s

हाउसमेडको फरक कथा

Hom Karki

“उनलाई यही बच्चाले नेपालीसँग भेटघाट गर्ने अवसर जुरायो । घरको चौघेराबाट बाहिरी दुनियाँ देखायो । अमेरिकासम्म पुर्‍यायो । दुई वर्षदेखि अस्पातालमै बसाइरहेको छ ।“

तँ लक्की छस् भने राम्रो हुन्छ । लक्की छैन्स भने नराम्रो घरमा पर्छ,' झापाकी  मेनुका दाहाल आफ्नो फुपूको यही भनाइबाट पहिलोपल्ट विदेश जान प्रेरित भएकी थिइन् । वैदेशिक रोजगारीमा गएका सबैजसो महिलाले राम्रो काम पाउँछन् भन्ने छैन । मेनुकाले यसरी विदेश जानेले पाउने यातना र पीडाका बारेमा सुनेकी थिइन् । तर, आपmनो भाग्य जाँचौं न त भन्दै २४ वर्षीया उनी खाडीमा पुगिन् ।

'म ओमन जाने योजना भएको थियो । तर, कतारको भिसा आइपुग्यो,' उनले भनिन्, 'यो कुरो उड्ने केही दिनअघि मात्रै थाहा पाए ।' उनी पाँचजनाको परिवार सदस्य भएको घरमा परिन् । त्यतिखेर त्यस घरमा एकजना इथोपियन् थिइन् । अरबी पनि नजान्ने । अंग्रेजीमा कमजोर मेनुकाको लागि सुरुको तीन महिना भाषाकै कारण तनावमा बिते । बिस्तारै अरबीमा घुलमिल हुन थालेपछि उनमा आँट आयो ।

उनले दुई वर्षसम्म नेपाली बोल्न पाइनन् । 'कहिलेकाहीँ मालिक्नीसँग सुपरमार्केट जाँदा नेपालीहरू देख्थें, त्यो बेला मनै हरर हुन्थ्यो,' उनले आपmनो दुःख सुनाइन् । उनी बस्ने घरमा कान्छी छोरीले जन्म लिएपछि भने मेनुकाको कामको शैली फेरियो । कान्छी छोरी अलि बिरामी परिछिन् । खाना खानै नमिल्ने । उनलाई डाक्टरको निगरानीमा राख्नुपर्ने भयो । त्यसपछि घर छाडेर अस्पताल बस्नुपर्ने भयो । मेनुका दुई वर्षदेखि अस्पतालमा तिनै कान्छी छोरीलाई कुरेर बसेकी छन् ।

अहिले उनकी मालिक्नीकी कान्छी छोरी तीन वर्षकी भइन् । कहिलेकाहीं उनका बाबुआमा भेट्न आउँछन् । केहीबेर बस्छन् । अनि जान्छन् । अधिकांश समय मेनुका नै हुन्छिन् । अस्पताल आएपछि उनको एउटा खुसी थपियो, 'नेपालीसँग भेट हुनथाल्यो । नेपाली बोल्ने मौका पाइयो,' उनले भनिन् । उनका लागि बाहिरी दुनियाँ कतिसम्म खुल्यो भने, उनी अमेरिकासमेत पुगेर आइन् ।

अस्पतालमा बसेको सातौं महिनातिर मालिक आएर 'एक्कासि हामी अमेरिका जान लागेको । तिमी पनि तयार हुनू भने' । सुरुमा उनलाई विश्वास लागेन । पछि अमेरिकाको साटो नेपालै जान्छु भनिन् । तर, मालिकले बच्चा अरूसँग नमान्ने भएकाले छिट्टै फर्किने गरी जाने बताए ।  

एक महिना अमेरिका बसेर फर्केपछि उनको जीवन फेरि अस्पतालमै छ । अमेकिामा पनि उनले केही नेपाली भने भेटिन् । अस्पतालमा बस्न पाउँदा उनी दंग छिन् । उनको मनमा चिन्ता छैन । एक्लोको अनुभव हुँदैन । 'जेलबाट मुक्त भएको जस्तो अनुभव लागेको छ,' उनले सुनाइन् । अस्पतालको क्लिनरमा नेपाली महिलाहरूले काम गर्ने भएकाले उनलाई नेपालको न्यास्रो पनि कम भएको छ ।

१० कक्षा पढ्दा-पढ्दै साथीको लहलहैमा लागेर पढाइ छाडेकी मेनुकाले कतार बस्न थालेकी चार वर्ष बितिसकेको छ । नौलो ठाउँ, नौलो परिवेश र संस्कृतिमा डुबुल्की मारेकी उनलाई अब स्वदेश फर्किने रहर लागेको छ । 'अब गएपछि फेरि फर्केर आउँदिनँ । विदेश आउने रहर थियो, पूरा भयो,' मासिक २०/२५ हजार कमाउने मेनुका भन्छिन्, 'सँगै आएको दिदीको घर नराम्रो परेपछि तुरुन्तै फर्किनुभएछ । मेरो भाग्य बलियो नै रहेछ ।'

Published on: 29 September 2012 | Kantipur

Back to list

;