s

हस्तलिखित पासपोर्ट आजदेखि नचल्ने

चन्द्रशेखर अधिकारी
 
हस्तलिखित पासपोर्ट आज सोमबारदेखि विश्वभर नचल्ने भएको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को बाध्यकारी नियमअनुसार अब विश्वभर नै बारकोड नभएको अर्थात् हातले लेखेको पासपोर्ट उपयोगमा ल्याउन पाइँदैन । सरकारले सोमबारदेखि नै पासपोर्टमा प्रत्यक्ष दर्ता (लाइभ इनरोलमेन्ट) प्रणाली लागू गर्ने भएको छ । छ महिना अघिदेखि नै कतिपय मुलुकले हस्तलिखित पासपोर्टमा भिसा नदिई मेसिन रिडेबल पासपोर्ट (एमआरपी) माग गर्दै आएका छन् । म्याद र भिसा दुवै भएको हस्तलिखित पासपोर्टलाई पनि तत्काल एमआरपी बनाउन विभागले आग्रह गरेको छ ।
 
‘हस्तलिखित पासपोर्ट बोकेर नयाँ स्थानमा जान पाइँदैन तर तत्काल फर्कन भने समस्या हुँदैन,’ राहदानी विभागका महानिर्देशक लोकबहादुर थापाले कान्तिपुरसँग भने । उनका अनुसार विदेशमा रहेकालाई सिधा उडानमा स्वदेशमा फर्कन भने समस्या हुँदैन । तर, ट्रान्जिटमार्फत आउँदा हस्तलिखितमा समस्या पर्न सक्छ । हस्तलिखितमा भिसा भए पनि एमआरपी बनाएर दुवै पासपोर्ट लिएर यात्रा गर्न मिल्छ ।
 
एमआरपी बनेपछि भिसा भएको हस्तलिखित पासपोर्टमा ‘क्यान्सल विदआउट प्रेजिड्युस’ अर्थात् भएकालाई नबिगारी पछिल्लोका लागि यो रद्द गरिएको छ भन्ने छाप लगाइएको हुन्छ । जसले गर्दा दुवै पासपोर्ट लिएर यात्रा गर्न सकिन्छ । कसैको हस्तलिखित पासपोर्टमा म्याद सकिएको अवस्थामा उक्त व्यक्तिलाई एमआरपी नबनुन्जेलसम्म अस्थायी पासपोर्ट दिने व्यवस्थासमेत दूतावासहरूमा गरिएको जानकारी थापाले दिए ।
सरकारले ५ वर्षअघि एमआरपी सुरु गरेको हो । यस अवधिमा सरकारले करिब ३९ लाख एमआरपी बनाइसकेको छ । त्यसमध्ये आधाले पुरानो पासपोर्टलाई विस्थापित गरेको छ । सरकारले मेसिन रिडेबललाई थप व्यवस्थित बनाउन ‘लाइभ इनरोलमेन्ट प्रणाली’ लागू गरेको हो । यसको सबै प्रक्रिया पूरा गरेर सोमबार परीक्षणका रूपमा उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाको कूटनीतिक पासपोर्ट लाइभ इनरोलमेन्ट प्रणालीबाट बनाएर बुझाउने तयारी विभागको छ । थापाले सांसदको तहबाट कूटनीतिक पासपोर्ट लिएको भए पनि उपप्रधानमन्त्रीको स्तरबाट कूटनीतिक राहदानी नलिएका कारण उनलाई पहिलो कूटनीतिक राहदानी दिन लागिएको विभागले जनाएको छ ।
 
पहिलो साता परीक्षणका रूपमा सरकारी र कूटनीतिक पासपोर्ट लाइभ इनरोलमेन्ट प्रणालीबाट बनाइनेछ । अर्को सातादेखि सर्वसाधारणलाई पनि यो सुविधा दिइने विभाग महानिर्देशक थापाले बताए । तर जिल्लाहरूबाट भने अहिले आवेदन नै लिने उनले स्पष्ट पारे । विभाग र अन्य मुलुकस्थित नेपाली दूतावाससहित ११ स्थानमा लाइभ इनरोलमेन्ट केन्द्र राखिने छ । दुई महिनाअघि सरकारले मन्त्रिपरिषद्बाट नै पारित गरेर फ्रान्सेली कम्पनी ओर्वथरलाई २५ लाख राहदानी छाप्ने र लाइभ इनरोलमेन्ट प्रणाली प्रयोग गर्ने जिम्मा दिएको थियो । आवेदनकर्ता आफ्नो सक्कल नागरिकता र पुरानो पासपोर्ट लिएर लाइभ इनरोलमेन्ट केन्द्रमा पुगे उसको सबै प्रक्रिया त्यही पूरा हुनेछ ।
 
यस प्रणालीअनुसार कम्प्युटरबाट सिधै फोटो खिचेपछि फारम पनि त्यहीं बसेर भर्ने र इलेक्ट्रोनिक हस्ताक्षर तथा औंठाछाप दिनुपर्ने हुन्छ । ई–पासपोर्टमा जान सरकारले यस्तो प्रक्रिया अघि बढाएको हो । आगामी पाँच वर्षभित्र ई–पासपोर्टमा जाने सरकारी तयारी छ ।
फाराम भर्नेबित्तिकै पासपोर्ट बनाउने विभागमा तत्काल पुग्नेछ भने त्यहीबाट र पासपोर्ट छापिने स्थानमा सोझै जाने हुनाले लाइभ इनरोलमेन्ट प्रणालीलाई छरितो र भरपर्दो प्रणालीको रूपमा लिइन्छ । यो प्रणाली हाल मलेसिया, साउदी अरब (रियाद र जेद्दा), कुवेत, कतार, यूएई, अमेरिका (वासिङ्टन डीसी र न्युयोर्क), बेलायत र हङकङमा आरम्भ हुनेछ ।
  
Published on: 23 November 2015 | Kantipur
 

Back to list

;