s

होटल संघ र सम्बद्ध ट्रेड युनियनबीच बढेको पारिश्रमिक लागू गर्ने सहमति

कान्तिपुर संवाददाता 

काठमाडौँ — होटल संघ र सम्बन्धित केन्द्रीय ट्रेड युनियनबीच बढेको पारिश्रमिक लागू गर्ने सहमति भएको छ । होटल संघ अध्यक्ष सृजना राणाको अध्यक्षतामा तीनवटै क्रियाशील केन्द्रीय स्तरका ट्रेड युनियनहरु नेपाल स्वतन्त्र होटल क्यासिनो तथा रेस्टुरेन्ट मजदुर युनियन, अखिल नेपाल होटल क्यासिनो तथा रेस्टुरेन्ट मजदुर संघ र नेपाल पर्यटन तथा होटल सम्बद्ध श्रमिक संघका प्रतिनिधिबीच भएकाे संयूक्त छलफलमा बढेको पारिश्रमिक लागू गर्ने तथा होटल व्यवसाय सञ्चालनलाई निरन्तरता दिने सहमति भएको हो ।

कोरोनाको असरका कारण लामो समय होटल व्यवसाय सञ्चालन हुन नसकेको र पछिल्लो समय क्रमिक रुपमा सञ्चालन हुन थालेसँगै कर्मचारीहरुसँग सौहार्द्धपूर्ण वातावरणमा काम गर्ने सम्बन्धमा छलफल केन्द्रित भएकाे थियो । विगतमा गरिएका सम्झौताको समय पनि समाप्त भइसकेको हुँदा नयाँ सम्झौता भएको होटल संघले जनाएको छ । संघ र कर्मचारीबीच भएको सम्झौतामा भनिएको छ ‘संचालनमा आएका होटलहरुका लागि २०७६ चैत ११ गतेभन्दा अगाडि श्रमिक तथा कर्मचारीले प्राप्त गरेका तलव, भत्ता, सेवासुविधा तथा सामूहिक सम्झौताबाट प्राप्त गरिएका सुविधाहरु उपलव्ध गराउने र नेपाल सरकारले वृद्धि गरेको पारिश्रमिकलाई लागू गर्ने ।’

त्यस्तै होटल प्रतिष्ठान र श्रमिकबीचमा विगतमा भए गरेका वा भविष्यमा हुने सम्झौताहरुको हकमा कुनै श्रम विवाद उत्पन्न हुन गएमा केन्द्रीय ट्रेड युनियन र होटल संघ नेपालमार्फत समस्याको समाधान गरिने सम्झौतामा उल्लेख छ । बन्दाबन्दीको अवस्थामा भएका सम्झौता कार्यान्वयन नभएका होटल तथा प्रतिष्ठानहरुले कार्यान्वयन गर्ने र सेवा शुल्क प्रतिष्ठानले काममा बोलाएका वा नबोलाएका सम्पूर्ण श्रमिकलाई दामासायी रुपमा पारिश्रमिक वितरण गरिनुपर्ने सहमति भएको छ ।

Published on: 20 April 2022 | Kantipur

 

Link

Back to list

;