s

हुन्डी कारोबार घट्दा रेमिट्यान्समा उल्लेख्य वृद्धि

हुन्डीबाट आउने गरेको रकम औपचारिक माध्यमतिर सरेपछि रेमिट्यान्समा उल्लेख्य सुधार देखिएको छ।नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३६. ४ प्रतिशतले रेमिट्यान्स बढेको छ। जवकि अघिल्लो वर्ष १. ४ प्रतिशतले रेमिट्यान्स घटेको थियो।
 
साउनदेखि कात्तिकसम्म ३ खर्ब १२ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। कामका लागि विदेसिनेको संख्या घट्दा समेत रेमिट्यान्समा उच्च वृद्धि देखिनुका पछाडि अमेरिकी डलरसँगै तीन कारण प्रमुख रहेको राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापा बताउँछन्।
 
अमेरिकी डलर महँगो भएकाले रेमिट्यान्स वृद्धिमा केही टेवा पुगे पनि औपचारिक माध्यमबाट भित्रिने रकम बढेकाले नै यसमा उल्लेख्य सुधार देखिएको थापाले बताए। राष्ट्र बैंकको तथ्याङ्कअनुसार अमेरिकी डलरमै रेमिट्यान्स २३. १ प्रतिशतले बढेको छ।
 
‘खासगरी भारत, जापान, कोरिया, अष्ट्रेलिया, मलेसिया लगायत देशहरुबाट औपचारिक माध्यमबाट रकम आउन थालेसँगै रेमिट्यान्समा उल्लेख्य सुधार भएको हो’ थापाले सेतोपाटीसित भने।
 
ति देशहरुमा अहिले रेमिट्यान्स कम्पनीहरु बढेको र तिनै कम्पनीबाट पैसा पठाउने चलन बढेको थापाले बताए। त्यस्तै बैंकहरुबीचको सहकार्यले पनि औपचारिक रेमिट्यान्सलाई मद्दत गरेको छ।
 
नेपालमा रहेका आइएनजिओको आर्थिक क्रियाकलाप बढ्दा समेत रेमिट्यान्समा उल्लेख्य देखिएको हुन सक्ने थापाले बताए। ‘आइएनजिओको आर्थिक क्रियाकलाप बढ्दा उनीहरुका लागि आउने रकम पनि रेमिट्यान्समा देखिएको हुन सक्छ, यो एउटा अनुसन्धानको विषय पनि हो’ थापाले भने।
 
प्रहरीले हुन्डी कारोबारलाई निशाना बनाई निगरानी गर्न थालेपछि औपचारिक माध्यमतिर रेमिट्यान्स सर्न थालेको हो। असार र साउनमा मात्रै विभिन्न ठाउँबाट १० जना हुन्डी कारोबारी पक्राउ परे। वीरगञ्ज–१२, रानीघाटबाट हुन्डी कारोबार गर्ने गरेका राहुल केशरी पक्राउ परे।
 
असारमै हुन्डी कारोबारमा संलग्न भएको पाइएपछि धरानका विष्णु गुरुङ, इटहरीका सुरज गुरुङ, सङ्खुवासभाका भीमबहादुर खत्री र दीपेश गुरुङ पक्राउ परे।
 
त्यस्तै साउनमा दिल्ली घर भइ काठमाडौं महानगरपालिका कुलेश्वर बस्ने विजय गुप्ता, महालक्ष्मी नगरपालिकाका दीपक श्रेष्ठ, चितवन खैरेनीका संजित पाण्डे, भारतीय नागरिक अंकित अग्रवाल र महालक्ष्मी नगरपालिकाका पुजन छाला जिमी पक्राउ परे।
 
मनिट्रान्सफरमा अवैध तरीकाले हुन्डी कारोबार गरेको पाइएपछि पोखराबाट मंसिरमा नेत्रलाल ज्ञवाली र प्रकाश थापा पक्राउ परे।
 
Published: 27 December 2018 | Setopati

Back to list

;