागिएको हो। 

इजरायल जाँदा लाग्ने शुल्क रोजगारदाताले नव्यहोरेको खण्डमा कामदार स्वयंले व्यहोर्नुपर्ने उल्लेख गरिएको छ। नेपालका लागि इजरायली राजदूटतावासका नुसार इजरायल जाने नेपालीले टिकट शुल्क बापत ७० हजार तिर्नुपर्नेछ। भिसा शुल्क भने तीन हजार रुपैयाँ लाग्ने छ। भिसा अवधि पाँच वर्षको रहेको छ। कमाइ मासिक दुई लाखको हाराहारि हुने हुने उल्लेख छ। 

इजरायल नेपालीहरुका लागि आकर्षक गन्तव्य मुलुक बन्ने विश्वास गरिएको छ। केयरगिभरसँगै इजरायलले नेपालबाट कृषि क्षेत्रमा समेत कामदार लैजान चाहेको छ।

यसका लागि छुट्टै सम्झौता गर्न इजरायल सरकार सकारात्मक छ। इजरायलको प्राविधिक सहयोगमा नेपालमा कृषि सेन्टर फर एक्सिलेन्स स्थापना गर्नेसम्बन्धी सम्झौतासमेत भइसकेको छ। नेपालमा  इजरायली प्रविधि भित्र्याएर देशको कृषि क्षेत्रको विकासमा टेवा पुग्ने सरकारको विश्वास छ।

सरकारले दक्षिण कोरियामा पनि सरकारी संयन्त्रमार्फत नै नेपाली श्रमिकहरु पठाउँदै आएको छ। त्यहाँ निर्माण र कृषि क्षेत्रमा वार्षिक सात हजार बढी नेपालीहरु जाने गरेका छन्। काम र कमाई पनि आकर्षक भएकाले नेपाली युवाहरुको आकर्षण बढ्दै गएको छ।

श्रम मन्त्रालयले नेपालीहरुका लागि काम तथा कमाईका हिसाबले सुरक्षित र आकर्षक गन्तव्य मुलुकको खोजी गरिरहेको बताएको छ। यस्ता मुलुकहरुसँग श्रम सम्झौता गरेर नेपाली श्रमिक पठाउने सरकारको लक्ष्य छ। सोहीअनुसार बेलायतमा पनि नेपाली नर्सहरु पठाउने तयारी गरिएको छ।

जसका लागि सम्झौता प्रकृयामाथि छलफल भइरहेको मन्त्रालयले जानकारी दिएको छ।

Published on: 30 November 2021 | Setopati

Link

Back to list

;