s

ईपीएसको पैसा बुझाउनै सास्ती

यज्ञ बञ्जाडे

एउटा मात्र बैंकमा पैसा बुझाउनुपर्ने व्यवस्थाले ईपीएस परीक्षा दिने परीक्षार्थीले सास्ती भोग्नुपरेको छ । ईपीएस भाषा परीक्षामा सामेल हुन दस्तुरबापत २४ अमेरिकी डलर (करिब २५ सय रुपैयाँ) तिर्नुपर्छ । उक्त शुल्क बैंकमार्फत बुझाउनुपर्ने भएकाले ग्लोबल आईएमई बैंकका सबै शाखामा परीक्षार्थीको लामो लाइन लागेको छ ।

एउटा बैंकबाट मात्र पैसा बुझाउनुपर्ने बाध्यात्मक व्यवस्थाले यस्तो अवस्था आएको हो । यो प्रवृत्ति नयाँ होइन । विगतका वर्षहरूमा पनि परीक्षार्थीहरूले यस्तो सास्ती भोग्दै आएका थिए । समस्याबारे जानकार हुँदाहुँदै पनि सम्बन्धित निकाय (श्रम तथा रोजगार मन्त्रालय वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस कोरिया शाखा) ले समाधानका लागि कुनै पहल नगर्दा परीक्षार्थीलाई घन्टांैसम्म लाइनमा बस्नुपरेको हो । बैंकहरूमा ठूलो लाइन रहेकाले पैसा बुझाउन धेरै मेहनत गर्नुपरेको दाङका जीवराज पौडेलले बताए । केही वर्षदेखि काठमाडौंमा बस्दै आएका पौडेल बिहान ४ बजे बैंकमा पुग्दा पनि आफू ४/५ सय जनाभन्दा पछि परेको उनले जानकारी दिए ।
 
ललितपुर भैंसेपाटीकी २१ वर्षीया देवकी 
 
खड्का पनि १४ घण्टा लाइन बसेर बैंकबाट ‘पिन कोड’ लिएको बताइन् । ‘अबको जमानामा त अनलाइन पेमेन्ट गर्ने सिस्टम पो ल्याउनुपथ्र्यो, पैसा बुझाउन पनि दिनभर लाइनमा बस्नुपर्ने ?’ उनले भनिन् । मुलकभर रहेका कान्तिपुरका संवाददाताले पठाएको जानकारी र तस्बिरअनुसार प्राय: सबै जिल्लामा पैसा बुझाउने ठूलो लाइन छ । केही स्थानमा बुधबार रातिदेखि नै परीक्षार्थी लाइनमा थिए । उनीहरू त्यही लाइनमै सुतेका तस्बिरहरू प्राप्त भएका छन् ।
 
श्रम तथा रोजगार मन्त्रालय वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस कोरिया शाखाले भने अन्य बैंकहरूसँग डलरमा खाता नभएकाले यसपटक पनि बैंक थप्न नसकिएको बताएको छ । बैंकलाई सहज रूपमा पैसा भुक्तानी गर्न पाउने व्यवस्था गर्न भनेका छौं,’ ईपीएस कोरिया शाखा प्रमुख कृष्ण खनालले भने, ‘बैंकले मुलुकभर १ सय ५० वटा काउन्टरबाट पैसा भुक्तान गर्न मिल्ने व्यवस्था गरेको छ ।’ नवौं ईपीएस भाषा परीक्षाका लागि बिहीबारदेखि आवेदन खुलेको र पहिलो दिनमै धेरैजना आएकाले समस्या भएको उनले बताए । ‘ग्लोबल आईएमई बैंकसँग मात्र यो शाखाको डलर खाता छ, ईपीएस कोरियाको तालिकाअनुसार यहाँ परीक्षा सञ्चालन गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘यसकारण पैसा बुझाउन भीड हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि खाता खोल्ने समय नपाइएको हो ।’ पैसा बुझाउने प्रक्रिया सहज बनाउन अनलाइनबाट भुक्तानीको व्यवस्था सम्बन्धमा छलफल भइरहेको उनले बताए । दस्तुर संकलन कसरी सहज बनाउने भन्ने कुरा आफूहरूको कार्य क्षेत्रभित्र नपर्ने राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले बताए ।
 
छिटोछरितो र सहज रूपमा पैसा भुक्तानीको व्यवस्था मिलाउन छुट्टै डेक्स स्थापना गरी सेवा दिइएको ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले बताए । ‘आवश्यकताअनुसार काउन्टर स्थापना गरी पैसा संकलन गरिरहेका छौं,’ उनले भने।
 
Published on: 23 March 2018 | Kantipur

Back to list

;