s

हङकङमा नेपालीलाई सकस

अनोज रोक्का

हङकङ : हङकङमा लगभग ४० हजार नेपालीको बसोबास छ। नेपाली कसैमा पनि हालसम्म कोरोना संक्रमण देखिएको छैन। तर, रोजगारी गरेर जीविकोपार्जन गर्नेहरू सकसमा परेका छन्। 

‘नेपाली समुदायलाई पनि अवश्य खतरा छ। निर्माण क्षेत्रलगायतमा काम गर्नेहरूमा कोरोना सर्न सक्ने सम्भावना छ’, दुई दशकदेखि निर्माण व्यवसायमा रहेका मोहन गुरुङ भन्छन्, ‘सामान्य कामदारका रूपमा काम गर्ने नेपाली अझ जोखिममा छन्। तर, आफैं सुरक्षित हुन प्रयास गर्न जरुरी छ।’ 

नर्मता पाण्डे (नाम परिवर्तन) इटालियन रेस्टुरेन्टमा सहायक सेफका रूपमा काम गर्थिन्। कोरोना प्रकोप सुरु भएसँगै उनी काम गर्ने रेस्टुरेन्टमा ग्राहकको कमी भयो। रेस्टुरेन्टले अर्डरको खाना मात्र बनाउन थाल्यो। आकर्षक तलब पाइरहेकी उनलाई हप्तामा तीन दिन मात्र काममा बोलाउन थालियो। भन्छिन्, ‘हप्तामा तीन दिन मात्र काम गरेर कसरी महिनाभरिको खर्च धान्ने होला ?’ राजभक्त राई काम गर्ने निर्माण कम्पनीको साइट बन्द भएको छ। त्यहाँ एक जनालाई कोरोना संक्रमण देखिएको छ। भन्छन्, ‘अब कहिले काम नियमित हुन्छ भन्ने थाहा छैन। काम नभएपछि कमाइ पनि हुँदैन। दैनिकी चलाउन गाह्रो भइरहेको छ।’

कोपिला गुरुङ (नाम परिवर्तन)ले तीन सन्तानसँगै परिवारको खर्च धान्नुपर्छ। आफू काम गर्ने बार बन्द भएसँगै उनी पनि समस्यामा छिन्। ‘बचत पनि सकिन लाग्यो, अब के गर्ने भनेर दोधारमा छु’, उनी भन्छिन्। 

होटलमा शुक्रबारदेखि दुई जनासम्म खान मिल्ने नियम बनाएसँगै केहीलाई काममा बोलाइएको छ। तर, कम्पनी पूर्ण क्षमतामा सञ्चालनमा आउन नसकेपछि धेरैले जागिर गुमाएका छन्। काम गर्ने क्षेत्रमा भीडभाड हुने भएकाले कोरोनाको जोखिम बढेको छ। ‘ज्यानको बाजी राखेर भए पनि काम त गर्नै प¥यो’, सचिन गिरी भन्छन् । उनले भने, ‘महिनाको खर्च धान्न पनि आफू सुरक्षित बन्दै कामलाई निरन्तरता दिने बाध्यता छ। तर, काम गर्ने कम्पनी नै बन्द भएपछि के गर्ने ?’ नेपालीको लगानी रहेको होटल, रेस्टुरेन्ट अधिकांश बन्द छन्। फास्टफुड पसल सञ्चालन भए पनि सरकारले दुई जनाभन्दा बढी भेला भए २५ हजार डलर र ६ महिना जेल सजायको नियम लगाएको छ। त्यही भएर ठूला रेस्टुरेन्ट खुल्न सकेका छैनन्।

अघिल्लो आइतबारसम्म हङकङमा कोरोना संक्रमण सयभन्दा बढीको दरमा थियो। बिहीबार उच्च संक्रमण १ सय ४९ र शुक्रबार १ सय २१ देखियो। मंगलबारदेखि संक्रमणदर दोहोरो अंकमा झर्दै केही सुधारको संकेत देखिएको छ। बुधबार दुई जनाको मृत्युसहित ८५ जनामा कोरोना पोजिटिभ देखियो। बुधबार देखिएका संक्रमितमध्ये तीन जना विभिन्न देशबाट आएका हुन्। बाँकी ८२ स्थानीय हुन्। वल्र्डोमिटरका अनुसार बिहीबारसम्म हङकङमा संक्रमितको संख्या ३ हजार ८ सय ५० पुगेको छ। बिहीबार ९५ जना नयाँ संक्रमित फेला परेका छन्। कोरोनाबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ।

Published on: 7 August 2020 | Annapurna Post

Link

Back to list

;