s

इराक र अफगानिस्तान अध्ययन गर्न टोली जाने

दिनेश रेग्मी

इराक र अफगानिस्तानमा कार्यरत नेपालीको अवस्था अध्ययन गर्न सरकारले एक टोली पठाउने भएको छ । वैदेशिक रोजगार प्रवर्धन बोर्ड बैठकले टोलीलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । दुवै देशको वस्तुस्थिति अध्ययनका लागि पाकिस्तानको इस्लामावादस्थित नेपाली दूतावासबाट प्रतिनिधि जाने छन् । ती देशलाई हेर्ने सहप्रमाणीकरणको जिम्मा पनि इस्लामावादस्थित नेपाली दूतावासलाई छ ।
 
बोर्ड बैठकमा सहभागी सदस्यका अनुसार टोलीले रोजगारको सम्भाव्यता, कामदारको अवस्था र जेल परेका नेपालीको स्थिति बुझ्नेछ । झन्डै ९ वर्षअघि १२ नेपालीको सामूहिक हत्यापछि सरकारले इराकका लागि श्रमस्वीकृत दिएको छैन भने अफगानिस्तानमा संस्थागत रूपमा जान पाउने गरी आंशिक खुला गरेको छ ।
 
श्रम तथा रोजगारमन्त्री पोस्टबहादुर बोगटीको अध्यक्षतामा मंगलबार बसेको बैठकमा श्रम, विभाग, परराष्ट्र, कानुन, बोर्ड, व्यवसायी संस्थालगायतबाट सदस्यहरू सहभागी थिए । अध्ययनका लागि जाने टोलीले इराकमा मानार्थ वाणिज्य दूत राख्नेबारे समेत अध्ययन गर्नेछ । इराकमा कुनै सम्पर्क निकायसमेत नभएकाले बैठकले त्यसको आवश्यकतामा जोड दिएको थियो । सार्क देशभित्र सामान्यतः दूतावास नखोली वाणिज्य दूत नराखिने भएकाले अफगानिस्तानमा अध्ययनमात्र हुने जनाइएको छ ।   
 
बोर्डका एक सदस्य पूर्णबहादुर मल्लका अनुसार सम्भव भएसम्म वाणिज्य दूतावास खोज्ने र त्यहाँको अवस्था बुझ्नलाई टोली पठाउने निर्णय भएको सुनाए । 'काम गर्न मान्छे गइरहेका छन् तर वाणिज्य दूतावास नभएर समस्या परेको छ,' मल्लले कान्तिपुरलाई भने, 'अध्ययनका लागि जाने टोलीलाई ७ लाख रुपैयाँ दिने निर्णय भएको छ ।'
 
श्रम मन्त्रालयले इस्लामावादस्थित नेपाली दूतावासले स्थलगत अध्ययन गरी रिपोर्ट पठाएअनुसार अगाडि बढ्ने जनाएको छ । 'अहिलेको प्रारम्भिक अध्ययन हो' श्रमका सहसचिव विनोद केसीले भने, 'टोलीको रिपोर्टअनुसार के गर्नपर्छ हामी गर्छौं ।' उनले रिपोर्ट आएपछि कन्सुलेट अफिस, कामदारको हित तथा सुरक्षाका उपाय अपनाउने लगायतका लागि थप अध्ययन गर्न आवश्यक परे अर्को टोली पठाउन सकिने बताए । इस्लामावादस्थित नेपाली दूतावासले इराक र अफगानिस्तानमा ओहदाको प्रमाणपत्र बुझाउने समयसमेत मिलाएर त्यहाँको अवस्था गर्न जाने तयारी गरेको जनाएको छ । 'इराक र अफगानिस्तान सरकारको अनुकूलता खोजी रहेका छौं' राजदूत भरतराज पौड्यालले टोलिफोनमा कान्तिपुरलाई भने, 'उता (इराक र अफगानिस्तान) बाट संकेत आउनासाथ जान तयारी भएर बसेका छौं ।'
 
इराकी जेलमा पनि बुझ्ने
टोलीले रोजगारका लागि इराक पुगेर विभिन्न अभियोगमा जेलमा परेका नेपालीलाई समेत भेटेर रिहाइका लागि त्यहाँको सरकारसँग पहल गर्ने भएको छ । इराकी जेलमा परेका नेपालीको संख्या भने यकिन छैन ।
 
नेपाल सरकारले हत्या तथा गैरकानुनी बसाइको आरोपमा इराकका २ जेलमा थुनिएका ५ नेपालीलाई माफीसहित मुक्तिका लागि यसअघि पत्रसमेत पठाइसकेको छ । हत्या अभियोगमा कैलालीका प्रेमबहादुर सिंह, धादिङका राजाराम खकुरेल, नुवाकोटमा जितबहादुर तामाङ र गैरकानुनी बसाइ आरोपमा चितवनमा गोपाल शर्मा अम्गाईं र मकवानपुरका राजेश लामा छन् । दूतावासले हाल उनीहरूको मुद्दा प्रक्रियामा रहेको जनाउँदै मुक्तिका लागि पहल गरी रहेको बताएको छ । हत्या मुद्दामा थुनिएका तीन जनाले मृतक तनहुँका सूर्यबहादुर उचाई ठकुरीको परिवारलाई ब्लडमनि (क्षतिपूर्ति) तिरेका छन् । त्यहाँको कानुनअनुसार मृतक परिवारले ब्लडमनि स्विकारेर माफी दिन सक्ने व्यवस्था छ ।
 
Published on: 8 March 2013 | Kantipur
 

Back to list

;