s

होटल श्रमिकद्वारा आन्दोलनको चेतावनी

होटल, क्यासिनो तथा रेस्टुरेन्ट श्रमिकले १० प्रतिशत सेवाशुल्क, श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन कार्यान्वयनको माग गर्दै आन्दोलनको चेतावनी दिएका छन्। नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेस्टुरेन्ट मजदुर युनियन (नेस्वहोमयू) ले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी २१ दिने अल्टिमेटमसहित आन्दोलनको चेतावनी दिएको हो। पत्रकार सम्मेलनमा युनियन अध्यक्ष सूर्यबहादुर कुँवरले श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा योजना तत्काल लागू गराउन सरकार र व्यवस्थापकको ध्यानाकर्षण गराए।

होटल, क्यासिनो तथा रेस्टुरेन्ट क्षेत्रका श्रमिकको माग २१ दिनभित्र पूरा नभए सम्पूर्ण होटल, क्यासिनो तथा रेस्टुरेन्ट ठप्प पार्ने उनको भनाइ छ। नेपाल भ्रमण वर्षको पूर्वसन्ध्यामा पर्यटन क्षेत्र विशेषतः होटल, क्यासिनो तथा रेस्टुरेन्ट क्षेत्रमा कुनै पनि किसिमको अवरोध भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने समेत उनको भनाइ छ।’ भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा होटल श्रमिकको आन्दोलनका कारण पर्न जाने असुविधाको जिम्मेवारी सरकार स्वयंले लिनुपर्ने उनले जनाए।

कतिपय होटल तथा रेस्टुरेन्टमा श्रमिकहरु मसिक सात हजारसम्म तलबमा काम गर्न बाध्य रहेको भन्दै संगठनले ती र त्यस्ता होटल, रेस्टुरेन्टमा सरकारले तोकेको न्यूनतम पारिश्रमिक लागू गराउन माग गरेको छ। संगठनले होटल, रेस्टुरेन्ट क्षेत्रमा श्रमिकले कानुनी रुपमा पाउनुपर्ने १० प्रतिशत सेवाशुल्क सबै स्थानमा नपाइरहेको भन्दै क्यासिनो क्षेत्रमा पनि मापदण्ड बनाएर १० प्रतिशत शेवाशुल्क तत्काल लागू गराउन युनियनले ध्यानाकर्षण गराएको छ।

युनियनले कानुनी रुपमा श्रमिकले पाउनुपर्ने सबै सुविधा तत्काल पाउनुपर्ने, बन्द भएका क्यासिनो तत्काल सुचारु गर्नुपर्ने र ती क्यासिनोमा पूर्ववत रुपमा कार्यरत सबै श्रमिकको बक्यौता तत्काल भुक्तानी गर्न माग गरेको छ। श्रमिक अधिकारको सुनिश्चितता तथा भ्रमण वर्ष–२०२० सफल पार्न पर्यटन क्षेत्रका श्रमिकको प्रतिनिधित्वको व्यवस्थापन गर्न पनि संगठनले सरकारको ध्यानाकर्षण गराएको छ।

Published on: 1 October 2019 | Nagarik

Back to list

;