s

हुनेखानेहरू नै छोड्दै छन् देश

पछिल्ला दुई दशकयता वैदेशिक रोजगारीका लागि ठूलो जनशक्ति नेपालबाट पलायन भइरहेको छ । अङ्ग्रेजी माध्यममा ‘राम्रो’ विद्यालय शिक्षा पाएका विद्यार्थीहरू सामान्यतः नेपाल नफर्कने मानसिकता बोकर विकसित देशहरूतर्फ जाने क्रम तीव्र हुँदा अनवरत प्रतिभा पलायन (ब्रेन ड्रेन) भइरहेको र उनीहरूले अर्बौं रुपैयाँ बराबरको विदेशी मुद्रा बर्सेनि मुलुकबाहिर लगिरहेकामा मुलुकको भविष्यप्रति चासो राख्ने वृत्तमा चिन्ता व्यक्त हुने गरेको छ ।

मुलुकभित्र रोजगारीको अवसर नभएर, उच्च शिक्षा गुणस्तरीय वा व्यावसायिक नभएर वा शिक्षापछिको जीवनवृत्ति सुनिश्चित नभएर यो क्रम तीव्र भएको तर्क सधैं अघि सार्ने गरिएको छ । तर, पछिल्लो समय मुलुक छोड्न देखाइने यी सबै बहानामा आवश्यकता र बाध्यताभन्दा सामाजिक विकृतिकै रूपमा जरा गाड्दै गएको देखासिकी र लहैलहैको पछि लाग्ने प्रवृत्ति मूलतः निर्णायक देखिएको छ । नेपालमा राम्रो जागिर, पेन्सन, आय र रोजगारी भएका हुनेखाने, सम्पन्न र अभिजातवर्गीयहरूले समेत आश्चर्यजनक संख्यामा नेपाल छोडिरहेका छन् । प्रवृत्तिकै रूपमा मौलाएको यस्तो मोहको अर्थ–सामाजिक कोणबाट औचित्य पुष्टि गर्न सहज छैन ।

विकृत सामाजिक मनोविज्ञान

अघिल्लो महिना मेक्सिकोको सीमाबाट अवैध रूपले अमेरिका छिर्न प्रयास गर्दा पक्राउ परेका ४३ ‘शरणार्थी’ मध्ये ८ जना नेपाली थिए । बाँकी होन्डुरस, ग्वाटेमाला र एल साल्भाडोर लगायतका दक्षिण अमेरिकी महाद्वीपका थिए । दक्षिण अमेरिकीहरू सयौं वर्षदेखि उन्नत जीवनको आकांक्षाले नजिकैको अमेरिका छिर्ने र बसोबास गर्ने गरेको इतिहास छ । तर हजारौं माइल परको नेपालबाट यति ठूलो संख्यामा नेपालीहरू निरन्तर यो अवैध बाटोबाट अमेरिका छिर्ने रोगी मनोविज्ञान गरिबी र अशिक्षाले जन्माएको होइन । दक्षिण अमेरिका पुग्नकै लागि आवश्यक पर्ने पचासौं लाख रुपैयाँ र महिनौंको समय खर्चनेहरू सोझासीधा, उपायहीन र आर्थिक स्रोतविहीन वर्गका बिलकुलै होइनन् । अमेरिका छिर्नकै लागि गरेझैं यति समर्पित ‘उद्यम’ नेपालमै गर्दा एउटा परिवारलाई पुग्ने आयआर्जन र रोगजारी सृजना निश्चय नै गर्न सकिन्छ । तर, नेपालको समाज स्वाभिमान र आत्मसम्मानरहित, उद्यमशीलतामा विश्वास नगर्ने, मिहिनेतबिनाको तयारी आर्जन खोज्ने अलग्गै प्रकृतिको मानसिक रोगले ग्रसित हुँदै गइरहेको छ । त्यसकै परिणामस्वरूप हजारौं युवामा जसरी पनि युरोप–अमेरिका छिर्ने मृगतृष्णा मौलाएको छ ।

बीस वर्षअघि गैरआवासीय नेपाली (एनआरएन) संघ खुलेपछि उनीहरूलाई नेपालमा लगानी सुलभ गराउने नाममा पुँजी आप्रवाहमा (बाहिर लैजानेसहित) छुट दिने खुला प्रकृतिका नियम–कानुनहरू क्रमशः बन्दै गए । वास्तविक एनआरएनहरूले कुनै उल्लेख्य लगानी, प्रविधि वा व्यवस्थापकीय कौशल नेपालमा विरलै भित्र्याए । तर, नियम–कानुनका तिनै छिद्र दोहन गर्ने ध्येयले नेपालको प्रमुख व्यावसायिक घरानाले

आफ्नो परिवारको एउटा प्रभावशाली सदस्यलाई एनआरएन कोटाको परिचयपत्र दिलायो । विदेशमा कुनै ससानो व्यवसाय दर्ता गर्‍यो । त्यही परिचयका माध्यमबाट नेपालमा पुँजी भित्र्याउने होइन, यहाँबाट अर्बौंको रकम मुलुकबाहिर लैजाने काम बेरोकटोक र वैधानिक आवरणमै भइरहेको छ ।

यिनै दुई दशकमा नेपालमा भएको सबै सम्पत्ति बेचबिखन गरेर अमेरिका, क्यानडा, बेलायत वा अस्ट्रेलिया लगायतमा बसोबास गर्न जाने वा अन्ततः उतै बस्ने गरी अथवा थोरै दोहोरो ‘टेकनी’ मात्रै बाँकी राखेर बसाइँसराइ गर्ने नेपाली परिवारको संख्या उल्लेख्य बढेको छ । डीभी चिट्ठा, छोराछोरीको स्थायी बसोबास वा आफ्नै पेसागत कदर (रिकग्निसन) आदिका कारण जेसुकै देखाइए पनि उनीहरूको यो कदमले नेपाललाई परेको घात अतुलनीय छ । अहिलेसम्म कम्तीमा १ लाख परिवार यसरी नेपालसँगको सम्बन्धलाई मारीमेटी गरेर बिदेसिएको र प्रत्येक परिवारले औसतमा ५ करोड रुपैयाँ मात्रै लगेको अनुमान लगाउँदा पनि कम्तीमा ५० खर्ब नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रामा नगद रकम मुलुकबाट बाहिरिएको छ । यो नेपालको अहिलेको कुल गार्हस्थ्य उत्पादनको झन्डै बराबर हो । र, यो कुनै स्वाभाविक आँकडा होइन ।

यति ठूलो रकम कुन माध्यमबाट बाहिरिन्छ त ? बेलायत सरकारले त्यहाँको सेनामा काम गर्ने नेपालीहरूलाई २५ वर्षदेखि उतैको नागरिकता दिन थालेको र उनीहरूमध्ये धेरैले घर–सम्पत्ति बेचेर जान चाहेपछि केही वर्षसम्म यो प्रश्न निकै ज्वलन्त बनेको थियो । धेरैले सम्पत्ति बेचेर नगद लैजान असजिलो परेको गुनासो गर्थे । तर अहिले यस्तो समस्या छैन । हुन्डी व्यवसाय नै गर्नेहरूदेखि अलग उद्देश्यले एनआरएन बनेकाहरू, नातेदार, मित्र र पटके सहयोगीसम्मले यो प्रक्रियालाई सघाइरहेका छन् । सौदाबाजी कतै छ भने त्यो केवल विदेशी मुद्राको विनिमय दरमा मात्र छ । नेपाली मुद्रालाई विदेशी मुद्रमा साटेर लैजान सम्भव… छ कि छैन भन्ने प्रश्न अब छलफलबाहिरको भइसकेको छ । र सबभन्दा चाखलाग्दो पक्ष के हो भने, यो सम्पूर्ण ‘खेलो’ मा सहभागी र संलग्नहरू नेपालको उपल्लो वर्गका राजनीतिज्ञ, कर्मचारी, व्यापारी र आफूलाई अभिजात कोटिमा राख्नेहरू छन् । र, सम्भवतः उनीहरू मात्रै छन्, किनभने हैसियत नहुनेहरू उही मेक्सिको सीमामा पक्राउ पर्न गएका मात्र भेटिन्छन् ।

प्रतिभा पलायनको कारणबारे अक्सर दिइने, नेपालको उच्च शिक्षा गुणस्तरीय भएन भन्ने तर्कमाथि पनि थप चिरफार र बहस आवश्यक छ । निश्चय नै, आम शिक्षा (मास एजुकेसन) को गुणस्तरमाथि प्रश्न उठाउनु र पुनरवलोकन गुर्न आवश्यक छ, तर नेपालको हुनेखाने वर्गले लिइरहेको शिक्षाको गुणस्तर समग्रमा विश्वस्तरकै छ । तर समग्र परिदृश्य त्यो मात्रै होइन । भर्खरै एउटा समाचार आएको छ, अमेरिकी मेडिकल अनुमतिपत्र परीक्षा (यूएसएमएलई) मा सन् २०२४ देखि नेपालीहरूको सहभागितामा पुनर्विचार हुने सम्भवना छ । यसको कारण हो, नेपालबाट स्नातक हुने डाक्टरहरूले यो परीक्षामा पाइरहेको असाधारण मात्राको सफलता । अमेरिकी सरकार यसको कारण थाहा पाउन चाहन्छ । सीधै कुरा के हो भने, नेपाली मेडिकल शिक्षाको गुणस्तर चर्चा गरिएझैं यस्तो कमजोर हुन्थ्यो भने नेपाली विद्यार्थीहरूको सफलताको दर यति उच्च हुने थिएन । अमेरिका, अस्ट्रेलिया, बेलायत, क्यानडा, जापान लगायतका प्रतिष्ठित विश्वविद्यालयहरूमा नेपाली विद्यार्थीहरूको संख्या अत्यधिक रहेको तथ्यांकले पनि उनीहरूलाई नेपालका शैक्षिक संस्थाहरूले त्यहाँ भर्ना पाउन योग्य हुने गरी तालिम दिएको पुष्टि हुन्छ । सारमा, नेपाललाई नीचो देखाएर जसरी नेपालीहरू नै बिदेसिने बहाना खोजिरहेका छन्, त्यो सम्पूर्ण सत्य होइन । कुनै पनि बहानामा जसरी पनि मुलुक छोड्ने प्रवृत्तिका अन्तर्निहित कारणहरू सतहमा देखिएका र ओठे तर्कहरूभन्दा अधिक गहिरा छन् । त्यसको व्यवस्थित खोज र निराकरण गर्न राज्य तहबाटै पहलकदमी हुनुपर्छ ।

नयाँ लहर

अहिले जसरी पनि मुलुक छोड्न चाहने एउटा नयाँ तर सम्पन्न र हुनेखाने वर्ग सक्रिय देखिएको छ, यसले अहिलेसम्मका रोजगारी, शिक्षा र स्तरीय जीवनयापनको अभावका कारण मानिसहरू बिदेसिने गरेका सबै तर्क वा बहानाहरूलाई समूल खारेज गरिदिएको छ । कर्मचारीतन्त्र, सुरक्षा निकाय, बैंक तथा वित्तीय संस्थामा उपल्लै तहमा पुगेका वा पुग्ने सम्भावना भएकाÙ छोराछोरी राम्रो स्कुलमा पढाइरहेकाÙ घर–गाडी जोडिसकेका र धेरथोर सामाजिक प्रतिष्ठा पनि कमाइसकेका मानिसहरू नै ठूलो संख्यामा जसरी पनि मुलुक छोड्ने कसरतमा छन् । किन त ? कसैसँग पनि चित्तबुझ्दो जवाफ भने छैन । छोराछोरीको राम्रो पढाइ, यहाँ आर्जित सीपले कैयौं गुणा राम्रो कमाइ (खास गरी नेपाली मुद्रामा गणना गर्दा) हुने र नातागोता, छिमेकी, पुरेत सबै उतै भएकाले जान लागेकोजस्ता उत्तर अक्सर आउँछन् । केहीले नेपाली पासपोर्ट बोकेर हिँड्दा संसारको प्रत्येक विमानस्थलमा खेप्नुपर्ने अपहेलनालाई पनि कारण देखाउँछन् । तर, देशप्रतिको यो हदसम्मको मोहभंग हुन यत्ति नै कारण पर्याप्त नहुनुपर्ने हो ।

यी सबै तर्क र कारण सही नै मान्ने हो भने पनि मुलुकका लागि चाहिँ देशले पालेपोसेको यो वर्ग आफ्ना सन्ततिको नेपालसँगको सम्बन्धलाई चटक्कै चुँडालेर हिँड्नु ठूलो अभिशापको र आर्थिक नोक्सानको विषय हो । यदि मुलुकको हैसियत, इज्जत, सार्वजनिक सेवाको गुणस्तर सबै नै खराब भइसकेको हो भने पनि त्यसलाई उचित नीति निर्माण, व्यवस्थापन र व्यावसायिक सीपले परिस्थितिलाई उल्ट्याउन योगदान गर्न सक्ने र गर्नुपर्ने वर्ग यही हो । नेपालजस्तो खराब आर्थिक परिसूचकहरू भएको मुलुकबाट अवैध बाटोबाट यत्ति ठूलो रकम कसरी बाहिरिन्छ ? यो आफैंमा विडम्बनापूर्ण पक्ष छ । तथापि, यसरी बाहिरिइरहेको रकमको केही अंश मात्र यतै रोक्न र लगानी गर्न सक्दा यी सबै पक्षमा तत्काल सुधार ल्याउन असम्भव छैन । तर मुलुकले त्यो बाटो समात्न सकेन । कारण यही पलायनवादी मानसिकता हो ।

यसरी समग्र सामाजिक ऊर्जा, चिन्तन र मनोविज्ञान जसरी उल्टो दिशामा प्रवाहित भइरहेको छ, त्यसको परिणाम मुलुकको दुर्दशा पुस्ता–दर–पुस्ता बल्झिरहनु आश्चर्य होइन । तत्कालका लागि भौतिक सुख र उपलब्धि प्राथमिकताको विषय बन्ला, तर व्यक्तिको समाजसापेक्ष पहिचान, सहभाव र गौरव नै सन्तुष्टि एवम् समृद्धिका आधार हुन् । स्रोत, अवसर र उन्नति त्यसपछिका सहउत्पादन (बाइप्रोडक्ट) मात्र हुन् । तर अहिलेको नेपाली समाजले यतातिर फर्केर सोचिरहेको छैन । नेपाली मात्रै होइन, बाध्यताले नै देश र पहिचान त्यागेर अर्काको राज्यमा जानेहरूले खपेको अपमान, बहिष्करण र आत्मग्लानिका कथाहरू खोइ किन हो नेपाली मनोदशालाई झकझक्याउने गरी सतहमा आएका वा ल्याइएका छैनन् । आफ्नो र आफ्नो मुलुकको सम्पत्ति, छोराछोरी र उनीहरूको भविष्य लगेर कुनै गम्य कारणबिनै कुनै बिरानो मुलुकलाई सुम्पिदिनेजस्तो विद्रूप जागरण, ऊर्जा र चेत नेपालीले कसरी प्राप्त गरिरहेका छन् ? यदि यो मुलुकको पनि भविष्य छ भनेर मान्ने हो भने, यसमाथि गम्भीर बन्न अब ढिलो भइसकेको छ ।

चिन्ता कसको हो ?

यी सबै गतिविधि, प्रवृत्ति र परिणामबारे राज्यसञ्चालकहरू एवं यहाँका नियामक, प्राज्ञिक एवम् नागरिक समाज र मिडिया कोही पनि बिलकुल जानकर छैनन् त ? छन् भने उनीहरूले यो मात्रामा भइरहेको मनाव र पुँजी पलायनलाई स्वाभाविक मानेकै कारण राज्यले बनाउने नीति र कानुनहरूमा यसलाई नियमन वा निरुत्साहित गर्ने व्यवस्था हुन नसकेको हो ? कि मुलुक सञ्चालनको ठेकेदारी गर्ने शासकीय वृत्त र त्यसको वरिपरि घुमेर आफ्नो दुनो सोझ्याउन खप्पिस सुकिला दलालहरूबीचको स्वार्थ–साझेदारीले सबै कुरामा पर्दा लाएको हो ? यी प्रश्नका उत्तरहरू सहज छैनन् । अबका पाँच, दस वा पन्ध्र वर्षमा मुलुकको मुहार कस्तो होला भन्ने सवालसँग ती उत्तरहरू सीधै जोडिएर आउँछन् ।

निश्चय नै, बिनापरिश्रम थप आकर्षक जीवनयापनको विकल्प सहजै उपलब्ध होउन्जेल कसैलाई पनि बाँधेर राख्न सकिँदैन ।

मुलुकलाई नै आकर्षक विकल्प बनाउने प्रयास राज्यसत्ताले गर्नुपर्छ । यस दिशामा किन काम भइरहेको छैन ? सिङ्गो मुलुककै बारेमा यति धेरै नकारात्मक भाष्य कसले सृजना गरिरहेको छ र राज्यले त्यसलाई चिर्ने प्रयास किन गरेको छैन ?

धेरै अमूर्त शास्त्रार्थ नगर्ने हो भने पनि प्रत्येक वर्ष शिक्षाका नाममा बाहिरिने करिब ३ अर्ब अमेरिकी डलर, स्वास्थ्यमा २ अर्ब डलर र अवैध पुँजी पलायन अनुमानित ३ अर्ब डलर मात्रै मुलुकभित्र अड्याउने नीति बनाउन राज्यलाई केहीले रोक्नु नपर्ने हो । तर, त्यस्तो प्रतिबद्धताको झल्को राज्यले बनाउने आर्थिक, मौद्रिक, विकास र अन्य नीतिमा अनुभूति गर्न पाइएको छैन । सामाजिक संगठनहरू, दबाब समूह र ‘नयाँ’ ढंगको राजनीति गर्न तम्सेकाहरू कसैबाट पनि यी ‘अनौपचारिक’ कोटिमा राखिएका समस्यालाई ‘औपचारिक’ तवरले मुखरित गर्ने आवश्यकता ठानेका छैनन् । कम्तीमा यी समस्याहरूको वास्तविक आयाम कति फराकिलो र गहिरो छ भन्ने तथ्य उजागर गर्नसम्म त राज्यले तत्काल चासो दिनु आवश्यक छ ।

Published on: 26 June 2023 | Kantipur

Link

Back to list

;