s

इजरायलबाट ३ सयुको माग

नेपाल र इजरायलका म्यानपावर एजेन्ट कम्पनी मिलेर चर्को रकम उठाएको विवादमा बन्द भएको मुलुक इजरायलले परीक्षणका रूपमा खोल्ने भएको छ । इजरायल सरकारले सरकारी तह -जिटुजी अन्तर्गत पहिलो पटक ३ सय केयरगिभर लैजाने नेपालसँग प्रस्ताव राखेको छ । प्रस्तावबारे निर्णय भइसकेको छैन ।

'हामीले जिटुजी होस् वा प्राइभेट टु प्राइभेट दुवै विकल्प खुला राखेका छौं,' इजरायली समकक्षीसँग वार्ता गरेर फर्किएका श्रम मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठले कान्तिपुरसँगको कुराकानीमा भने, 'पाइटल टेस्ट -नमुना परीक्षण) का रूपमा उनीहरूले ३ सय केयरगिभर लैजाने भनेका छन्, निर्णय भइसकेको छैन ।'

इजरायलमा चुनाव भएर सरकार गठन नभइसकेकाले अहिले यो प्रस्तावका रूपमा छ । सरकार बनेपछि इजरायलले निर्णय पठाउने छ । इजरायलले प्लस टु गरेका र अनमी तालिम लिएकालाई केयरगिभरमा जोड दिएको छ । नेपाली टोलीले एसएलसीसम्म लिन भनेको छ ।

साढे ६ वर्षदेखि केयर गिभरमा कार्यरत सिन्धुली घर भई इमाडोल ललितपुर निवासी नानु घिमिरे काजलले इजरायलको रोजगारी आकर्षक भएकाले रोक्न नहुने सुनाउँछिन् । 'यहाँ केयरगिभरको आधारभूत तलब ३६ सय र हरेक महिना पकेट खर्च ४ सय गरी ४ हजार -करिब ९३ हजार रुपैयाँ) हुन्छ,' उनले भनिन्, 'पहिला नेपालबाट आउनेसँग बढी रकम लिएकाले बन्द भयो, अब त्यस्तो नहोस् ।'

नेपालले इजरायलका लागि कामदार पठाउँदा कामदारसँगबाट सबै सेवा शुल्कसहित ७५ हजार रुपैयाँ र हवाई टिकटको रकम लिन पाउने नियम बनाएको छ । तर म्यानपावर व्यवसायी र एजेन्टले पछिल्लो समय महिला कामदारसँग ५ देखि ७ लाख रुपैयाँ र पुरुषसँग ६ देखि ९ लाख रुपैयाँसम्म लिने गरेकाले इजरायले दुई वर्षदेखि भिसा बन्दै गरेको छ । 'इजरायल खुल्यो भन्दै अहिले पनि अवैध असुली बढेको छ,' सचिव श्रेष्ठले भने, 'त्यसरी रकम लिनु अवैध हो, कारबाही हुन्छ।'

Published on: 2 March 2013 | Kantipur

Back to list

;