s

इराकमा 'हत्या गरिएकी' चेलीको परिवार भेटिएन

प्रतिबन्धित मुलुक इराकमा काम गर्न गएकी धादिङ, तिप्लिङ-६ की सुमिता तामाङको एक महिनाअघि हत्या भएको सूचना परराष्ट्रमा आए पनि तामाङको घर-ठेगाना पत्ता लाग्न सकेको छैन ।

राजधानी बग्दाद नजिकैको जादिर्यामा एक इराकीको घरमा काम गर्ने सुमितालाई मार्च २८ (चैत १५) को बिहान ६ बजे भान्सामा काम गरिरहेका बेला घर मालिककै छोराले छुरा प्रहार गरी हत्या गरेका थिए । मानसिक सन्तुलन ठीक नभएको छोराले निर्मम ढंगले हत्या गरेको र उनको शव स्थानीय अस्पतालमा राखेको जानकारी परराष्ट्रको कन्सुलर शाखा र इराक मामला हेर्ने इस्लामाबाद नियोगसमक्ष दर्तामा छ । 'तर धादिङको जिल्ला प्रशासन कार्यालयमार्फत मृतक सुमिताको घर-ठेगाना पहिल्याउन खोजिए पनि तिप्लिङ-६ मा उनलाई चिन्ने कोही पाइएन,' परराष्ट्रका एक अधिकारीले भने । २३ वर्षीया सुमिताको बुबाआमाको नाम दुर्गा र सुष्मा तामाङ रहेको र सोही आधारमा घरको पहिचान गरेर शव फर्काउने कूटनीतिक प्रयासका लागि पहल थालिएको एक महिना भइसकेको छ । तर सुमिता तामाङका नाममा अरू कसैको नक्कली पासपोर्ट (पीसी) प्रयोग गरिएको हुन सक्ने अनुमान परराष्ट्रले गरेको छ ।

यो घटनाबारे जानकार रहेका गैरआवासीय नेपाली संघ, इराकका अध्यक्ष लालकाजी गुरुङले दुई वर्षको काम गर्ने सम्झौता सकिएपछि २३ वषर्ीया सुमितालाई गत चैतको दोस्रो साता जादि्रयास्थित नयाा घरमा ल्याइएको जानकारी दिएका थिए । उनका अनुसार इराकमा हाल ३० हजारभन्दा बढी नेपाली रहेकामा ५ हजारजति महिला छन् । इराकभित्र पनि स्वतन्त्र राज्यझैं रहेको कुर्दिस्तान, अरबिल र सुलेमानिया आसपासमा अधिकांश नेपाली युवती कार्यरत रहेको गुरुङले बताए । अढाई वर्षअघि अमेरिकी सेनाको कन्ट्रोल कमान्डले इराकमा कार्यरत गैरकानुनी कामदारहरूलाई २० दिनभित्र इराक छाड््न आदेश दिएपछि नेपाल सरकारले मन्त्रीस्तरमा निर्णय गरेर २०६७ साउन १२ मा इराकमाथिको 'प्रतिबन्ध फुकुवा' गरेको थियो । तर कागजी अर्थमा मात्रै रहेको यो फुकुवापछि अहिलेसम्मै कुनै नेपाली अध्ययन टोली बग्दाद जान सकेको छैन । इराक मामला हेर्ने इस्लामाबादस्थित राजदूतले समेत बग्दाद गएर आफ््नो ओहोदाको प्रमाणपत्र बुझाउन सकेका छैनन् । इराकी भूमिमा १२ नेपालीको नृशंस हत्या भएपछि २०६१ भदौ १६ देखि यो मुलुक प्रतिबन्ध सूची' मा छ ।

Published on: 2 May 2013 | Kantipur

Back to list

;