s

इराकका क्याम्पबाट विदेशी फर्काउन सुरु, ७ नेपाली फर्किए

नेपालीसँग सम्पर्क बढाइरहेका छौं : दूतावास

होम कार्की

काठमाडौँ — इराकको राजधानी बग्दादस्थित अमेरिकी बेस क्याम्पमा रहेका नेपालीसहित विदेशी कामदारलाई आ–आफ्नो देश फर्काउन थालिएको छ । उक्त क्याम्प सुरक्षाका हिसाबले उच्च जोखिममा पर्छ । क्याम्पभित्र करिब दुई सय नेपाली कार्यरत छन् ।

अमेरिकी आक्रमणमा इरानी जर्नेल कासिम सुलेमानी र इराकी विद्रोही समूह कताइब हेजबुल्लाह नेता अबु महदी अल–मुहान्दिस मारिएपछि आक्रोशित स्थानीयले अमेरिका र इजरायलको विरोधमा सोमबार इराकको बसरामा गरेको प्रदर्शन । तस्बिर : रोयटर्स

 

इरान र अमेरिकाबीच तनाव चुलिएपछि बग्दादस्थित अमेरिकी सेनाका लागि सहयोगीको काम गरिरहेका कम्पनीले आवश्यक कामदार राखेर बाँकीलाई आइतबारदेखि पठाउन थालेका हुन् । आइतबार र सोमबार फर्काइएको टोलीमा नेपाली सात जना छन् । ‘कम्पनीले हामीलाई जतिखेर पनि फर्काउने अवस्थामा तैनाथ गरेर राखेको छ,’ अमेरिकी बेस क्याम्पभित्र स्टोर म्यानेजरका रूपमा कार्यरत सुरज तामाङले कान्तिपुरसँग फोनमा भने, ‘आ–आफ्नो लगेज प्याक गरेर राखिसकेका छौं ।’ १२ वर्षदेखि क्याम्पमा कार्यरत तामाङले कम्पनीबाट खबर आउनेबित्तिकै इराक छोड्ने तयारीमा आफूहरू रहेको बताए । ‘जतिखेर जे पनि हुन सक्छ भनेर हामीलाई सूचना दिइएको छ,’ उनले भने, ‘अमेरिकी सेना र हाम्रा लागि अपनाइएको सुरक्षा रणनीति एउटै हो ।’ उनका अनुसार अमेरिकी बेस क्याम्पभित्र धेरै कम्पनी काम गर्छन् । ती कम्पनीले अत्यावश्यक संख्याका कामदारमात्र राखेर बाँकीलाई सामान्य अवस्था बनेपछि बोलाउने सर्तमा फर्काइरहेका छन् ।

‘स्थिति यसरी प्रतिकूल भइदिन्छ जस्तो लागेको थिएन,’ अमेरिकी सेनाको कफी सपमा कार्यरत दोलखाका बद्री खत्रीले भने, ‘अहिलेसम्म सुरक्षित छौं, यहाँबाट छिटो निस्कन पाए हुन्थ्यो ।’ उनी काम गर्ने कफी सप तीन दिनदेखि बन्द छ । ‘सेनाकै अन्डरमा काम गर्ने भए पनि डर लाग्दो रहेछ,’ उनले भने ।

क्याम्पभित्र नेपालीहरू खाना बनाउने, सरसफाइ गर्ने र निर्माण कार्यमा संलग्न छन् । ‘यहाँ मासिक ८ सय डलर पाइन्छ । पहिला त ठीकै थियो, एक्कासि अवस्था बिग्रियो,’ खत्रीले भने । उनका अनुसार क्याम्पबाट बाहिर निस्कने अनुमति छैन । भित्र पनि सबै ठाउँमा जाने पहुँच हुँदैन । त्यसकारण क्याम्पभित्रकै सबै नेपालीसँग भेटघाट हुन पाउँदैन ।

अमेरिकी बेस क्याम्पबाहिर कार्यरत नेपालीलाई भने रोजगारदाता कम्पनीले नआत्तिन भनेको छ । ‘कम्पनीले सुरक्षाको जिम्मेवारी लिएको छ । तलमाथि केही परे तुरुन्तै पठाइदिने वचन दिएका छन्,’ बग्दादस्थित गोरल होटलमा ९ वर्षदेखि कार्यरत गोरखाका जितमान गुरुङले फोनमा भने, ‘ढुक्कसँग काम गरिरहेका छौं ।’ उक्त होटलमा १६ जना नेपाली कार्यरत छन् ।

अवस्था प्रतिकूल बनेपछि होटलमा विदेशी पाहुना आउनेक्रम घटेको छ । बेबिलोन होटलमा कार्यरत गोरखाका कुन्दन घलेले भने, ‘हामी नियमित ड्युटीमै छौं । कम्पनीबाट चिन्ता लिनुपर्ने अवस्था छैन भनिरहेको छ,  यही कुरा हामीले परिवारलाई सुनाएका छौं ।’ बेबिलोनमा करिब सय नेपाली कार्यरत छन् । बग्दादबाट टाढा इराकको वार्सास्थित गल्फ क्याटेरिङ कम्पनी (जीसीसी) का क्याम्पबोस झापाका बाला पाण्डेले आफूहरूलाई कम्पनीले सुरक्षाको योजनासहित राखेको बताए । ‘यहाँ २५ नेपाली र अरू विदेशी छन्,’ उनले भने ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इराकमा रहेका नेपालीबारे सूचना संकलन गर्न सोमबार संयन्त्र बनाएको छ । इराक मामिला हेर्ने कुवेतस्थित नेपाली दूतावासले पनि इराकमा रहेका नेपालीसँग सम्पर्क बढाइरहेको छ । ‘नेपाली कामदारसँग सम्पर्क बढाई सूचना लिने काम गरिरहेका छौं,’ कुवेतका लागि नेपाली राजदूत दुर्गाबहादुर भण्डारीले कान्तिपुरसँग भने ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले सम्बन्धित क्षेत्रलाई नजिकबाट हेरेर आवश्यक सूचना उपलब्ध गराउन निर्देशन दिइएको बताए । उक्त निर्देशनअनुसार मन्त्रालयलाई नियमित जानकारी पठाइरहेको दूतावासले जनाएको छ।

Published on: 7 January 2020 | Kantipur

Link

Back to list

;