s

इराकी जेलमा ५५५ दिन

देवेन्द्र भट्टराई


धन कमाउने सपना मनभरि बुनेर २०११ मार्च १ तारिखमा काठमाडौं छाडेका चितवनका गोपाल शर्मा अम्गाईसँग कागजात, भिसा वा अरू केही निस्सा-प्रमाणको दह्रो सहारा थिएन । उनी युएईको दुबईतर्फ उड्दै थिए । त्यहाँबाट कि अफगानिस्तान अथवा कुवेत, नभए इराक जाने पक्कापक्की थियो । चितवनको क्षेत्रपुर गाउँदेखि सुरु भएको एजेन्टहरूको जालोमा एक/दुईको मात्रै नाम जोडिएको थिएन, काठमाडौं-दुबइ हुँदै अन्तर्राष्ट्रिय जगत्का दर्जनभन्दा बढी सेटिङ-एजेन्टको नाम उनीसँग थियो । त्यही भएर वैदेशिक रोजगारीको 'रामभरोसा' पनि तिनै एजेन्ट थिए । यो चक्रावातमा परेर गोपालले गाउँघरमा ऋणधन गरेर अढाई लाख रुपैयाँ एजेन्टहरूलाई बुझाइसकेका थिए । तर दुई महिनाभन्दा बढी -मे ८) सम्म दुबईमै अल्झेपछि मात्रै 'म ठगिएछु' भन्ने उनले पत्तो पाए ।

'अफगानिस्तान जाने हो भने १ लाख रुपैयाँ थप्नुपर्छ, होइन भने इराक जाउ', महिनौं दुबईको भित्री गल्लीमा रहेको अँध्यारो कोठामा बन्दीझैं बनेपछि त्यहाँका एजेन्ट अमृत कार्कीले गोपाललाई भनेछन् । 

'त्यसो भए म कतै जान्नँ । बरु घर फर्किन्छु,' गोपालको जवाफ थियो । 

'त्यसरी मिल्दैन । इराक र अफगानिस्तानको कम्पनी एउटै हो । कि इराक जाउ कि तिम्रो पैसा डुब्यो,' एजेन्ट कार्कीको चर्को कुरा थियो ।

त्यही रनभुल्ल स्थिति बेहोरेर गोपाल इराकको बग्दाद उत्रिएका थिए । बग्दाद एयरबाट अढाई घन्टा लामो उडानमा अर्का नेपाली चितवनकै बुद्धिबहादुर गुरुङ पनि साथैमा थिए । बग्दादको अध्यागमनमा पुग्नासाथ गोपालले आफूसँग रहेको पासपोर्ट र एजेन्ट कार्कीले दिएको एउटा कागज स्थानीय प्रहरीलाई दिए । र, उनी सरासर बाहिर निस्कन पाए । न पासपोर्टमा इराकको भिसा छ, न कुनै आधिकारिक कागजात । बाहिर मूलढोकामा एउटा पाकिस्तानी मूलको नायर भन्ने एजेन्ट पर्खिरहेको रहेछ । उसले सरासर गाडीमा हाल्यो र गन्तव्यहीन दिशामा गाडी अघि बढ्यो । झन्डै १५ मिनेट गाडीमा बत्तिएपछि एउटा कुलक नामको कम्पनीमा लगेर गोपाल र बुद्धिलाई उतारिएछ । र, त्यहाँ छिट्टै काम मिल्नेछ भनेर एजेन्ट नायर बेपत्ता बनेको रहेछ ।

'हो, त्यही ठाउँमा मैले अर्का नेपाली साथी पनि भेटें- हेटौंडाका राजेश लामा । उनलाई पनि कुलक कम्पनीमा काम दिने भनेर एक महिनाअघि ल्याएर थन्क्याइएको रहेछ,' गोपालले सुनाए । 

न खानेकुरा छ, न सुत्ने प्रबन्ध । कोठाबाट बाहिर निस्क्यो भने अझ खतरा छ । कुनै निस्सा प्रमाणबिना उडनतस्तरी स्टाइलमा बग्दाद जो आइएको छ । फेरि त्यही इराकी भूमिमा १२ जना नेपालीको हत्या भएको भन्ने केही वर्षअघिको खबर पनि राम्रैसँग जानकारीमा छँदैछ । अमेरिकी आर्मी बेस कम्पनीहरूमा क्लिनिङको काम गर्नुपर्ने र मासिक ६ सय ५० डलर दिने भनेर एजेन्ट नायरले कुलक कम्पनीमा लगेर छाडेको थियो । तर अहिले न सपना देखाउने त्यो एजेन्ट छ, न सामुमा कुनै काम छ । रहँदै बस्दै गर्दा एघारौं दिनपछि कम्पनीको मालिकले 'यहाँ कुनै काम पनि छैन र तिमेरु यो कम्पनीको पनि होइन' भनेर कोठाबाट बाहिर निकालिदिएछ । 

त्यसपछि नजिकै रहेको हाम्को होटलमा चितवनका केही नेपाली चिनारु भएकाले त्यही होटलमा भाँडावर्तन सफा गर्ने वा अरू जे आइपर्छ त्यही काम गर्ने भनेर उनीहरूले रोजगारीको आफ्नै बाटो पहिल्याएछन् । 

च्ाौपायाझैं खरिद गर्दै लगेर पशु बजारमा छाडिँदै गरेको अवस्थामा भेटिएका गोपाल र राजेशको संगति त्यहींबाट आपस्तमा अझ बढेर गयो । 'म भने २०११ अपि्रल ३ मा दुबईको ट्रान्जिटमा एक रात मात्रै बसेर बग्दाद उत्रिएको हुँ,' काठमाडौंको सतुंगल गाउँमा प्यारी श्रीमती चञ्चली र एक सानो छोरालाई छाडेर परदेश हिँडेका राजेश सम्भ“दै थिए । तर त्यो परदेश अफगानिस्तान हो वा कुवेत अथवा इराक- केही पत्तो थिएन । उनी पनि एजेन्टहरूको चक्रजाल हुँदै पहाडे कागजमा तमसुक गरिएको अढाई लाख रुपैयाँको ऋण बोकेरै बग्दाद पुगेका थिए ।  

'बग्दादमा भने धरान घर भएको सिरी राई भन्ने अर्को एजेन्ट छ भनिएको थियो, तर बग्दाद एयरपोर्टमा नायर नामको एजेन्ट मलाई लिन आयो,' राजेशले सुनाए, 'त्यसरी 'रिसिभ' गर्नासाथै उसलाई १ सय डलर सेवा शुल्क दिनुपर्ने रहेछ । बाटैमा खोसेर लिइहाल्यो ।' राजेशले काठमाडौंका लामा थरका चल्तीका एजेन्ट हुँदै बग्दादका सिरी राईलाई बुझाउनुपर्ने पैसाका लागि १ हजार डलर साथमा बोकेका थिए । त्यो एजेन्ट राईलाई भेट्नासाथै आफूसँग रहेको ९ सय डलर पनि कमिसनका रूपमा बुझाइहाले ।  

एजेन्ट राई बग्दादको हाम्को होटलमा एउटा कोठा लिएर बसेको रहेछ, महिनाको २५ सय डलर भाडा तिर्नुपर्छ भन्दोरहेछ । ऊ त्यो कोठामा केही पकाउँदैनथ्यो, खानेकुरा पनि केही थिएन । राजेशका अनुसार होटलको कोठाभाडा ५ महिनादेखि तिरेको रहेनछ, एकदिन ऊ त्यत्तिकै भाग्यो, कुनै दन्त्यकथाको जादुगरजस्तै । 'त्यो राईसँग म १० दिन मात्रै बसें । एकचोटि भनाभन भएपछि र झन्डै हात हालाहालको स्थिति उब्जिएपछि उसले मलाई कुलक कम्पनीमा गएर बस्न भन्यो । त्यो कम्पनीमा पनि काम थिएन, खाली भ्याकेन्सी कहिले आउला भनेर 'वेटिङ' मात्रै थियो,' राजेशले इराक भूमिको कहानी सुनाए ।

यसरी बेटुङ्गोको दैनिकीमाझ गोपाल र राजेशको कुलक कम्पनीमा भेट भएको रहेछ । त्यहाँबाट उनीहरू हाम्को होटल सँगै गएका रहेछन् । त्यो होटलमा तीन महिना काम गरेपछि होटल बन्द हुने स्थिति आएको रहेछ । महिनाको ५ सय डलरका हिसाबमा तलब दिने भनिएको थियो । र, भनिएअनुसार केही पैसा पाएछन् पनि । 

अब फेरि होटलमा काम बन्द भएको छ । के गर्ने ? अनि राजेशले आफ्ना एजेन्ट सिरी राईलाई फोनमा भनेछन्, 'हाम्रो काम-कम्पनी बन्द छ । बिजोग भयो । अब के गर्ने ?'

'मलाई थाहा छैन, जे गर्न मन लाग्छ गर,' इराककै कुनै अज्ञात थलोबाट एजेन्ट राईले जवाफ फर्काए । त्यसपछि कुराकानी भएअनुसार हाम्को होटलले आफ्नो बार्सामा रहेको शाखामा काम दिलाउने भनियो । तर दुर्भाग्य, बार्सा लैजाने क्रममा इमिग्रेसनको पुलिसले राजेश र गोपाल दुवैलाई समातेछ । न भिसा, न कागजातको अवस्थामा सेप्टेम्बर ३, २०११ म्ाा पक्राउ परेका उनीहरूका थप सास्ती र हैरानीका दिनरातहरू यहाँबाट सुरु भएका रहेछन् । कुवेतको छेउमा रहेको बार्सा सहर जाने क्रममा ओम्कासर भन्ने ठाउँमा उनीहरू प्रहरी चेकिङमा परेका रहेछन् । बग्दाद-बार्सा झन्डै ७ घन्टाको गाडी बाटो भए पनि बीचमा गाडी बिग्रेकाले झन्डै ११ घन्टा लागेको थियो । तर साथै गएका बुद्धिबहादुर भने प्रहरी चेकिङमा परेनछन् । उनको पासपोर्टमा मलेसियाको भिसा भएकाले प्रहरी झुक्किएको पनि हुन सक्छ । पछि आफ्नै तारतम्य मिलाएर उनी बग्दाद हुँदै घर फिरेका रहेछन् । राजेश र गोपाल भने बार्सा प्रहरी चौकी हुँदै अदालतदेखि जेलसम्मको नियतीमा बाँधिइसकेका थिए ।

'ओम्कासरमा एकजना फिलिपिनी र हामी दुईजना पक्राउ परेका थियौं । न भिसा न कागजको अवस्था थियो, पक्रनु स्वाभाविक थियो । त्यसपछि अध्यागमन प्रहरीले बार्सा प्रहरी चौकीमा लगेर थुन्यो,' गोपाल सम्झन्छन् ।  

च्ाौकीमा ५/७ दिनसम्म केही खान पनि दिइएनछ । उनीहरूले पानीका भरमा दिनरात कटाएछन् । त्यहाँ हाम्को होटलको साहु भेट्नका लागि आएका रहेछन् तर 'चिन्ता नगर, तिमीहरू छुटिहाल्छौ' भन्दै केही सहयोग नगरी फिर्ता भएछन् । त्यो चौकी हुँदै उनीहरूलाई बासराको हिरासत -मेजर) मा राखिएको रहेछ । कुवेती, इरानी, इराकीसहितका ६ जना कैदी भएको ठाउँ थियो त्यो । 'त्यो हूलमा एउटा बहुलाहा पनि थियो, म बहुलाहाको अनुहार हेरेर एकपटक बेहोस भएको थिएँ,' आफ्ना ती दिन सम्भ“दै थिए गोपाल, 'हामीलाई राखिएको कोठामा ३ सय वाटको बत्ती बलेको थियो, त्यहाँ न हावा छिथ्र्यो न अरू हलचल गर्नै सकिन्थ्यो । त्यो बत्तीको उज्यालोले तालु पोलिरहन्थ्यो ।' चौकीमा उनीहरू कार्टुन ओछ्याएर सुत्ने गर्दा रहेछन् । त्यो क्षणमा अरू साँच्चैका अपराधीहरूको सजायसँग आफू पनि भागीदार भएको अनुभूति भइरहेको हुन्थ्यो ।

त्यो तातो र निसास स्थितिले बिराम परेपछि राजेश र गोपाललाई हिरासतकै अर्कै कोठामा सारिएको रहेछ । पक्राउपछि अदालतमा पुगेको यो मुद्दामा फैसला आउनै ४५ दिन लागेको थियो । 'तर ४५ दिनको समय ४५ वर्षभन्दा लामो बन्यो,' राजेश सम्झन्छन्, 'हे भगवान्- दिन त बित्यो, अब रात कसरी बिताउने होला भन्ने हुन्थ्यो ।' 

मुद्दा लड्नका लागि सुरुमा हाम्को होटलले वकिल -प्रतिवादी) दिए पनि त्यो वकिल अदालतमा सधैं मौन बस्दोरहेछ, नुनको सोझो पनि त्यो हदमा नगरे हुन्थ्यो नि जस्तो । सँगै पक्राउ परेकोमा हामीलाई तीन सालको सजाय सुनाइएको र एकजना फिलिपिनी कामदार भने छुटमा परिसकेको खबर त्यही वकिलले दिएको थियो । पछि बुझ्दा तीन होइन, पाँच वर्षको थुना सजाय राजेश र गोपालले पाएका रहेछन् । 

जेल सजाय भएपछि पनि राजेश र गोपालले हाम्को मालिकलाई फोन गरेका थिए । 'तिमीहरू छिट्टै बाहिर निस्कन्छौं । टेन्सन नलिनु, म तलब भने दिइराखुँला,' भनेर मालिकले फोन राखेको रहेछ । तर न छिट्टै निस्कने अवस्था आयो, न हातमा तलबै आयो । 

अदालती निर्णयपछि उनीहरूलाई बार्साको जेलमा लगिएको थियो । सिरियन, लेबनानी, इजिप्सियन, इरानी, इन्डियन कैदीहरू त्यहाँ थिए । त्यो कारागारमा कैदीहरूलाई २३ घन्टा कोठाभित्रै थुनिन्थ्यो भने बिहान १ घन्टा बाहिर हावामा निस्कन दिइन्थ्यो । 'तर चौकी र हिरासतको ४५ दिने पीडाजस्तो कारागारमा बेहोर्नुपरेन,' उनीहरू भन्छन् । 

इराक भूमिमा अनाधिकृत प्रवेश भएकै र मानव तस्करीको चंगुलमा परेकै कारण ५ वर्षे जेल सजाय बेहोर्नुपरेको दुई नेपालीको 'असामान्य स्थिति' बारे बाहिरी दुनियाँमा खबर आउन थालिसकेको थियो । उनीहरू थुनामा परेको छ महिनापछि नेपाल सरकारका कानमा यो खबर आइपुगेको थियो । तर यी सोझासाझा नेपालीलाई यो हविगतमा पुर्‍याउने अन्तर्राष्ट्रिय हैसियतका एजेन्टहरू अमृत कार्की, वीरबल तामाङ, बलराम श्रेष्ठ, नुनराज गिरी र अरू थुप्रै नामहरू अहिले कहाँ, कुन गोरखधन्दामा लागेका छन्, न पीडितलाई थाहा थियो, न राज्यका अरू कुनै उद्धारकारी निकायलाई । यी एजेन्टको माखेसाङ्लोबारे स्वयं पीडितहरू अझै बेखबर छन् ।    

दुई नेपालीको अनाहकको थुनाको खबरका भरमा संयुक्त राष्ट्रसंघ, मानवअधिकार, एमनेस्टी, रेडक्रस, आईओएमका सहयोगीहरू ब्ाार्सा जेल जान थालेका थिए । राष्ट्रसंघ र मानवअधिकारका प्रतिनिधिले यी दुईलाई भेटेर इराकी १ लाख दिनार -१० हजार रुपैयाँ) दिएपछि नेपालमा घरपरिवारलाई फोन गर्न सक्ने हैसियत राजेश र गोपालले बनाएका रहेछन् । यसबाहेक स्थानीय शुभेच्छुक ध्रुव कुँवरले कहिलेकाहीं मोबाइलमा पैसा हालिदिने गरेको गुन यी दुईले अहिले पनि सम्भिरहेका छन् । जेल प्रशासनमा अनुरोध गरेपछि हरेक बिहीबार फोन गर्न पाउने सुविधा यी दुईले पाएका थिए ।  

'जेलमा एउटा कोठामा हामी १६ जना थियौं । १४ जनालाई बेड थियो, दुईलाई भने अपुग थियो । ५ महिना त हामी पनि भुइँमा सुत्यौं । कोही इराकी कैदी आउनासाथ ओछ्यान छाडिहाल्नुुपथ्र्यो,' राजेशले सुनाए । इराक जानुअघि खाडीको कतार बसेर आएका राजेशको अनुभव भने अलिक भिन्न छ र, रोचक पनि । उनी अहिले पनि इराकभन्दा कतारलाई धेरै राम्रो ठाउँ भन्ठाछन् । 'इराकमा सयमा ९० प्रतिशत मान्छे झूटा छन्,' उनी भन्छन्, 'कतारमा त्यस्ता झूटको संख्या अलिक कम छ ।'

यी दुईले पाएको अनाहकको सजाय मिनाहा गराउन नेपाल सरकारले -बाबुराम प्रधानमन्त्रीत्वमा) छ महिनाअघि इराकलाई एमनेस्टी आग्रहको पत्र लेखेको थियो । यही पत्रको टेकोका भरमा इराक मामला हेर्ने इस्लामाबादस्थित दूतावासको निरन्तरको ताकेताका कारण दुई साताअघि राजेश र गोपाल घर फिर्न सकेपछि यी दुईको इराक-कहानी यसरी बाहिर आएको हो । वैदेशिक रोजगारीमा 'प्रतिबन्धित' भनिएको र मानव तस्करीको चंगुलमा परेर जेलको चौघेरामा दिनरात कटाउँदै घर फिरेका यी दुई प्रतिनिधि पात्र अहिले 'ऐठन भइरहने भयंकर सपनाजस्तो' इराकका ती दिनरातहरू भुल्ने प्रयासमा लागिपरेका छन् । 

'इराकी हिरासत र कारागारमा समेत दिनको एकचोटि मरेर फेरि एकचोटि बौरिएजस्तो स्थिति रहन्थ्यो,' गोपाल सम्भिरहेका छन्, 'इराक भन्नेबित्तिकै 'सदिग' -साथी) को नाता लगाउने अनि पैसाको चलखेलबाट जे गरे पनि हुँदोरहेछ । विचार गर्नुस् न, तपाईंसँग भिसा छैन भने पनि इराकी पुलिसलाई १ सय डलर तिर्ने च्यानल मिलाउन सक्नुभयो भने तपाईं सजिलै बग्दाद उत्रन सक्नुहुन्छ । तर उत्रिएपछिको ज्यानको ग्यारेन्टी भने अल्लाह-ईश्वर कोहीसँग नहुँदो रहेछ । आगे रामजाने !'

Published on: 30 March 2013| Kantipur

 

Back to list

;