s

हङकङमा बास्यो रातो भाले

निर्मल श्रेष्ठ

हङकङ, फाल्गुन २४ - रातो भाले क्वाएँ क्वाएँ

सुत्केरीलाई ख्वाएँ

सुत्केरीको नाम गरी टाउको

मैले खाएँ ...

यदि कसैले पुराना गीतका दिन गए भन्ने सोचेका भए हङकङमा आइतबार आयोजित 'भोजपुर सांगीतिक साँझ' दरो जवाफ हुन सक्थ्यो । पाका गायक गणेश रसिकले झन्डै चार दशकअघिदेखिका गीत गाएर श्रोताहरूलाई दहीझैं जमाए । संगीतकार, लेखक तथा कविको समेत परिचय बोकेका यी गायकले करिब १५ महिनाअघि समेत हङकङमा प्रस्तुति दिएका थिए । तर यिनलाई सुन्ने तलतल उः बेलाभन्दा अझ बढी देखियो ।

रातको करिब ९ बजेको हुँदो हो । ढाका टोपी, दौरा, सुरुवाल र कोटमा चिटिक्क सजिएका रसिक रसिकझैं स्टेजमा झुल्किएका के थिए, सयौं श्रोता उनको सम्मानमा जुरुक्क उठे अनि परर... ताली पिटे । खुसीले अनुहार उजिल्याउँदै रसिकले आजको साँझ आफ्नै समयको गीत गाउने सुनाए । यसो भन्दै गर्दा उनका औंला हार्माेनियममा चलमलाउन थालिसकेका थिए अनि लगत्तै

सुरु भए-

थोरै सम्झे थोरै हुन्छ

धेरै सम्झ धेरै हुन्छ

नसम्झेमा केही पनि हुन्न

तिमीलाई दिएको मेरो माया ...

पृष्ठभूमिमा पुराना संगीतकर्मी दिनेश सुब्बा नेतृत्वको हिमालयन टोन्स म्युजिक एकेडेमीको वाद्यवादक टोलीले सांगीतिक धुन घोलिरहेको थियो । रसिकले २०२८ सालमा रचेको गीत भन्दै फेरि सुनाए, 'याङजी नाना... ।' कसैको पीडा देखेर उक्त गीत फुरेको समेत बताए उनले । 'उकालीमा हिँड्दै गर्दा...' गीत भने अभि सुवेदीले २०३० सालमा रचेका रहेछन् ।

श्रोताहरूले रसिकका गीत ध्यानस्थ भएर सुनिरहेका थिए । उनी फेरि २०२८ सालतिरको रोमान्टिक गीततर्फ फर्के । 'मसँग एउटा...' युगल गीतमा उतिबेला उनलाई विमला राईले साथ दिएकी रहिछन् । हङकङे साँझमा भने नेपालबाटै आइपुगेकी आभा मुकारुङ थिइन् ।

रात छिप्पिँदै गर्दा रसिकको सांगीतिक जादूमा हङकङेली श्रोताहरू लटठरहेको थियो । यो बुझसिकेका गायकले रोमान्टिक गीततर्फ}{माहौललाई डोर्‍याए । गीतले जोडीको साथ खोजेपछि हङकङेली गायिका रोसा लिम्बू स्टेजमा उत्रिइन् अनि गीत सुरु भो-

घरबेटी नानी

आँगनमा देऊ न मलाई बास...

यो गीतले श्रोताहरूको मन छुनु छोएछ, तालीमा मात्र सीमित उनीहरू लयमा लय हाल्न थाले । 'माछी पर्‍यो जाल ...' गीतले भने श्रोताहरूलाई कुर्सीमा टाँसिइरहन दिएन । राम्रै नाचगान चल्यो । विगतमा राल्फा, लेकाली जस्ता चर्चित सांगीतिक समूहमा आबद्ध रसिक लोक, आधुनिक तथा काव्यात्मक शब्दलाई समेत संगीतमा ढाल्न खप्पिस मानिन्छन् । भोजपुर, काठमाडौं हुँदै इलामको फिक्कल बसाइँ सरेका रसिकका तीन कथा संग्रह, दुई गीति संग्रह, एउटा उपन्यास र दुई संस्मरण प्रकाशित छन् । पछिल्लो संस्मरण कृति 'दसगजामा उभिएर' ले पद्मश्री साहित्य सम्मान पाएको थियो ।

भोजपुर समाज हङकङद्वारा आयोजित सांगीतिक साँझमा गणेश रसिक मुख्य आकर्षण रहे पनि भीषण मुकारुङ, आभा मुकारुङ र श्याम साम्सोङले समेत युवा जमातको राम्रै मन जिते । भीषणले 'म नेपाल आउने बेलामा...', 'पिरती लाउने बहाना...' लगायत सुनाए । कुनै बेला नेपाली बजार राम्रै पिटेको आभाको चर्चित गीत 'काली पारी दाइ हो...' ले समेत माहौल तताउन सघायो ।

Published on: 7 March 2013| Kantipur

Back to list

;