s

आइएलटिएसका दस हजार परीक्षार्थी अन्योलमा

काठमाडौं, कलंकीका राजाराम कार्कीले अस्ट्रेलियाको युनिभर्सिटी अफ तास्मेनियास्थित कलेजबाट बायोटेक्नोलोजी अध्ययन गर्ने योजना बनाए।सबै तयारी पूरा भयो। त्यसका लागि अंग्रेजी भाषा परीक्षा दिनुपर्ने भयो। इन्टरनेसनल इंग्लिस ल्याङ्वेज टेस्टिङ सिस्टम (आइइएलटिएस) परीक्षा दिन खोजे पनि नेपालमा उनले समयमै परीक्षा मिति पाउन सकेनन्।

राजधानीको डिल्लीबजारस्थित युनिभर्सल ल्यांग्वेज इन्स्टिच्युटमा पाँचहप्ते आइइएलटिएस परीक्षा तयारी कक्षा लिइरहेका उनको योजना थियो– आउँदो सेप्टेम्बरमा आइइएलटिएस दिने।

त्यतिबेला उनी निराश भए, जब उनले उक्त अवधिका लागि परीक्षा दिने सिट संख्या बाँकी नरहेको खबर पाए।

'ब्रिटिस काउन्सिलमा बुझ्दा सेप्टेम्बरसम्म प्याक छ भने,' राजारामले नागरिकसँग दुखेसो गरे, 'आइइएलटिएस परीक्षा दिन नपाउँदा एक वर्ष खेर जाने अवस्था आयो।'

उनीसँग अब एउटै विकल्प छ। दिल्ली पुगेर परीक्षा दिने। यो बाटो त्यति सजिलो छैन। किनकि, त्यहाँ सजिलै मिति पाए पनि खर्च भने दोब्बर लाग्छ।

बाराकी रचना थपलियाले पनि अस्ट्रेलियाको युनिभर्सिटी अफ इंग्ल्यान्डमा ब्याचलर इन नर्सिङ अध्ययन गर्न सबै तयारी गरिसकेकी छन्। मनमोहन मेमोरियल टिचिङ अस्पतालकी स्टाफ नर्स उनले आइइएलटिएस कोर्ससमेत पूरा गरेको बताइन् ब्रिटिस काउन्सिलबाट परीक्षा मिति नपाउँदा भने उनी तनावमा छिन्् ।

'नेपालमै परीक्षा मिति नपाएकाले शैक्षिक सत्र खेर जान नदिन मैले भारतको नयाँदिल्ली परीक्षाकेन्द्रमा अगस्ट ८ तारिखको परीक्षा मिति लिएको छु,' रचनाले नागरिकसँग भनिन्।

रचना र राजाराम मात्र होइन, भुइँचालोपछि नेपालस्थित ब्रिटिस काउन्सिलले आइइएलटिएसको परीक्षा मिति व्यवस्थापन गर्न नसक्दा करिब १० हजार विद्यार्थी समयमा परीक्षा दिन वञ्चित छन्।

यसले उनीहरुलाई विदेशमा उच्च शिक्षा हासिल गर्न जाने अवसरबाट समेत वञ्चित गराएको छ।

काउन्सिलले परीक्षा मिति व्यवस्थापन गर्न नसक्दा १० हजार विद्यार्थीको भविष्य अन्योलमा परेको डिल्लीबजारस्थित युनिभर्सल ल्यांग्वेज इन्स्टिच्युटका प्रिन्सिपल उत्तम पन्तले बताए। उनका अनुसार आइइएलटिएस परीक्षा मिति नपाउनेहरु सामाजिक, आर्थिक र मानसिक तनावमा छन्।

नेपालमा विदेश अध्ययन गर्न चाहने विद्यार्थीको ठूलो जमात छ। उनीहरुको अंग्रेजी भाषा परीक्षणको पहिलो रोजाइ आइइएलटिएस हो।

पन्तका अनुसार नेपालमा बर्सेनि ४० हजार विद्यार्थीले आइइएलटिएस तयारी कक्षा लिई परीक्षा दिन्छन्।

अंग्रेजी भाषा नबोलिने देशबाट अंग्रेजी भाषा बोलिने देशमा उच्च शिक्षा हासिल गर्न जान चाहने विद्यार्थीका लागि आइइएलटिएस भाषा परीक्षण अनिवार्य छ।

विश्वमा अंग्रेजी भाषा परीक्षणको माध्यम आइइएलटिएस, टफेल, सिएई र पिटिई छन्। यी चार टेस्टमध्ये आइइएलटिएस र सिएई बेलायतको क्याम्ब्रिज युनिभर्सिटीको हो भने टफेल अमेरिकन टेस्ट हो। पिटिई पियर्सनले सञ्चालन र व्यवस्थापन गर्छ तर विश्वभरि मान्यता र प्रख्यात अंग्रेजी भाषा परीक्षा परीक्षण माध्यम आइइएलटिएसै रहेकाले यसप्रति विद्यार्थीको बढी आकर्षण रहेको पन्तले बताए।

आइइएलटिएस विद्यार्थीको अंग्रेजी भाषा परीक्षण गर्ने माध्यम हो। युनिभर्सिटी अफ क्याम्ब्रिज, ब्रिटिस काउन्सिल र अस्ट्रेलियाको आइडिपी तीनटै निकायको स्वामित्वमा आइइएलटिएस टेस्ट सञ्चालित छ।

प्रश्नपत्र बनाउने, परीक्षक खटाउने काम मात्रै युनिभर्सिटी अफ क्याम्ब्रिजले गर्छ। विश्वभरिका आइइएलटिएस परीक्षा सञ्चालन र व्यवस्थापनको जिम्मेवारी ब्रिटिस काउन्सिल र आइडिपीले पाएका छन्। यो परीक्षा एक महिनामा चारपटक लिइन्छ। संसारभरि एक वर्षमा ४८ वटा परीक्षा हुनेगर्छ।

प्रश्नपत्र निर्माण, उत्तर निकाल्ने र परीक्षाको प्रमाणीकरण क्याम्ब्रिज विश्वविद्यालयले गर्छ। काउन्सिल र आइडिपी पार्टनर भए पनि दुवै निकायबीच प्रतिस्पर्धा हुने गरेको छ। भारतमा काउन्सिल र आइडिपी दुवै निकायले परीक्षा सञ्चालन गर्ने गर्छन्।

ब्रिटिस काउन्सिल बेलायती संस्कृति र शिक्षालाई संसारभर चिनाउने बेलायती निकाय हो भने आइडिपीले अस्ट्रेलियाको संस्कृति र शिक्षालाई संसारभरि फैलाउँछ। आइडिपी भने नेपालमा छैन।

'नेपालमा आइइएलटिएस परीक्षा दिन चाहने विद्यार्थीको संख्या बढ्दैछ,' पन्तले नागरिकसँग भने, 'तर नेपालमा ब्रिटिस काउन्सिल एक्लैले परीक्षा व्यवस्थापन गर्न नसकेका कारण विद्यार्थीको भविष्य अन्योलमा छ। विद्यार्थीले नेपालमै परीक्षा दिँदा १२ हजार रुपैयाँ मात्र लाग्छ भने भारतमा गएर परीक्षा दिँदा १० हजार ६ सय भारतीय रुपैयाँ लाग्छ। अस्ट्रेलियाको आइडिपी नेपाल भिœयाउनुपर्ने आवश्यकता देखिएको छ।'

आइडिपी नेपाल ल्याउन सके समयमै परीक्षा मिति पाइने पन्तको दाबी छ।

'२–२ महिनामा विद्यार्थी विदेश अध्ययनका लागि उड्नुपर्छ,' सिभिल मलमा रहेको इजुकेसन पार्कका भूपेन्द्र सिटौलाले सुझाए, 'ब्रिटिस काउन्सिलको एकलौटी परीक्षाले गर्दा पनि समस्या थपियो। अब नेपालमा समेत विकल्पका रुपमा आइडिपी भित्र्याउनुपर्छ।

भुइँचालोपछि स्वदेश गएका ब्रिटिस काउन्सिलका परीक्षक नफर्केकाले परीक्षा हुन नसकेको उनले जनाए।


Published on: 28 July 2015 | Nagarik
 

Back to list

;