s

इराकमा रहेका नेपाली भन्छन्- ‘चिन्ता छ तर आत्तिएका छैनौं’

होम कार्की

अमेरिका र इरानबीचको बढ्दो तनावले इराकमा पुन: युद्ध भड्किने सम्भावनाले त्यहाँ कार्यरत नेपाली कामदार चिन्तित देखिएका छन् । इराकमा झन्डै २५ हजार नेपाली छन् ।
 
युद्धको अवस्था आउन सक्ने भन्दै केही देशले सतर्क गराउन थालेपछि इराकमा कार्यरत नेपालीमा चिन्ता बढेको हो । अमेरिकाले इराकको बग्दाद र इराकभित्रै रहेको स्वतन्त्र प्रशासित कुर्दिस्तानको अर्विलमा रहेका आपतकालीन क्षेत्रमा कार्यरतबाहेक सबै कूटनीतिक कर्मचारी तथा नागरिकलाई फिर्ता बोलाएको छ । बहराइनले पनि युद्धको अवस्था बढ्दै गएको भन्दै इरान र इराकमा रहेका आफ्ना नागरिकलाई स्वदेश फिर्न आह्वान गरेको छ ।
 
‘मिडियामा इरान र अमेरिकाबीच लडाइँ भए इराक चपेटामा पर्छ भन्ने खबर आइरहेका छन्,’ सुलेमानियाँस्थित गैरआवासीय नेपाली संघका सल्लाहकार लालकाजी गुरुङले कान्तिपुरलाई भने, ‘यहाँका नेपाली डराइहालेका भने छैनन् ।’उनले नेपाल सरकारले यस विषयमा बेलैमा सतर्क गराउनुपर्ने बताए । ‘इराकमा नेपालीलाई प्रतिबन्ध छ । कुर्दिस्तानलगायत क्षेत्र बग्दादजस्तो असुरक्षित होइन,’ उनले भने, ‘भोलि केही भए हामीले कसलाई सम्पर्क गर्ने भन्ने विषयमा सरकारले केही प्रबन्ध मिलाएको देखिन्न ।’
 
कुर्दिस्तानस्थित प्रवासी नेपाली समाजका अध्यक्ष कमल तामाङ वाइवाले प्रवासी श्रमिकहरूबीच सूचना आदानप्रदान भइरहेको बताए । ‘इराककै संस्थाले बदलिँदो समयबारे जानकारी दिन हामीलाई बोलाएको थियो । उनीहरूले केही हुँदैन, ढुक्क भएर काम गर्नू भनेका छन् । केही भइहाले उद्धारमा सहयोग गर्ने आश्वासन दिएका छन्,’उनले भने ।
 
आठ वर्षदेखि इराकमा कार्यरत वाइवाका अनुसार कुर्दिस्तान क्षेत्रभित्र रहेको अर्विल, सुलेमानी, दोहक क्षेत्रमा झन्डै १३ हजार नेपाली कार्यरत छन् । बाँकी इराकको बग्दाद, टिर्किस र बसारा क्षेत्रमा छन् । चार वर्षदेखि कुर्दिस्तानमा कार्यरत जुगल गाउँपालिकाका रितु श्रेष्ठले आत्तिहाल्नुपर्ने अवस्था नआएको बताइन् ।‘मालिकले हल्लाबाट डराउनुपर्दैन भन्नुभएको छ । युद्ध हुने निश्चित पनि छैन । युद्ध भए तुरुन्तै घर पठाइदिन्छौं भन्नुभएको छ,’ श्रेष्ठले कान्तिपुरलाई भनिन्, ‘अरू घरमा काम गर्ने साथीहरूलाई पनि मालिकले यस्तै भनेर सम्झाइरहेका छन् ।’
 
इराक मामिला हेर्ने कुवेतमा रहेका नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले इराकको बदलिँदो अवस्था मूल्यांकन गरिरहेको बताए । ‘इराकमा रहेका नेपालीसँग दूतावासले नियमित सम्पर्क गरिरहेको छ । त्यहाँको बदलिँदो वातावरणबारे परराष्ट्र मन्त्रालयलाई प्रतिवेदन पठाइरहेका छौं,’ उनले भने, ‘दूतावासको सम्पर्कमा बसिराख्न नेपालीलाई आग्रह गर्छौं ।’ 
 
Published on: 22 May 2019 | Kantipur

Back to list

;