s

हुन्डीले विद्यार्थीको पैसा ठगेपछि एनआरएन मैदानमा

हेमन्त काफ्ले
 
बैंकको ऋण काढेर उच्च अध्ययनका लागि अस्ट्रेलिया आएका विद्यार्थी हुन्डीको सिकार बन्न थालेपछि गैर आवासीय नेपाली संघ अस्ट्रेलिया स्वयम् हुन्डीबिरुद्ध मैदानमा उत्रिएको छ।
 
अष्ट्रेलियाबाट नेपालमा वैधानिक रूपमा रकम पठाउन सकिने भएपछि राज्यको कमजोर ब्यवस्थापन र दुई चार रूपैयाको लोभमा हुन्डीमा पुगेका विलार्थी ठगिएपछि एनआरएनले पहल गर्ने भएको हो। एनआरएन भिक्टोरियाका संयोजक तथा एनआरएन अस्ट्रेलियाका उपाध्यक्ष केशव कँडेलले हुन्डीवालालाई सम्बोधन गर्दै विलार्थीको पैसा फिर्ता गर्न आग्रह गरेका थिए। त्यसपछि सिडनीको ढकाल थरका हुन्डीवालले पैसा फिर्ता गरेको पीडित विद्यार्थीले सेतोपाटीलाई जानकारी गराए।
 
अस्ट्रेलियामा फेसबुकमा अनेकन प्रलोभनका विज्ञापन गर्ने हुन्डीवालाको कारण यतिबेला विद्यार्थी ठगिने क्रम बढेको छ। विद्यार्थीहरु एक दुई रुपैयाँ प्रति डलरको लोभमा फेसबुककै आधारमा नचिनेको ब्यक्तीको खातामा पैसा जम्मा गर्ने हुँदा ठगिने क्रम बढेको उपाध्यक्ष केशब कँडेलले बताए। ‘यतिखेर फेसबुकमा विद्यार्थीलाई काम, कोठा, आदि इत्यादिका लोभमा नक्कली एकाउन्टमार्फत लगत संकलन गर्ने र हुन्डी, ट्राभलजस्ता प्रयोजनमा प्रयोग बढेको छ,’ एक भुक्तभोगीले सेतोपाटीलाई बताए।
 
यसबाट पठाएको पैसा समयमा नपुग्नुका साथै ठगिने समस्या पनि बढेको छ। विद्यार्थी भाइबिहनीलाई नेपालमा पैसा पठाउँदा भरपर्दो र कानूनी माध्यमबाट पठाउन समेत एनआरएनका उपाध्यक्ष कँडेलले आग्रह गरेका छन्। ‘केही डलरको लोभमा पछिलाग्दा र नचिनेको व्यक्तिमार्फत कारोबार गर्दा विद्यार्थीहरुले तनाव झेल्नु परेको गुनासो आइरहेको छ,’ उपाध्यक्ष कँडेलले भने। अस्ट्रेलियामा हुण्डीको नाममा फेसबुकबाट प्रचार गर्न होडबाजीनै चलेको छ ।
 
मुलुकमा हुण्डिमाथि प्रतिबन्ध लागे पनि अस्ट्रेलियामा हुण्डी खुलेआम चलिरहेको छ। अन्तर्राष्ट्रिय मनी ट्रान्सफर कानुनी भएकाले यहाँ हुण्डी निर्वाध रूपमा दर्ता गरेरै चलेका हुन्। ‘मौका गुमाउनुहोला है!’, ‘आजको सर्वाधिक राशी हाम्रो ठाउँमा’ अथवा ‘हामी बिना शुल्क पठाउँछौ’ या ‘तपाईँको दाम हाम्रो सही ठेगानामा पु‍र्‍याउने काम’ जस्ता लोकप्रिय नारा यतिखेर अस्ट्रेलियामा फेसबुक खुल्ने बित्तिकै हेर्न पाइन्छ।
 
साच्चिकै हुण्डीका ठूला कारोबारीभन्दा ससना पटकेले ग्राहक आकर्षित गर्न नक्कली फेसबुकमा यस्ता विज्ञापनका होडबाजी राख्ने गरेका छन्। जसले दसौं वर्षदेखि हुण्डी व्यवसाय चलाएर बसेका छन् उनीहरूका लागि यस्ता सामाग्री आवश्यक हुँदैन। किनभने, उनीहरूसँग भएका प्रसस्तै जनसम्पर्क र अन्तर्राष्ट्रिय नेटवर्कले प्रचारको जरूरी हुँदैन।
 
हरेक महिना फरक कम्पनी, फरक एकाउन्ट र फरक नाममा खोलिने यस्ता धन्दामा ग्राहकको परिचयपत्र समेत उपयोग गरिएको देखिन्छ। जुन कुरा कही कतै सानो गल्तीमा पनि ठूलो सजायको भागिदार बन्न सक्ने डर रहन्छ।
 
एनआरएन अस्ट्रेलियाका प्रवक्ता डिला खरेलले नेपाली विद्यार्थीलाई नेपाल पैसा पठाउँदा वैधानिक बाटो अपनाउन आग्रह गरेका छन्। ‘एक दुई रूपैयाको लोभले ठगिने मात्र होइन कहिलेकाँही अप्ठयारो स्थिति पनि सृजना हुनसक्छ त्यसैले विद्यार्थी भाइबहिनीहरू यस्तो प्रलोभनमा नपर्न अनुरोध गर्दछु,’ पवक्ता खरेलले अनुरोध गरे।
 
Published on: 19 July 2018 | Setopati

Back to list

;