s

हङकङमा रोजगारी खुलाउने तयारी

तुलसी सुवेदी

काठमाडौं : सरकारले हङकङ रोजगारी खुलाउने तयारी गरेको छ। द्वन्द्वका कारण सन् २००५ देखि रोकिएको हङकङ रोजगारी खुलाउन सरकारले कूटनीतिक पहल गर्ने भएको हो। हङकङमा नेपालीले मासिक २ लाखसम्म पारि श्रमिक पाउन सक्छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हङकङमा रोजगारी खुलाउन अध्ययन गर्ने तयारी रहेको जानकारी दिएको छ। हङकङ नेपाली कामदारका लागि आकर्षक गन्तव्य मुलुक हो। मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले हङकङ रोजगारी खुलाउन सरकारले पहल थाल्ने बताए। उनले भने, ‘यसबारेमा थप अध्ययन गर्दै छौं।’ सरकारले अघिल्लो वर्ष नयाँ गन्तव्यमुलक खोजी गर्न कार्यदल गठन गरेर अध्ययन गरेको थियो। कार्यदलले हङकङ खुलाउन सरकारले पहल गर्नुपर्ने सुझावसमेत दिएको थियो।

हङकङका रोजगारदाताले सुरक्षा गार्ड र घरेलु कामदार बढी रुचाएका छन्। निर्माण क्षेत्रमा पनि नेपाली कामदारले अवसर पाउन सक्छन्। गैरआवासीय नेपाली संघ हङकङका अध्यक्ष राधिका गुरुङ (टीका)ले सरकारले उताको सरकारसँग गम्भीर छलफल गरे हङकङ रोजगारी खुल्ने बताइन्। हङकङमा ३० हजार नेपाली कार्यरत छन्। नेपालीलाई रोजगारी भिसा खुला गरे नेपाली कामदारका लागि आकर्षक गन्तव्य मुलुक बन्न नसक्ने उनको भनाइ छ। ‘गैरआवासीयले नै धेरैलाई रोजगारी दिन सक्छन्’, उनले भनिन्, ‘दुई देशका सरकारबीच छलफल नभइ हङकङले रोजगारी भिसा दिँदैन।’

गैरआवासीयका अनुसार अहिले पनि नेपालीले हङकङको भिसा लिन कठिन छ। हङकङले तात्कालीन द्वन्द्वकालको कारण देखाउँदै अहिलेसम्म नेपालीलाई सहजै भिसा दिने गरेको छैन। ‘भिजिट भिसा’मा जाने नेपाली ‘ओभर स्टे’ गर्ने र शरणार्थी भई बस्न थालेपछि हङकङले सन् २००५ देखि रोक लगाएको थियो। द्वन्द्वकालको कारण देखाउँदै हङकङले सन् २००५ देखि नेपालीलाई अनअराइभल भिसा दिन रोक लगाएको थियो।

तत्कालीन समयमा द्वन्द्वका कारण हजारौं नेपाली शरणार्थीका रूपमा बसेका थिए। गुरुङका अनुसार अचेल शरणार्थीका रूपमा बस्ने नेपाली संख्या एक सय ५० को हारहारीमा छन्। कम्पनीले घरेलु कामदारका लागि स नेपाली रुचाउँछन्,’ उनले भनिन्, ‘नेपाली नभेटिए मात्रै अन्य मुलुकका कामदार राख्छन् ।’ घरेलु कामदारले खानेबस्ने सुविधासहित मासिक ७० हजार रुपैयाँसम्म कमाउँछन्। सुरक्षागार्डले खानेबस्ने सुविधासहित १ लाख ५० हजारदेखि २ लाख रुपैयाँसम्म पारि श्रमिक पाउँछन्। केही वर्षअघि हङकङमा शरणार्थीका रूपमा बस्ने नेपालीको संख्या १ हजार २ सय थियो । अहिले शरणार्थी भई बस्ने अधिकांश नेपाली फर्किसकेका छन्।

गैरआवासीय संघले हङकङमा रोजगारी भिसा खुलाउन श्रम मन्त्री रामेश्वरराय यादवलाई अनुरोध गरेको थियो। मन्त्री यादवले हङकङ रोजगारीको प्रक्रिया अघि बढाउन सरकारले पहल गर्ने बताएका थिए। संघले दुई देशको भेटवार्ताका लागि आवश्यक समन्वय गर्ने जनाएको छ।

सरकारी तवरबाट उच्च स्तरको पहल थाले हङकङले नेपालीलाई रोजगारीका लागि खुला गर्न सक्ने गैरआवासीयको विश्वास छ। हङकङमा इन्डोनेसिया, फिलिपिन्स, चाइनिज, बंगलादेश, थाइल्यान्डका व्यक्ति वैदेशिक रोजगारीका लागि जान्छन्।

वैदेशिक रोजगार विभागका अनुसार झण्डै ४४ लाख कामदार वैदेशिक रोजगारीका क्रममा विभिन्न मुलक पुगेका छन्। त्यसमध्ये ७५ प्रतिशत कामदार खाडी मुलुक र मलेसियामा केन्द्रित भएका छन्। खाडी र मलेसियामा अन्य देशको तुलनामा न्यून आम्दानी हुने भएकाले रेमिट्यान्समा पनि कमी आउन थालेको छ। व्यवसायीले जापानपछि नयाँ श्रम गतव्य चयनमा हङकङलाई रोज्न सुझाइरहेका छन्।

Published on: 1 March 2020 | Annapurna Post

Link

Back to list

;