s

इजाजत नलिई चलेका दुई कम्पनीमा ताला

लालप्रसाद शर्मा

बिनाइजाजत वैदेशिक रोजगारसम्बन्धी कारोबार गर्दै आएका दुई कम्पनीमा वैदेशिक रोजगार विभागबाट खटिएको अनुगमन तथा निरीक्षण टोलीले ताला लगाएको छ । साथै अन्य कम्पनीबाट राहदानी जफत गर्नुका साथै मापदण्डविपरीत कारोबार गर्दै आएका कम्पनीलाई सुधारको मौका दिएर सचेत गराएको छ ।

गोप्य रूपमा विभागका निर्देशक चिरञ्जीवी अधिकारी नेतृत्वको टोलीले कम्पनीमा छापा मारेको थियो । प्रहरीसहितको टोलीले नागढुंगास्थित गोर्खा नेपाल प्लेसमेन्ट सर्भिसमा बुधबार र चिप्लेढुंगास्थित इमास्को नेपालमा बिहीबार ताला लगाएको हो । 'बिनाइजाजत सञ्चालित दुवै कम्पनीले व्यक्तिलाई विदेश पठाउने गैरकानुनी काम गरेको देखिएको र आर्थिक कारोबारसमेत हुने गरेकाले बन्द गरेका हौं,' निर्देशक अधिकारीले भने । अधिकारीका अनुसार विभागले वैदेशिक रोजगार व्यवसायलाई मर्यादित स्वच्छ रूपमा व्यवसाय गर्ने वातावरण बनाउने, सर्वसाधारणलाई ठगिनबाट जोगाउनेजस्ता उद्देश्यले अनुगमन तथा निरीक्षण थालिएको बताए ।

टोलीमा संलग्न विभागका शाखा अधिकृत उपेन्द्र न्यौपानेका अनुसार विभिन्न कम्पनीले नियमविपरीत राखेका ३६ थान राहदानी, राहदानीको फोटोकपीलगायत कागजात नियन्त्रणमा लिइएको छ । पृथ्वीचोकस्थित साउन्डलाइन्सबाट राहदानी जफत गरिएको हो । टोलीले सोमबारदेखि बिहीबारसम्म अनुगमन गरेको हो ।

टोलीले यहाँका ४२ वटा शाखा तथा एजेन्टको सम्पर्क कार्यालयमा अनुगमन गरेको थियो । त्यसमध्ये केही बिनाअनुमति सञ्चालन भएका, एजेन्टले पनि कार्यालय प्रमुख लेखेर सर्वसाधारणलाई झुक्याउँदै आर्थिक कारोबार गरेको पाइएको टोलीले जनाएको छ । एजेन्टले एकभन्दा बढी कोठा प्रयोग गर्न नपाउने, आफूबाहेक कर्मचारी राख्न नपाउने वैदेशिक रोजगार ऐन २०६४ ले व्यवस्था गरे पनि कार्यान्वयन नभएको पाइएको छ । साथै आर्थिक तथा राहदानी संकलन गर्न नपाइने भए पनि निर्वाध संकलन भइरहेको छ । 

'एजेन्टले व्यक्ति र सम्बन्धित संस्थाबीचको पुलको काम मात्रै गर्नुपर्नेमा कार्यालय नै खोलेर कारोबार गर्दै आएको पाइयो,' निर्देशक अधिकारीले भने, 'तीन दिनभित्र सुधार गर्न भनेका छौं । नभए सम्बन्धित कम्पनीको कारोबारमा रोक लगाउनेछौं ।' अधिकारीले काठमाडौं फर्केर अनुगमनको प्रतिवेदन तयार पारेपछि वास्तविकता खुल्ने बताए ।

पोखरामा कति म्यानपावर कम्पनीले कारोबार गर्ने र तीमध्ये वैध अवैध कति छन् भन्ने यकिन छैन ।

Published on: 7 March 2014 | Kantipur

Back to list

;