s

हवाई उडान खुल्नेबित्तिकै रोजगारीका लागि खाडीका मुलुक गएका सवा लाख फर्कँदै

खाडीका विभिन्न मुलुकमा रोजगारीका लागि गएका करिब १३ लाख नेपाली श्रमिकमध्ये एक लाख २७ हजारभन्दा बढी अन्तर्राष्ट्रिय उडान खुलेलगत्तै स्वदेश फर्किने तयारीमा रहेका छन् । सरकारले कोरोनाका कारण अफ्ठ्यारोमा परेकाहरूलाई स्वदेश ल्याइरहे पनि श्रम स्वीकृति सकिएका र आममाफी पाएका एक लाख २७ हजारभन्दा बढी नागरिक स्वदेश फर्किने तयारीमा रहेको जनाइएको छ ।

वैदेशिक रोजगार विभागका कार्यकारी निर्देशक राजन श्रेष्ठले मलेसिया, कतार, साउदी अरेबिया, युएई, कुवेत, बहराइनलगायत देशमा १२ लाख ८७ हजार आठ सयभन्दा बढी श्रमिक रहेकोमा एक लाख २७ हजारजना अन्तर्राष्ट्रिय उडान खुलेलगत्तै स्वदेश फर्किन सक्ने बताए । सरकारले करिब ४५ हजारलाई चार्डर्ड उडानमार्फत ल्याइरहेको भए पनि श्रमिक, आममाफी पाएर र श्रमअवधि सकिएर फर्किने लाइनमा रहेको एक लाख २७ हजार रहेको उनले बताए ।

संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा निर्देशक श्रेष्ठले ०५० सालदेखि चालू आर्थिक वर्षको फागुन मसान्तसम्म ५४ लाख ९६ हजार चार सय ६० जनाले श्रम स्वीकृति लिएको बताए । जसमा दुई लाख ३७ हजार नौ सय ६१ जना महिला रहेका छन् । अहिले १४ लाख ८७ हजारको हाराहारीमा श्रमिक विभिन्न देशमा कार्यरत रहेको उनले बताए । 

लकडाउनको अवधिभर तीन सय १८ नेपालीको विदेशमा निधन

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले विदेशबाट आउन सिफारिसमा परेकामध्ये चार हजार दुई सय १७ जनालाई सरकारले नेपाल ल्याइसकेको बताए । जसमा दुई हजार सात सय ४२ जनालाई प्रदेशमा पठाइएको छ ।

लकडाउनको अवधिमा विभिन्न देशमा तीन सय १८ जनाको निधन भएकोमा एक सय १४ जनाको परिवारले उतै अन्त्येष्टि गर्न अनुमति दिएको बताए ।  अहिलेसम्म ४० वटा शव नेपाल आइपुगेको र अझै एक सय ६४ वटा शव ल्याउन बाँकी रहेको उनले बताए । समितिले नेपालमा काम गर्ने विदेशी कामदारहरूले श्रम स्वीकृति लिए/नलिएको विषयमा अनुगमन गर्न श्रम मन्त्रालयलाई निर्देशन दिएको छ ।

Published on: 22 June 2020 | Nayapatrika

Link

Back to list

;