s

हङकङमा सयभन्दा बढी कार्यकर्ताले एमाले त्यागे

निर्मल श्रेष्ठ

संघीयताबारे एमालेको धारणाप्रति असन्तुष्टि जनाउँदै हङकङमा १ सय २१ जनाले पार्टी त्यागेका छन् । असन्तुष्ट पक्षले आइतबार पत्रकार सम्मेलनमार्फत परित्यागको घोषणा गरेका हुन् ।

करिब डेढदर्जन कार्यकर्ताको सहभागिता रहेको सम्मेलनमा अन्यका हस्ताक्षरसहितको नामावली देखाइएको थियो । पार्टी छाड्नेहरूमध्ये  ३१ संगठित सदस्य र बाँकी सकृय कार्यकर्ता रहेको विद्रोही पक्षको दाबी छ । यद्यपि एमाले हङकङ कमिटिले भने वर्तमान कार्यसमितिमा रहेका दुई तिहाई सदस्य संस्थापन पक्षमै रहेको जनाउँदै पार्टी छाड्नेमध्ये पाँच संगठित र करिब पच्चीस जनामात्र वास्तविक कार्यकर्ता रहेको जिकिर गर्‍यो । संगठित सदस्य भनिएका अन्यको सदस्यता नवीकरण नरहेको यिनको भनाई थियो ।

विद्रोही पक्षले राष्ट्रिय वैकल्पिक राजनीतिक शक्ति निर्माणका लागि एमालेका पूर्व पार्टी उपाध्यक्ष अशोक राईको संयोजकत्वमा गठित 'अग्रगामी विचार समूह' लाई समर्थन गर्ने जनाएका छन् । जातीय र भाषिक उत्पीडनका विरुद्ध सर्घष गर्ने श्रमजीबी सर्वहारा वर्गको प्रतिनिधि मुलक संस्था भनिएपनि एमाले यस विपरित उभिएको यिनको आरोप थियो । 'मेरो चेतना खुलेदेखिको सम्पूर्ण युवा अवस्था पार्टीलाई कसरी अन्यभन्दा श्रेष्ठ बनाउन सकिन्छ भन्नेमै वित्यो', एमाले हङकङ कमिटिका निवर्तमान अध्यक्ष ओमराज साम्बाहाम्फेले पत्रकार सम्मेलनमा भने, 'तर एमाले पार्टी सिद्धान्तबाट स्खलित भएकाले सम्बन्ध तोडन बाध्य भयांै ।' एमालेकै भातृसंस्थाका रुपमा चिनिएको सुदूरपूर्वी प्रवासी नेपाली संघ -फियोना) को कार्यालयमा आयोजित कार्यक्रममा वर्तमान कार्यसमितिमा रहेका पन्ध्रमध्ये साम्बाहाम्फे लगायत अन्य दुई सदस्य मणि किरात बान्तवा र चन्द्रकला राईले पनि एमाले छाडेका हुन् । सदस्य बान्तवाले एमालेलाई 'सेतो घिउ देखाएर पिडालु ख्वाउने पार्टी' भन्दै व्यगं गरेका थिए ।

'पिछडिएको वर्गलाई हेर्ने भन्दापनि एमाले व्यक्तिगत स्वार्थ र कुर्सीकै लुछाचुडीमा केन्दि्रत भयो', बान्तवाले भने, 'जातीय पहिचान समेत मेटाउने प्रयास भएकाले पार्टीमा रहिरहन उचित लागेन ।' हाल कमिटीका रहेका १२ सल्लाहकारमध्ये हेजेन राई, ईन्द्रसिंह राई र माया राईले समेत पार्टी छाडेका छन् । विद्रोही समुहले अहिलेका मुख्य पार्टीहरूलाई यथास्थितीवादीको आरोप लगाउँदै यीमध्ये कसैले पनि शोषित र पीडित जनताको चाहना अनुरुप कार्य गर्न नसक्ने टिप्पणी गरेका थिए । आफुहरूलाई जातीय राजनीति गरेको भनी लगाइएको आरोपको समेत यिनले खण्डन गरे । 'एमालेमा पार्टीको सिद्धान्त भन्दापनि व्यक्तिवादी विचार लादिएको छ', नेकपा माले हुँदा देखिनै संगठित सदस्यका रुपमा तीस वर्ष बढी पार्टीमा सकृय रहेको जनाउँदै ईन्द्र वनेमले भने, ' अब कम्युनिष्ट भन्ने शब्दले दैनिक जिवनलाई व्याख्या गर्दैन भन्ने मलाई लागेको छ ।'

एमाले हङकङ कमिटीका अध्यक्ष भक्त गुरुङले केही कृयाशिल साथीहरूको अभाव खड्किएपनि अधिकांश कार्यकर्ता संस्थापनमै रहेकाले यसले सांगठनिक स्वरुपमा कुनै अप्ठ्यारो नपर्ने बताए । यहाँको स्थानीय कमिटिलाई इलाका सरह मान्यता छ । पार्टी परित्यागलाई सैद्धान्तिक विचलनको उपज भन्दै गुरुङले यस्ता कृयाकलापले  अन्तःतोगत्वा जनजाती आन्दोलनलाई नै असर पुर्‍याउने बताए । 'पार्टीले जनजातीका मागलाई तल्लो तहसम्म पुर्‍याएर खुल्ला छलफल गर्न सकिने नीति पारित गरिसकेको छ ', जनजाती मुद्दालाई पार्टीले स्वीकार नगरी सुख नपाउने बताउँदै अध्यक्ष गुरुङले भने, 'हतार नगरौ, यही बसेर अन्र्तसर्घष गरौ भन्दा साथीहरू मान्नुभएन ।' 'फर्केर आउन चाहने साथीहरूलाई स्वागत छ', अध्यक्ष गुरुङले थपे ।

Publishe on: 27 October 2012 | Nagarik

Back to list

;