s

इजरायल रोजगारीमा नर्सलाई प्राथमिकता

 
काठमाडौं- इजरायल जान नर्स, अनमी र सिएमए अध्ययन गरेका छनोटमा परेपछि निकै लामो समयदेखि केयर गिभर तालिम लिएर बसेका महिलाहरू निरास भएका छन्। बहुप्रतिक्षित इजरायल जान वैदेशिक रोजगार विभागले दरखास्त माग गर्दा केयर गिभरको तालिम लिएकालाई समेटे पनि अन्तिम समयमा भने केयर गिभरको तालिम लिएका कुनै पनि उम्मेदवार छनोटमा परेका छैनन्।
पहिलो चरणमा ६० जनालाई इजरायल पठाउने तयारी गरेको विभागले प्रकाशित गरेको एक सय जनाको नामावलीमा केयर गिभरको तालिम लिएका कसैको नाम छैन। उक्त नतिजा सार्वजनिक भएलगत्तै ठूलो संख्याका उम्मेदवारले अन्याय परेको गुनासो गरेका छन्। तीन महिना केयर गिभरको तालिम लिएको प्रमाणपत्र पेश गरेकाहरूको निवेदन अस्वीकृत गरेको जानकारी पाएपछि दैनिक ५० जना भन्दा बढी विभागमा पुगेर गुनासो गर्ने गरेको एक कर्मचारीले बताए।
 
केयर गिभरको काम गर्न इजरायल जान २०६८ सालदेखि तयारी गरेको बताउने बारा, निजगढकी गंगादेवी प्रसाई थापाले विभागले प्रकाशित गरेको नतिजा देख्दा अचम्म लागेको गुनासो गरिन्। 'दरखास्त माग्ने बेला केयर गिभरको तालिम लिएका पनि इजरायल जान पाउने उल्लेख थियो,' उनले भनिन्, 'तर, विभागले प्रकाशित गरेको नतिजामा केयर गिभरको तालिम लिएका कोही पनि सफल भएनन्।' तीन महिने केयर गिभरको तालिम लिनदेखि लिएर मेडिकल जाँच तथा प्रहरी प्रतिवेदन बनाउन र काठमाडौंको बसाइँमा दुई लाख रुपैयाँ भन्दा बढी खर्च भएको थापाले बताइन्। उनले भनिन्, 'इजरायल जाने नाममा पुर्ख्यौली सम्पत्ति उडाइँयो। तर, अहिले केयर गिभरको तालिम लिएकालाई मान्यता दिइएन भन्ने सुन्दा निरास बनायो।'
 
सुरुमा केयर गिभरको तालिम लिएकाहरूले पनि इजरायल जान पाउने भन्दै निवेदन संकलन गरेको विभागले अन्तिम समयमा केयर गिभरका लागि आवश्यक पर्ने तीन महिना नपुगेको भन्दै उनीहरूको प्रमाणपत्रलाई अस्वीकृत गरेको थियो। केयर गिभर तालिम लिएको प्रमाणपत्र पेश गरेकाहरूले निवेदन लिने बेला योग्य हुने तर परीक्षा दिनेबेला अयोग्य हुने विभागको निर्णय अन्यायपूर्णको दाबी गरेका छन्। धनकुटा, सल्लेकी भीममाया पूर्वछानेले इजरायलको लोभले घरमा समेत संकट उत्पन्न भएको दुःखेसो गरिन्। 'हुँदाहुँदा अर्कोपटकको परीक्षामा समेत हामीहरू सहभागी हुन नपाउने भनिँदैछ,' पूर्वछानेले भनिन्, 'यस्तो हो भने हामीले खर्च गरेको रकम र समयको जिम्मेवार विभागले लिनुपर्छ।'
 
२०६८ सालमा केयर गिभरको तालिम लिएकी तेह्थुम आठराईकी नविना प्रसाईले परीक्षा लिने बेला केयर गिभरको तालिम लिएकालाई अयोग्य घोषणा गरिनु बेठीक भएको तर्क गरिन्। इजरायलमा घरायसी काम गर्न र वृद्धवृद्धाको हेरचाहमा सामान्य सीप भएका महिला योग्य हुने भए पनि नेपाल सरकारले नर्स, अनमी र सिएमए अध्ययन गरेकालाई पठाएर दक्ष जनशक्ति विदेश पठाउन खोजेको पीडितहरूले दुःखेसो गरेका छन्। 'घर सफा गर्नदेखि लिएर वृद्धवृद्धालाई हेरचाह गर्न स्वास्थ्य सम्बन्धी दक्ष जनशक्तिलाई विदेश पठाउँदा त्यसको असर स्वदेशमा पर्छ भन्नेबारेमा सरकारी अधिकारीले बुझेको देखिएन,' पाँचथर लिम्बाकी मायादेवी आचार्य रेग्मीले भनिन्।
 
केयर गिभरको तालिम लिएकाको दरखास्त अस्वीकृत गरेपछि विभागले नर्सिङ, सिएमए र अनमी पढेका एक सय ३९ जनाको फाइल इजरायली दुतावासमा पठाएको थियो। विभागले सिफारिस गरेका एक सय ३९ उम्मेदवारमध्ये इजरायली दुतावासले एक सय जना छनोट गरेको हो। विभागका प्रवक्ता जनकराज रेग्मीले इजरायली दुतावासले छनोट गरेका एक सय जनामध्ये माघ १९ गते लिखित र मौखिक परीक्षा लिएर ६० जनाको अन्तिम नामावली तयार गरिने जानकारी दिए। 'छनोटको सबै प्रक्रिया इजरायली अधिकारीले गरिरहेका छन्,' उनले भने, 'विभागले केवल समन्वयकारी भूमिका खेलिरहेको हो।'
 
जिटुजी (दुवै देशका सरकार) प्रक्रियाबाट इजरायल पठाउने तयारी भएपछि केयर गिभरको तालिम लिएका र नर्सिङ, सिएमए तथा अनमी अध्ययन गरेकासहित आठ सय १८ ले निवेदन दिएका थिए। जसमध्ये विभागले एक सय ३९ जनाको मात्र प्रक्रिया अघि बढाएको थियो। नेपालमा अहिलेसम्म केयर गिभरको तालिम प्रदान गर्न १९ वटा संस्थालाई अनुमति दिइएको छ। जिटुजी प्रक्रियाबाट कामदार लैजाँदा वैदेशिक रोजगारी बढी उपलब्धी हुने भन्दै गत असार २१ गते इजरायल र नेपाल सरकारबीच कामदार पठाउनेबारे सम्झौता भएको थियो। कामदारका लागि इजरायल बढी सुरक्षित हुनुको साथै पारिश्रमिक पनि राम्रो पाउने भएका कारण त्यहाँ धेरै युवायुवती जान खोज्छन्। इजरायल जान सरकारले लागत खर्च करिब एक लाख रुपैयाँ तोकेको छ भने रोजगारदाताले मासिक एक लाख रुपैयाँ तलब दिनुको साथै बस्ने र खाने सुविधा उपलब्ध गराउने भएका कारण धेरै कामदारले इजरायल पर्खेर बसेका थिए। खाडी मुलुक र मलेसियाको तुलनामा इजरायल कामदारका लागि बढी सुरक्षित देश भएको सरकारी अधिकारी बताउँछन्।
 
यता, केयर गिभरको तालिम दिने संस्थाका प्रतिनिधिहरू भने नेपाल सरकार र इजरायल सरकारबीच गत असार २१ गते नेपाली कामदार पठाउने सम्झौता हुनु अघिसम्म केयर गिभरको पाठ्यक्रम एक महिनाकै भएको तर अहिले आएर तीन महिनाको बनाउँदा समस्या सृजना भएको बताउँछन्। इजरायल जान कामदारको उमेर २५ देखि ४५ वर्ष ननाघेको, १.४ मिटर अग्लो तथा ४५ केजी तौलभन्दा कमी हुन नहुने लगायतका मापदण्ड तोकिएको छ। पहिलो चरणमा जाने ६० जनाको कार्यशैली हेरेर अबका दिनमा इजरायलको कोटा निर्धारण हुने रेग्मीले जानकारी दिए। 'चाँडै जाने ६० जनाले इजरायलमा कस्तो प्रभाव देखाउँछन्। त्यसमै इजरायलको रोजगारी भर पर्छ,' उनले भने। गत असारमा इजरायल र नेपाल सरकारबीच सम्झौता हुँदा भने एक वर्षभित्र तीन सय जनालाई इजरायलमा रोजगारी प्रदान गरिने सहमति भएको थियो।
 
Published on: 1 February 2016 | Nagarik

Back to list

;