s

इराक जान खोज्ने ७ बंगलादेशीलाई ‘इन्ट्री रिफ्युज’

 शम्भु कट्टेल

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरी इराक जान खोज्ने ७ जना बंगलादेशीलाई अध्यागमन कार्यालयले फिर्ता (इन्ट्री रिफ्युज) गरेको छ । अध्यागमनले चैत २१ गते विमान बंगलादेशबाट काठमाडौं हुँदै इराक जान खोज्ने बंगलादेशी एमडी सलिम, अबुल होसिन, अल अमगिर होसिन, मोहम्मद रउसन बाबु, नापुर शेख, अब्दुल आरिफ र नुर मोहम्मदलाई ढाका फिर्ता गरेको हो ।

ढाकाबाटै नगई नेपाललाई ट्रान्जिट बनाउन खोजेपछि शंकास्पद भन्दै अध्यागमनले उनीहरूलाई फिर्ता पठाएको हो । उनीहरूको यात्रा शंकास्पद देखिएपछि अध्यागमनले सोधखोज गरेको थियो । विमानस्थल अध्यागमन कार्यालय प्रमुख होमनाथ थपलियाले ७ बंगलादेशीको यात्रा शंकास्पद देखिएकाले ढाका फिर्ता गरिएको बताए । उनले भने, ‘नेपाललाई ट्रान्जिट बनाउन खोजेकाले उनीहरूलाई इन्ट्री रिफ्युज गरेका हौं ।’ उनीहरूलाई सोही दिन फिर्ता गर्न नसकेको र एक दिनपछि चैत २२ गते अध्यागमनले उनीहरूलाई फिर्ता पठाइएको हो । त्यसरी नेपाललाई ट्रान्जिट बनाई अन्य देश जाने दाउमा धेरै विदेशी हुनसक्ने गृह मन्त्रालयका एक अधिकारीले बताए ।
 
बंगलादेशीहरूले विमानस्थलको ट्रान्जिट कक्ष प्रयोग नगरी केही दिन नेपाल बसाइपछि इराक जाने तयारी गरेका थिए । उनीहरू नेपाल प्रवेश गर्ने प्रयासमा थिए तर अध्यागमनले भिसा दिन इन्कार ग¥यो र बंगलादेश नै फर्काइदियो । उनीहरूसँग नेपालसम्मको मात्र हवाई टिकट थियो र इराकको भिसा भए पनि त्यहाँ जाने हवाई टिकट थिएन । हवाई टिकट भएको भए उनीहरू सहजै काठमाडौं विमानस्थलको ट्रान्जिट कक्ष प्रयोग गरी इराक जाने थिए । उनीहरूले केही दिन काठमाडौं बस्नु पर्ने कुनै कारण समेत दिन सकेनन् । उनीहरूले मानव तस्करको सेटिङमा इराक जान नेपाली विमानस्थल प्रयोग गरेको हुन सक्ने देखिएको छ । नेपालको रुट प्रयोग गर्नुभन्दा उनीहरूलाई आफ्नै देशबाट इराक जान सहज हुने जानकारहरू बताउँछन् ।
 
कुनै पनि बंगलादेशी नेपाल हुँदै अन्य देश जान चाहे काठमाडौंस्थित बंगलादेशी दूतावासबाट अनिवार्य ‘नो अब्जेक्सन’ पत्र लिनु पर्छ । ती ७ बंगलादेशीसँग ‘नो अब्जेक्सन’ पत्र नभएकाले उनीहरूको यात्रा शंकास्पद देखियो ।
 
Published in: 9 April 2018 | Annapurna Post

Back to list

;