s

हिल्सामा अध्यागमन कार्यालय

चीनसँग सीमा जोडिएको हिल्सा नाकामा अध्यागमन कार्यालय स्थापना गरिएको छ  । उक्त कार्यालयको मंगलबार गृहमन्त्री रामबहादुर थापाले उद्घाटन गरेका हुन्  ।

सरकारले नाकामा रहनुपर्ने विभिन्न कार्यालय स्थापना क्रममा अध्यागमन कार्यालय स्थापना गरेको हो । मानसरोवर कैलाश तीर्थयात्रा गर्न बर्सेनि हजारौं भारतीय तीर्थयात्रीले यो नाका आवतजावत गर्ने गरेका छन् । हिल्सा नाकामा यसअघि सीमा प्रहरी चौकीले अध्यागमनको काम गर्दै आएको थियो । यसअघि यारी भन्सार कार्यालय स्थापना भए पनि कर्मचारी नपठाउँदा कार्यालय सहयोगीको भरमा सञ्चालन भइरहेको छ । माथिल्लो तहका कर्मचारीको व्यवस्था नहुँदा भन्सारको काम ठप्प छ ।

कार्यालयले नेपाल आउने र बाहिर जाने व्यक्तिको नियमन गर्नेछ । कार्यालय सञ्चालनमा आए पनि कर्मचारी र भौतिक पूर्वाधार व्यवस्था छैन । हेलिकप्टरबाटै आएका नायब सुब्बा सूर्यबहादुर लामालाई अध्यागमनको काममा लगाइएको छ । थप कर्मचारी व्यवस्था हुनसके भारतीय तीर्थयात्री र अन्य पर्यटकको विवरण संकलन गर्न सहज हुने कार्यालयले जनायो ।

चीनले अन्तर्राष्ट्रिय नाकाका रूपमा मान्यता प्रदान गरेका उत्तरी नाकामध्ये हिल्सा पनि एक हो । उसले केरुङपछि दोस्रो प्रथमिकता दिँदै आएको यो नाकामा तेस्रो सरकारी कार्यालयका रूपमा अध्यागमन स्थापना गरिएको हो । हिउँदमा तिब्बत आउजाउ नहुने भएकाले सिमकोट भन्सार र मुचु प्रहरी चौकीमा सार्ने गरिएको छ । सीमामा यातायात, क्वारेन्टाइन, हुलाक, वनलगायत आवश्यक कार्यालय व्यवस्था छैन । हिल्सामा सञ्चार सुविधा नहुँदा यहाँका बासिन्दा चिनियाँ नम्बरको मोबाइल प्रयोग गर्छन् ।

अध्यागमन कार्यालय उद्घाटनपछि सिमकोट आइपुगेका गृहमन्त्री थापाले मुलुकको विकासका लागि यो नाका महत्त्वपूर्ण हुने बताए । सिमकोट विमानस्थलमा प्रेस संगठनले गरेको पत्रकार सम्मेलनमा थापाले हिल्सामा अध्यागमन कार्यालय स्थापना हुनु ऐतिहासिक क्षण भएको जनाए । ‘हिल्सा पश्चिमको महत्त्वपूर्ण नाका हो, यसले अन्तर्राष्ट्रिय सम्बन्ध बढाउन ठूलो भूमिका खेल्छ,’ थापाले भने, ‘भविष्यमा यो नाका देशको समृद्धिका लागि महत्त्वपूर्ण हुनेछ ।’

Published on: 10 October 2018 | Kantipur

Back to list

;