s

इराकमा नेपाली युवती २ हजार डलरमा ‘किनबेच’

नवराज मैनाली

इराकमा २ हजार डलरमा नेपाली युवती ‘किनबेच’ हुने गरेको खुलेको छ । नेपाली युवती इराक लगेर बिक्री गर्ने दम्पतीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेपछि घटना बाहिरिएको हो ।

पक्राउ परेका नारायण बस्नेत र उनकी श्रीमती लक्ष्मीले नेपाली युवतीलाई इराक लगेर २ हजार डलरमा बिक्री गरेको प्रहरीले जनाएको छ । सिआइबीका प्रवक्ता एसपी उमाप्रसाद चतुर्वेदीका अनुसार लक्ष्मी नेपालमै बसेर इराक जाने युवती खोज्ने र श्रीमान् नारायण नयाँदिल्लीमा बसेर सेटिङ मिलाउने काम गर्थे ।

बस्नेतदम्पतीको गिरोहमा अन्य व्यक्ति पनि रहेको र उनीहरू फरार रहेको प्रहरीले जनाएको छ । नारायण र लक्ष्मीविरुद्ध भने मानव बेचबिखन र संगठित अपराधको मुद्दा सँगसँगै अघि बढाएको छ । वैदेशिक रोजगारीमा पठाउने भन्दै ग्रामीण क्षेत्रका युवतीलाई झुक्याएर उनीहरूले बिक्री गर्दै आएका थिए । यो समूहका नाइके पनि नेपाली नै रहेको र इराकमै बस्दै आएको प्रहरीले बतायो ।

मजदुरका रूपमा बिक्री गरिएका नेपाली युवतीमाथि शोषण हुने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । उनीहरूलाई महिनौँसम्म तलब नदिने र घरमा फोन गर्नसमेत नदिने गरिएको छ । आफूहरूले किनेर ल्याएकाले पैसा फिर्ता दिए मात्र घरबाट निस्कन दिने भन्दै मालिकले कुट्ने गरेको भागेर नेपाल फर्किएका कतिपय युवतीले प्रहरीलाई बताएका छन् ।

यसरी हजारौँको संख्यामा नेपाली महिला इराक पुगेका छन् । कतिपयले भने न्यूनतम तलबमा काम गरिरहेका छन् । नेपाल प्रहरीले यस्तो गिरोहका नाइकेलाई पक्राउ गर्न इराकसँग सहयोग मागे पनि उसले सहकार्य गरेको छैन । इराक मात्र नभई सिरिया, ओमन, कुवेतलगायत देशमा पनि तस्करबाट नेपाली युवतीको ओसारपसार हुने गरेको छ ।

बेचिन लागेकी युवती नयाँदिल्लीबाट उम्केर नेपाल आएपछि खुल्यो पोल

इराक लैजाने क्रममा एक युवती नयाँदिल्लीबाट भागेर नेपाल आएपछि नारायण बस्नेत र उनकी श्रीमती लक्ष्मीको धन्दाको पोल खुलेको हो । ती युवतीले नेपाल आएलगत्तै प्रहरीमा उजुरी दिएकी थिइन् । त्यसपछि उनीहरूलाई सिआइबीले नेपालमै पक्राउ गरेको हो । उनीहरूबाट इराकमा बेचिएका अन्य युवती उजुरी दिने तयारीमा छन् । यसअघि झापा र उदयपुरमा समेत बस्नेतदम्पतीविरुद्ध मानव बेचबिखनसम्बन्धी उजुरी परेको थियो ।

दिल्ली दूतावासमा सेटिङदेखि इराकको सेल्टरमा मोलमोलाइसम्म

नेपालको विमानस्थलबाट भिजिट भिसामा कडाइ भएपछि मानव तस्करीमा संलग्न समूहले भारतलाई ट्रान्जिटका रूपमा प्रयोग गर्दै आएका छन् । त्यसैले भारतबाट तेस्रो देश जान नेपालीले ‘नो अब्जेक्सन लेटर’ (एनओसी) लिनुपर्ने नियम लागू गरिएको छ । तर, मानव तस्करीमा संलग्न गिरोहले दिल्लीस्थित दूतावासमै सेटिङ मिलाएर एनओसी लिने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । दूतावासबाटै एनओसी लिएरै उडेका युवती पनि इराकमा बेचिएको खुलेको छ ।

भारतबाट दुबई लैजाने र त्यहाँबाट सजिलै इराक पुर्‍याउने गरिएकोमा पछिल्लो समय एनओसीमा कडाइपछि दिल्लीबाट म्यानमार हुँदै मध्यपूर्वी एसियाली देशमा लैजाने गरिएको सिआइबीले जनाएको छ । अनुसन्धानमा आबद्ध सिआइबीका एक अधिकारीका अनुसार इराक पुर्‍याएपछि तस्कर गिरोहले युवतीलाई आफ्नो सेल्टरमा राख्छन् । त्यहीँ युवती छान्न मालिकहरू आउँछन् । तस्करले युवतीको रेट तोकेर बिक्री गर्ने गरेको अनुसन्धानमा खुलेको छ । सामान्यतया दुई हजार डलरमा उनीहरूको बिक्री हुने गरेको उनले बताए । राम्रो पैसा आउने भएपछि तस्करले आफ्नै खर्चमा युवतीहरू इराक पुर्‍याउने गर्छन् ।

उद्धार गरिएका महिला भन्छन्, ‘बरु उटै मर्छाैँ, देशमा के गरेर बस्नू ?’

कतिपय पीडित महिला त तस्करीकै पक्षमा हुँदा अनुसन्धानमा गाह्रो भएको प्रहरीले जनाएको छ । गत साता भारतबाट उद्धार गरिएका एक सय ७९ मध्ये अहिलेसम्म कसैले प्रहरीमा उजुरी गरेका छैनन् । उनीहरूले तस्करीमा संलग्नहरूमाथि उजुरी दिन अस्वीकार गरेका छन् । म्यानमार हुँदै मध्यपूर्वी एसियाका देशमा पुर्‍याउन लागिएका उनीहरूलाई भारतको मणिपुरबाट उद्धार गरी नेपाल ल्याइएको थियो ।

आफूहरू स्वेच्छाले त्यहाँ जान लागेको र आफूहरूलाई रोके प्रधानमन्त्रीनिवासअगाडि धर्ना बस्ने उनीहरूको चेतावनी छ । आफ्नो व्यक्तिगत अधिकारसमेत हनन भएको उनीहरूको भनाइ छ । त्यसरी जान लागेकामध्ये कतिपय विगतमा अवैध तरिकाले ती देशमा पुगेर फर्किएकासमेत छन् । ‘उद्धार गरेर ल्याएका धेरैलाई अभिभावकको जिम्मा लगाइएको छ,’ सिआइबीका एसपी उमाप्रसाद चतुर्वेदीले भने, ‘केही दिनपछि उजुरी दिन आउँछौँ भनेका छन्, तर कसैको उजुरी परेको छैन ।’

यसअघि भारतबाट उद्धार गरिएकाले पनि उजुरी दिन मानेका थिएनन् । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा पीडित नभई प्रहरीले मुद्दा चलाउन सक्दैन । तर, पीडितबाट उजुरी नआउँदा अनुसन्धानमा समस्या भएको प्रहरीले जनाएको छ ।

बैंक ठग्न खोज्ने दुई पक्राउ

गलत विवरणका आधारमा कर्जा लिई बैंकलाई ठग्न खोज्ने दुईजना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले प्रेमबहादुर भण्डारी र सम्बोधीरत्न शाक्यलाई पक्राउ गरेको हो ।

उनीहरूले एउटा जग्गा देखाएर अर्काे जग्गा धितो राखी एक करोड ३० लाख रुपैयाँ कर्जा लिने प्रयास गरेका थिए । त्यसका लागि नक्कली नक्सा बनाएर पेस गरेका थिए । जग्गाको मूल्यांकनका क्रममा फिल्डमा जाँदा नक्साअनुसार जग्गा नपुगेपछि शंका लागेर छानबिन गर्दा नक्सा नक्कली भएको खुलेको हो । सिआइबीले सरकारी छाप तथा दस्तखत किर्ते मुद्दामा उनीहरूविरुद्ध कारबाही अघि बढाएको छ ।

दूतावासमा पनि दलालको सेटिङ

नेपालको विमानस्थलबाट भिजिट भिसामा कडाइ भएपछि मानव तस्करीमा संलग्न समूहले भारतलाई ट्रान्जिटका रूपमा प्रयोग गर्दै आएका छन् । सोही कारण भारतबाट तेस्रो देश जान नेपालीले ‘नो अब्जेक्सन लेटर’ (एनओसी)लिनुपर्ने नियम लागू गरिएको छ । तर, मानव तस्करीमा संलग्न गिरोहले दूतावासमै सेटिङ मिलाएर एनओसी लिने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

दूतावासबाट एनओसी लिएरै उडेका कतिपय महिला इराकमा बेचिएका छ्न । भारतबाट दुबई लैजाने र त्यहाँबाट सजिलै इराक पुर्‍याउने गरिएको छ । पछिल्लो समय एनओसीमा दूतावासले कडाइ गरेपछि भारतबाट म्यानमार हुँदै मध्यपूर्वी एसियामा लैजाने गरिएको सिआइबीले जनाएको छ ।

Published on: 1 March 2019 । Nayapatrika

Back to list

;