s

इजरायलले बोलायो केयर गिभर

रुद्र खड्का
 
काठमाडौं- लिखित, मौखिक, प्रयोगात्मक परीक्षामा सफल भए पनि विभिन्न प्रक्रियागत भन्झटका कारण अन्योलमा परेको इजरायल रोजगारीमा बल्ल नेपाली युवायुवती जान पाउने भएका छन्।
 
पहिलो चरणकोलगभग सबै तयारी पूरा गरेका ५९ जनामध्ये१३ जनालाई इजरायलबाट बोलाइएकाले पठाउने तयारी भइरहेको वैदेशिक रोजगार विभागले जनाएको छ। इजरायली अधिकारीले नै लिएको लिखित, मौखिक लगायतको परीक्षामा सफल भएका ५९ जनाले एकैपटक इजरायल जान पाउने अपेक्षा गरे पनि १३ जनालाई मात्र बोलाइएकाले कतिपय सहभागी निराश भएका छन्। तर, सरकारी अधिकारीले भने सबैलाई एकैपटक पठाउँदा अलि समस्या हुनसक्ने भएकाले पहिलो चरणमा १३ जनालाई मात्र पठाउन थालेको जनकारी दिए। 'आउँदो शनिबार १३ जना उडेपछि थप सफल उम्मेदवारलाई इजरायलबाट बोलाउने अपेक्षा गरेका छौं,' वैदेशिक रोजगार विभागका प्रवक्ता जनकराज रेग्मीले भने।
 
लामो सयमदेखि इजरायल जान कैयौंले प्रयास गरे पनि सरकारले स्वीकृति नदिँदा धेरैको इच्छा पूरा हुन सकेको थिएन। निकै लामो प्रयासपछि गत साउनमा नेपाल र इजरायल सरकारका प्रतिनिधिबीच एक वर्षभित्र तीन सय नेपाली युवायुवतीलाई केयरगिभरको काम गर्न इजरायल लैजाने सहमति भएको थियो। सुरुमा एक महिने केयरगिभरको तालिम लिएकाहरूले प्रतिस्पर्धा गर्न पाउने भन्दै गत असोजमा इजरायल खुले पनि पछि विभागले एक महिनाको साटो तीन महिने केयरगिभरको तालिमलाई अनिवार्य गरेको थियो। तर, धेरैले पेस गरेको प्रमाणपत्रमा तीन महिने तालिम लिएको नपाइएपछि विभागका अधिकारीले नर्स, अनमी र सिमए अध्ययन गरेकालाई छनोट गरेका थिए। जसका कारण लामो समयदेखि हिब्रु, अंग्रेजी भाषा र केयर गिभरको तालिम लिएका निराश थिए। केयरगिभरको तालिम लिए पनि प्रतिस्पर्धामा सहभागी हुन नपाएकी बारा, निजगढकी गंगादेवी प्रसाईले चार वर्षदेखि हिब्रु तथा अंग्रेजी भाषा र केयरगिभरको तालिम गर्दैमा दुई लाख रुपैयाँभन्दा बढीसकिएको दुःखेसो पोखिन्।
 
सरकारले इजरायल नखोलेका कारण वर्षौं त्यसको प्रतीक्षा गरेकी प्रसाईका लागि लामो समयपछि खुलेको इजरायल अन्तिम समयमो हात्ती आयो फुस्सा सरह भयो । 'इजरायल जानका लागि आवश्यक पर्ने सबै तयारी पूरा गरेकी थिएँ,' उनले भनिन्, 'तर, अन्तिम समयमा विभागले केयर गिभरको प्रमाणपत्रलाई मान्यता नदिँदा इजरायल जाने प्रक्रियामा सहभागी हुनै पाइएन।' धनकुटा, सल्लेकी भीममाया पूर्वछानेले पनि गत असोजमा विभागले इजरायलको केयरगिभरमा जान चाहनेका लागि दरखास्त आव्ह्ान गरेपछि फारम भरेकी थिइन्। 'इजरायलकै लागि भनेर थुपै्र समय र आर्थिक लगानी गरियो,' उनले भनिन्, 'अन्तिम समयमा विभागले प्रक्रियामै नलैजाँदा हामीलाई अन्याय भएको छ।' इजरायलका लागि आवश्यक पर्ने सबै प्रक्रियाको तयारीस्वरुप धनकुटाबाट पटकपटक काठमाडौं आउँदाजाँदा दुई लाख रुपैयाँभन्दा बढी रकम खर्च भएको बताउने पूर्वछानेले इजरायलका नाममा खर्च भएको रकम कसरी जुटाउने भन्ने समस्या टड्कारो रूपमा आएको गुनासो पोखिन्।
 
गत असार २१ गते जिटुजी (नेपाल र इजरायल सरकार) प्रक्रियाद्वारा केयर गिभरमा कामदार लैजान सहमत भएपछि विभागले असोजमा निश्चित मापदण्ड तोकेर दरखास्त आव्ह्ान गरेको थियो। सोही आह्वानपछि आठ सय १८ जनाले विभागमा निवेदन दिएका थिए। निवेदन दिएकामध्ये एक सय ३९ जनाबाहेक अन्यले एक महिनाको तालिम लिएर तीन महिनाको प्रमाणपत्र पेस गरेको भन्दै विभागले त्यस्ता प्रमाणपत्र पेस गरेका उम्मेदवारलाई प्रक्रियाबाट हटाएको थियो। विभागका प्रवक्ता रेग्मीले दरखास्त आह्वान गरेपछि बुझाउने मितिसम्म तीन महिना समय नपुगेका ६ सय ७९ जनाले तीन महिनाको प्रमाणपत्र पेस गरेकाले त्यस्ता प्रमाणपत्र अस्वीकृत गरिएको बताए ।
 
विभागले उपलब्ध गराएको एक सय ३९ जनाको नामावलीमध्येबाट एक सयजनालाई इजरायली दूतावासले छनोट गरेपछि लिखित परीक्षाबाट ५९ जना सफल भएका थिए। इजरायलका वृद्धवृद्धा तथा बालबालिकाको हेरचाहको काम गर्न केयर गिभरका लागि २५ देखि ४५ वर्ष ननाघेका,१.४ मिटर अग्लो तथा ४५ केजी तौलभन्दा कमी हुन नहुने लगायतका मापदण्ड तोकिएको थियो। इजरायल रोजगारीमा जाँदा एक लाख रुपैयाँ बढी लागत नलाग्ने र मासिक एक लाखभन्दा बढी पारिश्रमिक पाइने भएकाले ठूलो संख्याका युवायुवतीको इजरायलप्रति आकर्षण छ। रेग्मीका अनुसार आउँदो साता इजरायल उड्ने तयारीमा रहेकाहरूको हवाई यात्रासहित ६०/७० हजार रुपैयाँभन्दा बढी खर्च नहुने बताए । इजरायलले नाम पठाएका १३ जनाको भिसा लाग्न भने बाँकी नै छ। 'खराब रेकर्ड नभएका सबैले भिसा प्राप्त गर्ने आशा छ,' रेग्मीले भने।
 
केयर गिभरको काममा इजरायल जान नपाएकाहरूले भने सरकारले दक्ष स्वास्थ्यकर्मीलाई विदेश पठाउन खोजेको गुनासो गर्दै आएका छन्। 'केयर गिभरको काम गर्न नर्सिङ अध्ययन गरेकालाई सहभागी नगराउनु पर्ने हो,' पीडित रामकुमारी भुसालले भनिन्, 'यसपटक नर्सलाई छनोट गरेको इजरायलले अबको छनोटमा डाक्टरलाई प्राथमिकता दियो भने के गर्ने?' केयर गिभरको तालिम सञ्चालन गर्नेहरूका अनुसार इजरायल जानका लागि केही वर्षयता सोही तालिम लिएर बसेकाहरूको संख्या कम्तीमा १० हजार छ।
 
सरकारी अधिकारीले भने आगामी दिनमा तीन महिने केयरगिभरको तालिम लिएकाहरू पनि प्रतिस्पर्धामा सहभागी हुन पाउने जानकारी दिएका छन्। एक महिने तालिम लिएकाले भने प्रतिस्पर्धा गर्न नपाउने बताइएको छ। पहिलो चरणमा सबै प्रक्रिया पूरा गरी इजरायल जाने तयारीमा रहेकामा ८० प्रतिशत महिला र २० प्रतिशत पुरुष हुन्।
 
Published on: 3 April 2016 | Nagarik

Back to list

;