s

इराकमा घरमालिकको यातना पछि अपांग भएर नेपाल फिर्ता

प्रदीप मेन्याङ्बो
 
पतिले छाडेपछि आर्थिकरुपमा आत्मनिर्भर भएर छोरीलाई उच्च शिक्षा पढाउने सपना बोकेर इराक पुगेकी ३४ वर्षीया शान्ता राई अपाङ्ग भएर फर्केकी छिन् । मुस्किलले ज्यान बचाएकी शान्ताको उपचार गत आइतबारदेखि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा भइरहेको छ । 
 
३ वर्ष अघि वैदेशिक रोजगारीको सिलसिलामा इराक पुगेकी गोगने–७, भोजपुरकी ३४ वर्षीया शान्ता घर मालिकको यातनाबाट मुत्यु हुनबाट जोगिएर अपाङ्ग अवस्थामा खाली हात फर्केकी हुन्। उपचार गराइरहेकी शान्ताका अनुसार घरमालिकले आइफोनले टाउकोमा हानेको समेत थाहा भएको त्यसपछि बेहोस भएर करिब दुईहप्ता पछि स्थानीय अस्पतालकै आइसीयुमा होस् खुलेको दाबी गर्दै आएकी छिन्।
 
अस्पतालमा होस खुलेपछि शान्तालाई इराकमै कार्यरत सुरज भनिने नेपाली व्यक्तीले इराकको अर्बिलास्थित हउलियरमा घरमालिकले हत्या गर्ने उदेश्यले चरम यातना दिएको अवस्थामा फेला पारी अस्पतालमा भर्ना गरेर बचाएको बताएका थिए। घरमालिकले दुवै खुट्टा भाँचेर मेरुदण्डमा समेत समस्या आउने गरी यातना दिएको शान्ताले बताइन्।
 
घरमालिकले कुटपिट गरेर दुवै खुट्टा भाँचिदिएको, मेरुदण्डमा गहिरो चोट पारेको अवस्थामा उनले आफूलाई अस्पतालको शैय्यामा पाइन्। उनले भनिन्, ‘मलाई घरमालिकले शारिरिक, मानसिक यातना दिए। विना कारण मरणासन्न हुने गरी कुटेर आज यस्तो बनाए। धन्न मलाई त्यही कार्यरत नेपालीहरुले बचाएर नेपाल फर्काए।’ घरमालिकले आफूलाई कुटपिट गरेको विषयमा नजिकै रहेका अन्यले थाहा पाएपछि प्रहरीलाई खबर गरेकाले उपचार भएको नत्र उतै मर्नुपर्ने अवस्था रहेको उनले बताइन्।
 
तीन वर्षअघि उनलाई स्याङजाका राम भनिने बलबहादुर थापा मगर र उनकी श्रीमति शशी घलेले इराक पुर्‍याउने काम गरेका थिए। बलबहादुर र शशी हाल फरार छन्। विदेशमा रहेका नेपालीहरुको सहयोगमा धरानसम्म आएकोमा सबैलाई धन्यवाद दिँदै अब उपचारमा पनि सहयोग पाए बाँच्ने आशा पलाएको बताइन्।
 
उनले पतिले छाडेपछि छोरीको भविष्यका लागि आफू बाध्य भएर वैदेशिक रोजगारीमा इराक पुगेको बताइन्। उनले भनिन्, ‘विदेशमा महिला कामदार असुरक्षित भएको आफूले भोगेपछि थाहा भयो। मालिकको पटक–पटकको शारीरिक, मानसिक सबैखाले यातना सहदै आए पनि नेपाल फर्कन्छु वा अर्को ठाउँमा काम गर्न जान्छु भन्दा घरमालिकले कुटपिट गरी अंगभंग बनाइ दिए।’
 
धरानमा बस्दै आएकी शान्ताकी बहिनी ममताले पुष ८ गते दिदीलाई विराटनगर विमानस्थलबाट धरान ल्याएर उपचार सुरु गरेको बताइन्।
 
उपचारमा संलग्न प्रतिष्ठानका हाडजोर्नीका चिकित्सक प्राडा गुरु खनालका अनुसार शान्ताको दुवै खुट्टामा स्टिल लगाइएको छ। उनको मेरुदण्डमा समेत चोटपटक देखिएकाले थप उपचारको आवश्यक रहेको छ। थप उपचारका लागि पर्याप्त रकम नहुँदा बिरामी र उनका आफन्त चिन्तित भएका छन्।
 
Published on: 25 December 2017 | Kantipur

Back to list

;