s

इन्डोनेसियामा ६ महिना थुनामा बसेपछि ४ नेपाली घर फर्किए

काठमाडौँ — गैरकानुनी रूपमा इन्डानेसियाको मकासार सहरबाट अस्ट्रेलिया जान लागेका ४ नेपाली झन्डै ६ महिना इन्डोनेसियाको प्रहरी हिरासतमा बसेर गैरआवागमनको थप कानुनी प्रक्रिया पूरा गरेपछि गत बुधबार नेपाल फर्किएका छन् ।

इन्डोनेसियामा नेपाली अलपत्र परेकाबारे जानकारी पाएर ती नेपालीको उद्धार समन्वयमा लागी पर्दै आएका नाइजेरियाको लेगोसस्थित गैरआवासीय नेपालीका अभियन्ता हिक्मत थापाले थुनामा राखिएका नेपाली आफ्नो घरफिर्ती हवाइ शुल्क बुझाएर काठमाडौं फिरेको जानकारी दिए ।

राजधानी जकार्ताबाट अढाइ घण्टाको हवाई उडानमा पुगिने मकासार सहरको सुलावेसी टापुमा रहेको अध्यागमन निगरानीमा नेपाली ४ युवालाई गत वैशाख महिनाको अन्त्यमा पक्राउ परेका थिए । सुलावेसी टापुको साउम्लक्की नाकाबाट झण्डै १ घण्टा पानी जहाज यात्रा गरेपछि अस्ट्रेलिया सीमावर्ती विन्दु(डार्विन) पुगिने योजनासहित स्थानीय नेपाली मूलका इन्डोसियन आलिफ मोहम्मद (सोनम)ले गैरकानुनी आप्रवासनको उपाय सुझाएका थिए ।

मुगु जिल्लाका यी ४ युवाले अस्ट्रेलिया छिर्न पाइने आशमा नेपालमा रहेका र इन्डोनेसियाका एजेन्टलाई गरेर जनही २० लाख रुपैयाँ शुल्क बुझाएका थिए । अस्ट्रेलियाको डार्बिनमा रहने नेपाली मूलकै माइकल नामका एजेन्टले यसरी पैसा तिरेर आउने आप्रवासीलाई आवागमनमा सहजीकरण गर्ने बताइएको थियो ।

यसरी अलपत्र परेका सलबहादुर कार्की, विक्रमबहादुर मल्ल, विनोदकुमार बूढा र अंगबहादुर शाहीलाई अन्तर्राष्ट्रिय आप्रवासन संगठन(आईओएम) वा आप्रवासन मामलासम्बद्ध संस्थाको सहयोग जुटाएर घरफिर्ता ल्याउने पहल थालिए पनि कुनै निकायको तदारुकता नरहेको थापाले जानकारी दिए । घरफिर्ती भएकामध्ये अंगबहादुरकी श्रीमती एक्का शाहीले पक्राउ परेका आफन्तको उद्धारमा हारगुहार गर्दै आएकी थिइन् ।

यसरी विदेसिने सपना देखेर अलपत्र पर्नेमा मुगुमा स्थानीय समोसा–चिया बेच्ने सामान्य पसलेदेखि सिभिल इन्जिनियरिङ तथा नर्सिङमा डिप्लोमा गरेका युवासमेत हुन् । अवैध आप्रवासनको यो मुद्दा बाहिर आएपछि जकार्तास्थित अस्ट्रेलियन दूतावासले पनि नेपाली युवालाई आवश्यक कानुनी र कागजी सहयोग गर्न जकार्ताको नेपाली कन्सुलेट तथा मलेसियास्थित नेपाली दूतावासलाई पत्राचार गरेको थियो ।

Published on: 20 November 2023 | Kantipur

Link

Back to list

;