s

हङकङ प्रहरीमा नेपालीलाई प्रवेश सहज

पूर्ण बस्नेत

दीलबहादुर लिम्बुको हत्यापछि आलोचना खेप्दै आएको हङकङ प्रहरीले आफ्नो भर्ना नीतिमा सुधार गरी अल्पसंख्यक समुदायको प्रवेशलाई खुकुलो बनाएको छ। स्थानीय चिनियाँ र अँग्रेजी सहित अन्य भाषामा दक्ष आवेदकलाई अब प्रहरी भर्नामा प्राथमिकता दिइनेछ। अल्पसंख्यक समुदायका लागि संघर्ष गरिरहेका अधिकारकर्मीले ...सांकेतिक रुपमा सकारात्मक' भन्दै प्रहरीको कदमलाई स्वागत गरेका छन्। भर्नाका लागि आउने शनिबारको प्रारम्भिक छनोट नयाँ नीति अनुसार हुने प्रहरीले जनाएको छ।

नयाँ नीति अनुसार नेपाली, हिन्दी, उर्दु, फ्रेन्च, जर्मन, जापनिज अथवा कोरियन भाषा बोल्न र लेख्न जान्ने आवेदकलाई थप नम्बर दिइनेछ र स्रोत साधनले पुगेसम्म अन्य भाषालाई पनि यो प्रक्रियामा समावेश गरिनेछ। "योग्य व्यक्तिहरूलाई ल्याएर आफ्नो सेवालाई अझ राम्रो बनाउने उद्देश्यले यो सुधार गरेका हौँ", प्रहरी भर्ना विभागका प्रमुख इन्स्पेक्टर फ्रान्सिस चेयुङलाई उद्धृत गर्दै बुधबार हङकङबाट प्रकाशित एक अँग्रेजी दैनिकले लेखेको छ। चिनियाँ भाषामा हङकङ सर्टिफिकेट अफ एजुकेशन एक्जामिनेशन (एचकेसिइइ) उत्तीर्ण गरेका नेपाली लगायत अल्पसंख्यक समुदायका युवाहरूले प्रहरीमा प्रवेशका लागि आवेदन दिन सक्नेछन्। नेपालको एसएलसी सरह मानिने हङकङको एचकेसिइइ परिक्षा उत्तीण नगरेकाहरूले आवेदन दिनका लागि सरकारले तोकेको अर्को परिक्षा उत्तीर्ण गर्नु पर्ने हुन्छ, जुन भाषाको हिसावले केही सरल हुने बताइएको छ। सोलिसिटर एकनारायण शर्मा भन्छन्, "विदेशी भाषा जानेको व्यक्तिलाई प्राथमिकता दिने नयाँ नीतिले प्रहरीमा जान चाहने हङकङका नेपाली युवालाई बाटो खुलेको छ।"

इन्स्पेक्टर चेयुङले ओलम्पिक इभेन्ट वा विश्व व्यापार संगठनको बैठक जस्ता ठूला गतिविधि हुँदा विदेशी भाषा जानेका स्टाफ भए प्रहरीलाई सहज हुने तर्क दिएका छन्। केही वर्षअघि बैठक भइरहेको बेला विश्व व्यापार संगठनको विरोध गर्दै कोरियाली किसानहरूले हङकङमा गरेको ठूलो प्रदर्शन नियन्त्रण गर्न प्रहरीलाई हम्मे परेको थियो।

अधिकारकर्मीका अनुसार सन् १९९७ मा हङकङ चीनलाई हस्तान्तरण गरिएयता एक जना पनि दक्षिण एसियालीलाई भर्ना नगरेको प्रहरीले दीलबहादुरको हत्यापछि अहिले आफ्नो संगठन संरचनामा नीतिगत सुधार गर्न शुरु गरेको हो। "प्रहरीले अन्ततः आफ्नो संगठनमा अल्पसंख्यक समुदायको आवश्यकता स्वीकार गरी उनीहरूको भाषागत दक्षतालाई सम्मान गरेकोमा खुसी लागेको छ", अल्पसंख्यकको अधिकारका लागि सक्रिय स्थानीय अधिकारकर्मी फर्मी वङले भनिन्।

दुई वर्षअघि प्रहरी हुई का कीले हानेको गोली लागेर हङकङमा दीलबहादुर लिम्बुको हत्या भएको थियो। कोरोनर्स अदालतमा सुनुवाईको क्रममा बयान दिँदै प्रहरी हुईले घटना हुँदा दीलबहादुरले नेपालीमा बोलेका कुरा आफूले नबुझेको बताएका थिए। ७६ दिन लामो सुनुवाईपछि कोरोनर्सले हत्या न्यायपूर्ण भनी दिएको निर्णयलाई उच्च अदालतले पनि सदर गरिदिएको थियो। मुद्दा लड्ने क्रममा दुई वर्षदेखि हङकङमा रहेकी लिम्बुकी श्रीमती सोनी राई क्षतिपूर्ती र आवासीय भिसा दावी गर्न पुनः अदालत जाने तयारीमा छिन्।

दीलबहादुरको हत्यापछि आक्रोशित नेपाली लगायत अल्पसंख्य समुदायको चित्त बुझाउने प्रयास स्वरुप प्रहरीले आफ्ना अनौपचारिक कार्यक्रमहरूमा उनीहरूलाई संलग्न गराउँदै आएको छ। यही क्रममा नेपाली लगायत पाँच जना दक्षिण एसियाली प्रहरी सम्पर्क अधिकृतमा नियुक्त भएका थिए भने करिब डेढ दर्जन नेपाली युवालाई ...स्वंसेवी प्रहरी दूत'का रुपमा परिचालन गरिएको थियो। ७० लाख जनसंख्यामध्ये ९५ प्रतिशत चिनियाँ रहेको हङकङको प्रहरीमा केही ब्रिटिश र भारतीय अधिकारी बाहेक अरु सबै चिनियाँ छन्।

Published on: 20 May 2011 | Nagarik

Back to list

;