s

हुन्डी बजारमा डलर ७ रुपैयाँ महँगो

- गोकर्ण अवस्थी, काठमाडौं
 हुन्डी बजारमा अमेरिकी डलर चलनचल्तीको दरभन्दा ७ रुपैयाँ महँगोमा किनबेच भइरहेको छ । विशेषगरी हङकङबाट नेपाल रकम पठाउन चाहनेले एक डलरको भाउ १ सय १५ रुपैयाँ पाइरहेका छन् । जबकि राष्ट्र बैंकले सार्वजनिक गर्ने औसत दरअनुसार डलरको भाउ १ सय ८ रुपैयाँ छ । 
 
हुन्डी गैरबैंकिङ माध्यमबाट एक देशबाट अर्को मुलुकमा रकम पठाउने अवैध धन्दा हो । यसको लेखाजोखा सरकारसँग नहुने हुँदा अवैध कारोबारका लागि यसरी अवैध रूपमा रकम ओसारपसार हुने गरेको छ ।
 
हङकङबाट सुनको अवैध आयात बढी हुने र चीनबाट आउने सामानको न्यून मूल्यांकन हुने हुँदा डलरको माग बढी भएको हो । माग बढी भएकाले डलरको भाउ अकासिएको हो । ‘हङकङमा धेरैतिरबाट रकम जम्मा हुन्छ र यहाँबाट सुन अवैध रूपमा नेपाल जाने गरेको छ,’ हङकङमा कार्यरत एक व्यवसायीले भने, ‘त्यसैले हुन्डीमा डलर बढी मूल्यमा किनबेच हुने गरेको हो ।’ 
 
अवैध सुनको भुक्तानी गर्न बैंकबाट रकम पठाउन सम्भव हुँदैन । त्यसैले हङकङबाट नेपाल रकम पठाउन चाहने मात्र नभई अन्य देशमा जम्मा भएको डलर पनि हङकङ ल्याइन्छ । मध्यपूर्व मलेसिया, युरोप र अमेरिका लगायतमा काम गर्ने नेपालीले परिवारका लागि रकम पठाउन चाहन्छन् । त्यो रकम हुन्डीवालाहरूले डलरमा परिवर्तन गरेर हङकङ पुर्‍याउँछन् । हुन्डीले थोरै कमिसन लिने र बढी भुक्तानी गर्ने हुँदा कामदार पनि उनीहरूलाई रकम बुझाउन हिच्किचाउँदैनन् । 
 
व्यवसायीका अनुसार हङकङमा रकमको स्रोतबारे धेरै सोधखोज नहुने भएकाले रकम ल्याउन सजिलो छ । अनि सुनको भुक्तानी अमेरिकी वा हङकङ डलरमा गरिन्छ । हुन्डी बजारमा हङकङ डलर पनि १४ रुपैयाँ ७० पैसामा किनिन्छ । दुई साताअघि यसको दर १५ रुपैयाँ थियो । चिनियाँ नयाँ वर्षका कारण हाल केही कम भएको व्यवसायी बताउँछन् । 
 
जबकि औपचारिक दर १३ रुपैयाँ ९० पैसा छ । 
 
हङकङ, चीन र दुबई अवैध रूपमा सुन आयात हुने मुख्य देश हुन् । नेपाल हुँदै भारत पठाउने नियतले यी मुलुकबाट अवैधानिक रूपमा सुन आयात हुन्छ । एक किलो सुन भारत पुर्‍याउन सके कम्तीमा ६ लाख रुपैयाँ नाफा हुने गरेको छ । 
 
भन्सार छलीको सुन भारतीय बजारमा सस्तो हुने भएकाले माग बढी छ । सजिलै बिक्री हुने भएकाले भारतमा निरन्तर माग बढिरहेको छ । हङकङबाट जहाजमा सुन तस्करी हुने गरेको व्यवसायी बताउँछन् । अवैध सुन ल्याउन सहज बनाउन एक्सरे मेसिनमा समेत छेडखानी हुने गरेको व्यवसायी बताउँछन् ।
विमानस्थलमा ओर्लेर अध्यागमनबाट बाहिर आएपछि भर्‍याङ चढेर तल आउँदा एक्सरे मेसिन छ ।
 
त्यहाँ सर्वसाधारणले हातमा बोकेको झोला पनि स्क्यान (विद्युतीय छानबिन) हुन्छ । यसले झोला भित्रका सामानबारे जानकारी दिन्छ । ‘हङकङबाट जहाज आउने बेला त्रिभुवन विमानस्थलमा चहलपहल नै बेग्लै हुन्छ,’ एक अर्का व्यवसायी भन्छन्, ‘मैले अनुभव गरेअनुसार त्यति बेला प्राय: विमानस्थलको एक्सरे मेसिन पनि बिग्रेको हुन्छ ।’
 
चीन अर्को सुन अवैध आयात हुने स्रोत मुलुक हो । चीनको सुन त तातोपानी नाकाबाट पनि तस्करी हुने गरेको छ । यसको प्रमाण तातोपानी नाका बन्द हुँदा बढेको वैध आयात पनि हो । गत आर्थिक वर्षको पहिलो ६ महिनामा १ अर्ब रुपैयाँको वैध सुन आयात भएको थियो । यस वर्षको ६ महिनायता तातोपानी बन्द छ भने सुनको वैध आयात पनि ११ अर्ब रुपैयाँ पुगेको छ । नेपाली बजारमा पनि वैधानिकभन्दा भन्सार छलेर आएको सुन सस्तो हुने हुँदा यहाँ पनि निकै बिक्री हुने गरेको छ । 
 
यसबाहेक न्यून भन्सार मूल्यांकन गरेर चीनबाट आयात भएका सामानको भुक्तानीका लागि पनि नगदै डलर आवश्यक हुन्छ । अवैध बजारमा डलरको भाउ बढी हुनुको अर्को कारण यो हो । भन्सार छल्नका लागि व्यवसायीले चीनमा वास्तविक तिरेको रकमभन्दा कम बिल देखाएर सामान आयात गर्छन् ।
 
बिल बराबरको रकम बैंकबाट नै भुक्तानी हुन्छ । तर, वास्तविक मूल्य र भन्सारमा बुझाइएको मूल्य बीचको फरक बराबरको रकम भने नगदै भुक्तानी गर्नुपर्ने हुन्छ । त्यसैले पनि नगद डलरको भाउ बढी भएको व्यवसायी बताउँछन् ।
 
Published on: 11 February 2016 | Kantipur

Back to list

;