s

एचआर सोलुसनको इजाजत रद्द

काठमाडौँ, असोज ५ गते । वैदेशिक रोजगार विभागले युरो एसिया एचआर सोलुसन (म्यानपावर) कम्पनीको इजाजत रद्द गरी सञ्चालकविरुद्ध मुद्दा दायर गरेको छ । युवालाई युरोपका विभिन्न देश, जापान र अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको पाइएपछि विभागले उक्त म्यानपावर कम्पनीको इजाजत रद्द गरी सञ्चालकविरुद्ध मुुद्दा दायर गरेको हो ।

विभागका अनुसार म्यानपावरका सञ्चालक तुलसीप्रसाद श्रेष्ठ, लालबहादुर पुलामी, अमृत श्रेष्ठ तथा कर्मचारी रमेश कोइराला भनिने फडिन्द्र कोइरालाको समेत मिलेमतोमा सरिता भुजेललगायतका ४३ जनालाई युरोपका विभिन्न देश, जापान र अमेरिका पठाइदिन्छु भन्दै तीन करोड ८२ लाख २८ हजार ४९८ रुपियाँ ठगी गरेको पाइएको छ । ठगी गर्ने सो म्यानपावर कम्पनीको इजाजत रद्द गरी सञ्चालकविरुद्धमा वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दायर गरेको विभागले जनाएको छ ।

वैदेशिक रोजगारीमा श्रमिक पठाउन इजाजत लिएको एचआर सोलुसन म्यानपावरका सञ्चालकले रकम लिएपछि पीडित श्रमिकलाई वैदेशिक रोजगारीमा पनि नपठाउने र लिएको रकम पनि फिर्ता नदिने गरेपछि विभागमा उजुरी परेको थियो । म्यानपावरका सञ्चालकलाई पटक पटक सम्पर्क गरी ऐन अनुसार रकम फिर्ता गरी मुद्दाको फरफारकका लागि अनुरोध गरे पनि नटेरेपछि निलम्बन गरेको विभागले जनाएको छ । उजुरीउपर छानबिन गरी विभागले म्यानपावरका सञ्चालकविरुद्ध तीन करोड ८२ लाख २८ हजार ४९८ रुपियाँ बिगो र त्यसको ५० प्रतिशतले हुन आउने हर्जानासमेत भराउने मागदाबीसहित अभियोगपत्र दायर गरिएको छ ।

Published on: 22 September 2023 | Gorkhapatra

Link

Back to list

;