s

होटलभित्र ह्वीलचियरमा थिए मानव तस्करी आरोपित

जनकराज सापकोटा

काठमाडौँ — झन्डै एक महिनायता पानीपोखरीस्थित प्रहरी अस्पतालको एउटा कोठामा छन्, ४४ वर्षीय राजेन्द्र खड्का । कम्मरमुनिको भाग नचल्ने भएकाले ह्वीलचियरको सहारामा हिँडडुल गर्ने उनी अस्वस्थ भएर अस्पताल भर्ना भएका होइनन् । अस्पतालभित्र पनि उनको सुरक्षामा प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्युरोका चार जना खटिएका छन् ।

प्रहरीको मानव बेचबिखन ब्युरोमा ३९ वर्षीय महिलाले जाहेरी दिएकी थिइन् । आफूलाई रोजगारीको प्रलोभनमा पारेर बेल्जियम पुर्‍याइदिने भन्दै बैंकक पुर्‍याइएको, पटक–पटक गरेर ८ लाख ५४ हजार रुपैयाँ ठगिएको र यौन शोषणमा पारेको जाहेरीमा उल्लेख थियो ।

जाहेरीका आधारमा आरोपितको खोजीमा जुटेको प्रहरी सिनामंगलस्थित एक होटलमा पुग्यो । खड्का त्यहीँ विलासी शैलीमा तीन चरणको सुरक्षा घेरामा बसेका रहेछन् । उनको अंगरक्षक बताउनेले सुरुमा त प्रहरीलाई छिर्नै दिएनन् । जब खड्का पक्राउ परे, त्यसपछि प्रहरीलाई आपत् पर्‍यो किनकि उनी अरूजस्ता सामान्य आरोपित थिएनन् ।

अपांगतामैत्री संरचना नभएकाले ह्वीलचियर प्रयोगकर्ता खड्कालाई कसरी गाडीभित्र राख्ने भन्नेमै सुरुमा समस्या पर्‍यो । चार/पाँच जना प्र्रहरीले ह्वीलचियर सहित बोकेर उनलाई गाडीभित्र छिराए र बयानका निम्ति ब्युरो पुर्‍याए ।

पक्राउ परेका आरोपितलाई ब्युरोले पहिलो तलामा रहेको मुद्दा शाखामा राखेर प्रारम्भिक बयान लिनुपर्ने हो । तर मुद्दा शाखामा ह्वीलचियर पुग्न नसक्ने भएकाले प्रहरीले भुइँ तलामै आएर खड्काको बयान लियो । बयान सकिएपछि थुनामै राख्नुपर्ने आरोपितलाई ब्युरोले सकेसम्म महानगरीय प्रहरी वृत्त सिंहदरबार वा अन्य वृत्तको थुना कक्षमा पठाउँछ । तर खड्काको हकमा भने यो नियम लागू भएन ।

शारीरिक समस्याका कारण उनलाई दिसापिसाबका निम्ति कमोडयुक्त शौचालय आवश्यक थियो । ब्युरो प्रमुख एसएसपी दुर्गा सिंहले उनलाई थुनामा राख्ने ठाउँको खोजी सुरु गरिन् । ‘तर कतै कमोडयुक्त थुना कक्ष भेटिएन,’ उनले भनिन् ।

धेरैतिर सोधखोजपछि ब्युरोले खड्कालाई पानीपोखरीस्थित प्रहरी अस्पतालमा राख्ने व्यवस्था मिलायो । आर्थिक रूपमा सम्पन्न उनी दैनिक २ हजार शुल्क तिर्ने गरी अस्पतालको थुना कक्षमा बस्न राजी भए । एसएसपी दुर्गा सिंहले भनिन्, ‘यो घटनाले प्रहरीमा अपांगतामैत्री पूर्वाधारको खाँचो रहेछ भन्ने पाठ सिकाइदियो ।’

भारतको राजस्थान बस्ने ३९ वर्षीया नेपाली महिला आर्थिक समस्यामा परेपछि वैदेशिक रोजगारीमा जान खोजिरहेकी थिइन् । त्यही बेला दिल्ली बस्ने कमल बस्नेतले उनलाई खड्कासँग चिनजान गराइदिए ।

खड्काले बेल्जियम पुर्‍याइदिने र त्यसका निम्ति १० लाख लाग्ने बताए । प्रहरीमा पीडितले दिएको जाहेरीअनुसार आफूले त्यतिका पैसा तिर्न नसक्ने बताएपछि खड्काले आठ लाखमै कुरा मिलाइदिने जवाफ दिए ।

८ वर्षयता बैंककमा कपडाको व्यापार गर्ने आशीर्वाद थाई कम्पनी लिमिटेड चलाएर बसेका खड्काले ती महिलालाई दिल्लीबाट सोझै बेल्जियमको भिसा नलाग्ने बताउँदै भने, ‘भिजिट भिसामा बैंकक जाने र त्यहीँबाट भिसा लगाउने ।’ खड्काकै अनुसार उनी २०७६ जेठ ९ मा कोलकाताबाट पर्यटक भिसामा बैंकक पुगिन् ।

बैंकक पुग्नुअघि नै उनले पटकपटक गरेर झन्डै २ लाख रुपैयाँ बुझाइसकेकी थिइन् । बैंककको १४ दिने भिसा सकिँदासम्म पनि उनलाई खड्काले बेल्जियम उडाउन सकेनन् ।

त्यसपछि उनी १७ दिन गैरकानुनी रूपमा ओभर स्टेमा रहिन् । त्यसबीच उनले वैदेशिक रोजगारीमा कतारमा रहेका भाइसँग एक लाख रुपैयाँ मागेर खड्कालाई बुझाइन् । र, उनकै सल्लाहअनुसार कोलकाता नै फर्किइन् ।

पहिलो असफल प्रयासपछि पनि उनलाई खड्काले बेल्जियम पुर्‍याइदिन्छु भन्न छाडेनन् । फेरि २०७६ साउन ७ मा उनी ३ महिने बिजनेस भिसामा बैंकक पुगिन् ।

खड्काले बेल्जियमका लागि भिसा लगाउन ८ सय डलर चाहिने भनेपछि खोजखाज गरेर सबै पैसा पनि बुझाइन् । तर, भिसा सकिन लागेपछि खड्काले उनलाई दुई भारतीयसँग भेटाइदिए । ती थिए, लुधियाना बस्ने ४५ वर्षीय पर्विन्दर सिंह र ३७ वर्षीय हर्मित सिंह ।

पर्विन्दर र हर्मितले उनलाई भिसाका लागि फोटो खिच्न भन्दै बोलाए । पीडितले प्रहरीमा दिएको जाहेरीअनुसार फोटो खिच्ने बहानामा उनीहरूले यौन शोषण गरे । निरुपाय बनेकी उनलाई भिसा थप गर्नका निम्ति बैंकक छोड्नुपर्ने बताए ।

उनीहरूकै एक मान्छेको साथ लागेर उनी २०७६ कात्तिक ५ मा कम्बोडिया पुगिन् । एक दिन त्यहाँ बसेर बैंकक फर्केपछि उनलाई बेल्जियमको भिसा लगाउने भन्दै भारतीयहरूले २०७६ फागुन १९ गते मलेसिया उडाइदिए ।

बारम्बार आर्थिक शोषण र यौन शोषणमा परेकी उनी मलेसिया पुगेर फेरि अलपत्र परिन् । मलेसिया बस्ने बहिनीज्वाइँकहाँ ११ दिन शरण लिएर २०७६ चैत २ गते कोलकाता नै फर्किइन् । २०७६ को जेठबाट सुरु भएर चैतमा अन्त्य भएको उनको धपेडी र हैरानीले भरिएको यात्रामा ८ लाख ५४ हजार गुमाइन् ।

त्योभन्दा धेरै उनले शारीरिक र मानसिक प्रताडनाका कहालीलाग्दा समय भोगिन् । कोलकाता फर्केको केही समयपछि उनले प्रहरी जाहेरी दिइन्, सोही आधारमा गत कात्तिक ४ गते खड्का काठमाडौंबाट पक्राउ परेका हुन् ।

बागलुङ गलकोटका खड्का २०५८ जेठ २ गते महाराजगन्जमा मोटरसाइकल दुर्घटनामा परे । कम्मरमुनिको भाग नचल्ने भएपछि उनी ह्विलचियर प्रयोगकर्ता बने ।

दुर्घटनाको १२ वर्षपछि एक भारतीयको सहयोगमा आफू बैंकक पुगेको उनले प्रहरीलाई बयान दिएका छन् । औपचारिक रूपमा १० कक्षासम्म मात्रै पढेको बताउने उनी बैंककमा कपडा व्यापार गर्थे ।

तर उनको भित्री धन्दा भने बेल्जियमदेखि क्यानडा उडाइदिने नाममा संगठित मानव तस्करीको धन्दा चलाउने रहेको खुल्दै गयो । अहिले खड्का पक्राउ परेको खबर सुनेर ब्युरोमा उनीबाट पीडित अन्य व्यक्तिसमेत सम्पर्कमा आएका छन् ।

प्रहरीले पक्राउ गर्दा उनको मोबाइलमा विदेश जाने प्रक्रियामा रहेका ८ जनाको प्रहरी रिपोर्टदेखि एक जनाको काठमाडौं–शारजहाँको हवाई टिकट, केही पासपोर्ट र कागजात थिए । एसएसपी सिंह भन्छिन्, ‘धेरै जनालाई विदेश पठाइदिने नाममा ठग्ने र मानव बेचबिखनमा संलग्न रहेको देखियो ।’

Published on: 10 November 2021 | Kantipur

 

Link

Back to list

;