s

इँटा उद्योग र श्रम आपूर्ति

नेपालका इँटा उद्योगमा कामदार अभावका लागि कामदारका तुलनामा स्वयं रोजगारदाता नै बढी जिम्मेवार छन्

एउटा अनुमानअनुसार नेपालमा आठ सयभन्दा बढी इँटा उद्योग छन् । एउटा इँटा उद्योगले सिजनमा तीनदेखि चार सय कामदारलाई काममा लगाउँछन् । नेपालमा इँटा उद्योगका श्रमिक सबैभन्दा शोषित र दमित हुन्छन् भन्ने गरिन्छ । प्रायः निकै गरिब र सीमान्तकृत समुदायका परिवारबाट श्रम आपूर्ति गर्ने ठेकेदारले पहिल्यै ऋण दिएर जालोमा फसाइरहेका हुन्छन् । प्रायः मंसिरदेखि सुरु हुने इँटा उद्योगको काममा जाने श्रमिकले दसैँ, तिहार या सोही समयमै ठेकेदारबाट पैसा लिएर घरखर्च चलाउँछन् । त्यही ऋण तिर्न र थप कमाउन उनीहरू ठेकेदारले तोकेको ज्यालामा काम गर्ने गरी इँटा उद्योग पुर्‍याइन्छन् ।

त्यहाँ उनीहरू इँटाको पर्खाल लगाइएका, झ्याल नभएका, सुरक्षित ढोकासमेत नभएका ससाना होचा टहरा र पाल या टिनमुनि आआफ्ना काखे सन्तानसहित बस्छन् । सिजन सकिएपछि खेतीपातीका लागि घर फर्कन्छन् । यिनका बालबालिकाको पढाइ निश्चित हुँदैन । यता इँटा उद्योगीको पनि आफ्नै समस्या छन् । कोसीका इँटा व्यवसायीको संगठनको एउटा कार्यक्रममा उद्योगीले नेपाली कामदार नपाएर भारतका विभिन्न गाउँ पुगेर फकाएर मजदुर ल्याउनुपरेको गुनासो गरेका छन् । उनीहरूको भनाइ के छ भने नेपाली कामदार पाउने हो भने उनीहरू भारतीय कामदारलाई भन्दा ५० प्रतिशतसम्म बढी ज्याला दिन तयार छन् । कोसीमा ३३ वटा इँटा उद्योगले ४४ वटा चिम्नी चलाइरहेका छन्, जसले हरेक सिजनमा कम्तीमा १५ हजारजति कामदार माग गर्छन् । तर, उनीहरू यति श्रमिक पनि नेपालमा पाइएन भन्दै गुनासो गरिरहेका देखिन्छन् । जब कि नेपालका लाखौँ युवा श्रमिक बिदेसिइरहेका छन् । भारततिर मौसमी काम गर्न जाने श्रमिकको संख्या पनि उल्लेख्य छ । यो समस्या नेपालको कृषिक्षेत्रमा पनि निकै बढिरहेको छ । नेपाली श्रमिक कामको खोजीमा बिदेसिने र नेपाली कृषि, अन्य उद्योग तथा व्यवसायले श्रमिकको खोजीमा भारत पुग्नुपर्ने अवस्था अवश्य पनि अन्तरविरोधपूर्ण छ ।

कामदारको यो अभावका लागि कामदारका तुलनामा रोजगारदाता नै बढी जिम्मेवार देखिन्छन् । कृषिक्षेत्रले त अत्यन्त छोटो समयका लागि अस्थायी ज्यालादारी काम दिने भएकाले त्यहाँ हुने ज्यालाको वृद्धि र श्रम आपूर्तिको संरचनागत सुधारको प्रश्न त्यति अर्थपूर्ण नहुन सक्छ । तर, उद्योग क्षेत्रको भने अवस्था फरक छ । इँटा उद्योग मौसमी भए पनि यसले कम्तीमा ६ महिना उत्पादन गरिरहेको हुन्छ । यसको अर्थ यो मौसमी भए पनि अर्धवार्षिक रूपले निश्चित समयका लागि कामदारलाई करारमा राख्न सकिने क्षेत्र हो । उद्योगीहरू कामदारको ज्याला थोरै भए पनि बढाउन तयार हुने, बिचौलियाको शोषणबाट उनीहरूलाई बचाउने, उनीहरूको अतिरिक्त श्रमको बोझ घटाउने र कमसेकम मानिस बस्नलायक आवासको व्यवस्था, सफा खानेपानी, चर्पी र केटाकेटीको अस्थायी पठनपाठनको व्यवस्थामा समेत उद्योगले लगानी गर्ने हो भने नेपाली उद्योगलाई कामदारको समस्या पर्ने प्रश्नै आउँदैन । यसको साटो उद्योगले सरकारबाट केही सहुलियत लिन या त्यसको बोझ उपभोक्तामाथि सार्न सक्छन् । प्रतिइँटा एक मोहर या रुपैयाँ वृद्धि गर्दा श्रमिकलाई आत्मसम्मान झल्किने गरी सुविधा दिन सम्भव छ । यति नगरेर कामदार भएनन् भन्ने उद्योगीको गुनासोमा सामन्ती चिन्तन र अत्यधिक नाफामुखी दृष्टिकोण नै मुख्य जिम्मेवार देखिन्छ ।

Published on: 16 September 2019 | Naya Patrika

Back to list

;